Thursday, January 1, 2026

२०२६ लाई खेर फाल्ने तरिका

 


 यदि तपाईं आफ्नो २०२६ कुनै स्थायी प्रभाव वा अर्थ बिना बिताउन चाहनुहुन्छ भने, तल केही मार्गनिर्देशन दिईएकाे छ । यी  मार्गनिर्देशनहरू ध्यानपूर्वक पालना गर्नुभयो भने तपाईंले थुप्रै अवसरहरू गुमाउनु हुनेछ र पछुतोहरूले भरिएको वर्ष हुनेछ ।


१. परमेश्वरलाई पूर्ण रूपमा बेवास्ता गर्नुहोस् ।


मूर्खले आफ्नो मनमा भन्छ, “ईश्वर छँदैछैन ।” [भजनसंग्रह १४:१]


परमेश्वरको वचन नपढ्नुहाेस्, प्रार्थना नगर्नुहोस्, र आफ्नो योजनामा ​​उहाँलाई ठाउँ नदिनुहोस् । जब तपाईं स्वयं आफै जीवन बिताउन सक्नुहुन्छ भने कसलाई बुद्धि, निर्देशन वा ईश्वरीय मार्गदर्शन चाहिन्छ ?


२. विचलनहरूलाई तपाईंको जीवन नियन्त्रण गर्न दिनुहोस् ।


“माथिका कुरामा मन लगाओ । पृथ्वीमा भएका कुरामा होइन ।”

[कलस्सी ३:२]


हरेक क्षणलाई अर्थहीन मनोरञ्जन, सामाजिक सञ्जाल, वा बेकारको गफगाफले भर्नुहोस् । तपाईंको आत्मालाई चुनौती दिने मौनता, चिन्तन वा कुनै पनि कुराबाट बच्नुहोस् ।


३. योजना बनाउन वा लक्ष्य निर्धारण गर्नबाट बच्नुहोस् ।


“जहाँ दर्शन-प्रकाश छैन, त्यहाँ मानिसहरू भाँड़िन्छन् । तर त्यो मानिस धन्य हो, जसले व्यवस्था पालन गर्छ ।” [हितोपदेश २९:१८]


उद्देश्य बिना बाँच्नुहोस् । आत्मिक विकास, सम्बन्ध, वा सेवाको लागि कुनै लक्ष्य नराख्नुहोस् । निर्देशन वा उद्देश्य बिना नै दिनहरू बिताउनुहोस् ।


४. रिसलाई राखी राख्नुहोस् र क्षमा गर्न अस्वीकार गर्नुहोस् ।


“तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन ।” [मत्ती ६:१५]


आफ्नो हृदयमा रिस र तितोपनलाई पाल्नुहोस् । गल्तीहरूको रेकर्ड राख्नुहोस् । क्षमा गर्न अस्वीकार गर्नाले तपाईंको हृदय पक्कै पनि भारी र तपाईंको आत्मा अशान्त हुनेछ ।


५. मण्डली र संगतिलाई बेवास्ता गर्नुहोस् ।


“कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं । तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ ।” [हिब्रू १०:२५]


प्रभुको घर छोड्नुहोस्, विश्वासीहरूको संगतिलाई बेवास्ता गर्नुहोस्, र आफूलाई त्यहाँबाट अलग गर्नुहोस् । आत्मिक विकास समुदायमा फस्टाउँछ, तर यदि तपाईं समय बर्बाद गर्नमा अडिग हुनुहुन्छ भने, अलग्गै बस्नु तपाईंको उत्तम विकल्प हो ।


६. आफ्नो प्रतिभा र बोलावटलाई बेवास्ता गर्नुहोस् ।


“जसले जस्तो वरदान पाएको छ, परमेश्वरका अनुग्रहका विभिन्न वरदान पाएका भण्डारेझैँ ती एक-अर्काको निम्ति प्रयोग गर ।” [१ पत्रुस ४:१०]


आफ्नो प्रतिभा लुकाएर राख्नुहोस् । अरूको सेवा नगर्नुहोस्, चेला नबनाउनुहोस्, र परमेश्वरको महिमाको लागि आफ्ना वरदानहरू लगानी नगर्नुहोस् । किनकि आराम र सहजता नै सबै कुरा हो भनी तपाईं भन्नुहुन्छ ।


७. परमेश्वर र अरूभन्दा आफूलाई प्राथमिकता दिनुहोस् ।


“स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान ।” [फिलिप्पी २:३]


अरूको आवश्यकता वा तपाईंको जीवनको लागि परमेश्वरको उद्देश्यलाई बेवास्ता गर्दै, आफ्नो इच्छाको आधारमा हरेक निर्णय लिनुहोस् । तब स्वार्थले तपाईंलाई मार्गदर्शन गर्नेछ, र अरू सबै कुरामा पतन तर्फ लानेछ ।


यदि तपाईंले यी उद्देश्य बिना बाँच्ने मार्गनिर्देशनहरु पालना गर्नुभयो भने, बधाई छ ! तपाईंले निश्चित रूपमा २०२६ लाई खेर फाल्ने कलामा निपुण हुनुहुनेछ । अनन्त : महत्त्वको केही पनि प्राप्त नगर्ने, बाटोमा पछुतो जम्मा गर्ने र कसैलाई पनि प्रभावित नगर्ने, परमेश्वरलाई पनि होइन । डिसेम्बरसम्ममा, तपाईं गर्वका साथ घोषणा गर्न सक्नुहुन्छ, “मैले २०२६ लाई खेर फालें !” राम्रो भयो !


* के तपाईं पनि २०२६ लाई खेर फाल्ने कलामा निपुण बन्न चाहनुहुन्छ ?


* समय एक मात्र मुद्रा हो जुन तपाईंले कहिल्यै पुनः कमाउन सक्नुहुन्न, त्यसैले यसलाई बुद्धिमानीपूर्वक खर्च गर्नुहोस् !


Source :

https://www.facebook.com/100064149995378/posts/pfbid0ViP6XNr4TFK2XwWFtzHpTuxvdJtmSMnX9gELymurAXNyzwps38gnuYzy16oBnLHDl/


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...