मुलर इङ्गल्याण्डको ब्रिस्टलमा एक पास्टर थिए, जहाँ उनले एक अनाथालय पनि चलाउँथे ।
एक बिहान, मुलरलाई भनियो, “बालबालिकाहरू लुगा लगाएर स्कूलको लागि तयार छन, तर उनीहरूलाई खानको लागि खाना छैन ।”
मुलरले उनलाई ३०० बालबालिकालाई भोजन कक्षमा लैजान र टेबलमा बस्न आग्रह गरे । प्लेटहरू र कपहरू वा कचौराहरू टेबलमा थिए । टेबलमा खाली भाँडाहरू बाहेक केही थिएन । भाँडोमा खाना थिएन, र आवश्यकता पूरा गर्न पैसा थिएन । बच्चाहरू नास्ताको लागि पर्खिरहेका थिए ।
मुलरले भने, “बालकहरू, तिमीहरूलाई थाहा छ हामी स्कूलको लागि समयमै पुग्नुपर्छ ।”
त्यसपछि हात उठाएर परमेश्वरसँग उनले प्रार्थना गरे, “प्रिय बुबा, तपाईंले हामीलाई खान दिनुभएको कुराको लागि हामी तपाईंलाई धन्यवाद दिन्छौं ।”
त्यसपछि परमेश्वरलाई धन्यवाद दिए र पर्खे । जर्जलाई थाहा थियो कि परमेश्वरले सधैं जस्तै बच्चाहरूको लागि खाना उपलब्ध गराउनुहुनेछ । केही मिनेटमै, एक बेकरले ढोका ढकढक्यायो । ढाेका खाेलेपछि ती बेकरले भने, “श्री मुलर, हिजो राती म निदाउन सकिन । आज बिहान तपाईंका नानीहरूलाई खानको निम्ति केही पनि छैन भन्ने कुराको जानकारी परमेश्वरले मलाई दिनुभयो । प्रभुले मलाई तपाईंलाई केही पठाउन चाहनुहुन्थ्यो । त्यसैले म राति दुई बजे उठेँ र केही ताजा रोटी बनाएर तपाईं कहाँ लिएर आएको छु ।”
मुलरले बेकरलाई धन्यवाद दिए र उनको हेरचाहको लागि परमेश्वरको प्रशंसा गरे ।
तुरुन्तै ढोकामा फेरि दोस्रो पटक ढकढक्याइयो । यस पटक दूधवाला थिए जसले घोषणा गरे कि उनको दूधको गाडा अनाथालय बाहिर बिग्रिएको छ, र उनी बच्चाहरूलाई आफ्नो ताजा दूधको क्यान दिन चाहन्छन, ताकि उनी आफ्नो गाडा खाली गर्न सकून र मर्मत गर्न सकून । किनकि गाडा मर्मत गर्दासम्ममा त्यो दूध बिग्रिसकेको हुनेछ ।
दूधवाला दसवटा ठूला क्यान दूध ल्याएको बेला जर्ज मुस्कुराए । किनकि यो ३०० तिर्खाएका बच्चाहरूको लागि पर्याप्त थियो ।
साँच्चै हाम्रा परमेश्वर सबै कुरा जान्नुहुने र जुटाउनुहुने परमेश्वर हुनुहुन्छ ।
आफ्नो परिस्थितिमा हार नमान्नुहोस र आफ्नो परिस्थितिमा भर नपर्नुहोस । आफ्नो जीवन, आफ्नो परिवार र उहाँको मण्डलीको लागि परमेश्वरसँग उत्तम कुरा माग्नुहोस ।
हार नमान्नुहोस । निराश नहुनुहोस । प्रार्थनाको जीवनशैली अपनाउनुहोस र निरन्तर प्रार्थना गर्नुहोस !
यसकारण लेखिएको छ,
“तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस भनेर म त्यो गर्नेछु।
तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने म गरिदिनेछु।” [यूहन्ना १४:१३-१४]
“माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ।
किनकि जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ, त्यसको निम्ति ढोका उघारिनेछ।” [मत्ती ७:७-८]
“...यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर।
किनकि अन्यजातिहरूले यी सब थोक खोज्दछन, र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ।
तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन...।” ( मत्ती ६:२५-३४)।
“तिनीहरू सधैँ प्रार्थना गरिरहून र निराश नहोऊन...।” [लुका १८:१]
“सधैँ आनन्दित रहो।
निरन्तर प्रार्थना गरिरहो।
सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो।” [१ थेसलोनिकी ५:१६-१८]
“हे परमप्रभुका पवित्र जन हो, उहाँको भय मान। किनकि उहाँको भय मान्नेहरूलाई केही कुराको खाँचो पर्दैन।
जवान सिंहहरू कमजोर होलान, र तिनीहरू भोकाउँछन, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन।” [भजनसंग्रह ३४:९-१०]
Sources :
1. दर्पण छायाँ - २, तिमाेथी राई, प्रथम प्रकाशन फेब्रुअरी २०१८, प्रतिष्ठा प्रकाशन, काठमाडौं, नेपाल, पृष्ठ नम्बर ३४
2. https://www.georgemuller.org/devotional
3. https://mtbethel.org/2022/03/dont-give-up-dont-give-in-pray-continually/
4. https://www.path2prayer.com/famous-christians-their-lives-and-writings-including-free-books/george-mller-founder-of-bristol-orphanage/george-mller-bread-provided#:~:text=There%20was%20no%20food%20in,to%20give%20us%20to%20eat.
5. https://www.georgemuller.org/devotional/a-famous-story-about-mullers-faith
6. https://sola.network/article/the-prayer-life-of-george-muller/
7. https://www.path2prayer.com/famous-christians-their-lives-and-writings-including-free-books/george-mller-founder-of-bristol-orphanage/mller-receiving-bread-and-milk-for-breakfast
परमेश्वरमाथि जर्ज मुलरको दृढ भरोसा :
एक दिन दयालु हृदय भएको एउटा मान्छेले जर्ज मुलरलाई करिब १५,००० रुपियाँको चेक पठायो । चेकसँगै पठाइएको चिठीमा लेखिएको थियो, "मेरो विचारमा केही रुपियाँ-पैसा तपाईंले आफ्नो निम्ति खर्च गर्नुभयो भने राम्रै हुन्छ । यो एउटा सुरुआत मात्र हो । मलाई आशा छ कि तपाईं र तपाईंको परिवारलाई सहयोग गर्न थुप्रै असल खीष्टियानहरूले यस कोषमा थप्दै लानेछन ।"
तर त्यसरी जिउनु परमेश्वरको इच्छा थियो भनी जर्ज मुलरलाई लागेन । परमेश्वरमाथि भरोसा गर्नुको साटो बैङ्कको खातामा भरोसा गर्नु एक प्रकारको परीक्षा हो भनी ठाने तिनले । तर त्यस मान्छेले पठाएको रुपियाँको अर्थ परीक्षा होइन भनी मुलरलाई थाहा थियो । तसर्थ, तिनले नम्रतापूर्वक जवाफ पठाए ।
"प्रिय मित्र, तपाईंको सहयोगपूर्ण चिठी र चेकको लागि धेरै धन्यवाद छ । तथापि, मेरो आफ्नै नाउँमा कुनै सम्पत्ति छैन न ता मेरी श्रीमतीको नाउँमा कुनै सम्पत्ति छ । विगत छब्बिस वर्षसम्म मैले एक रुपियाँ पनि नियमित तनखाको रूपमा लिएको छैनँ । जब मलाई कुनै कुरोको खाँचो पर्छ तब म घुँडा टेकी परमेश्वरलाई बिन्ती चढाउँछु ।
मेरो अन्तरबिन्तीलाई परमेश्वरले कसैको हृदयमा राखिदिनुहुन्छ । अनि उमार्फत मेरो खाँचो टर्छ ।
विगत छब्बिस वर्षदेखि मेरा सबै आवश्यकताहरू यसरी नै परिपूर्ति हुँदै आएका छन । म भन्न सक्छु कि आजको दिनसम्म मलाई कुनै कुरोको कमी भएको छैन । यसरी जिउने शैलीमा मेरी श्रीमती र हाम्री एउटी मात्र छोरी पनि राजी छन । यस्तो किसिमको जिउने तरिकाबाट हामी थाकेका छैनौं । वास्तवमा दिनप्रतिदिनको अनुभवले यो अझै उत्तम तरिका हो भनेर हामीलाई सिकाएको छ ।
भविष्यको लागि जोहो गर्नु वा मेरो आफ्नै लागि वा परिवारको निम्ति साँची राख्ने कुरोलाई मैले कहिल्यै आवश्यकताको रूपमा हेरिनँ । त्यसैले, जब कुनै वृद्धा, बिरामी वा आशाविहीन शिशुलाई खाँचो परेको देख्छु त्यस बेला मसँग भएको जुनसुकै कुरो सित्तैंमा दिन्छु । मलाई थाहा छ कि जब म खाँचोमा पर्छु परमेश्वरले मलाई जुटाउनुहुनेछ । परमेश्वरमा भरोसा गर्नुबाहेक मैले आफ्नो निम्ति सांची राख्नु आवश्यक छैन ।
तसर्थ, हाम्रो लागि नियमित तनखा स्थापना गर्ने उद्देश्यले उद्धार हृदयबाट पठाइएको यस रकमलाई स्वीकार गर्न म असक्षम छु । म यसलाई तपाईंकहाँ नै फर्काउँदै छु ।
मलाई वा परमेश्वरको कामको लागि दिइएको कुनै पनि कुरो म धन्यवादसहित ग्रहण गर्दछु यदि परमेश्वरको निर्देशनअनुसार मैले यसलाई अरूको निम्ति प्रयोग गर्न पाएँ भने । मेरो हेरविचारको निम्ति म दैनिक उहाँमाथि आश्रित हुन्छु । तपाईंको रकमले मेरो त्यो भरोसालाई कम बनाउँछ कि जस्तो मलाई लागेको छ । यसलाई स्वीकार गर्नु भनेको परमेश्वरमा भन्दा रुपियाँ-पैसामाथि बढी भरोसा गर्न थालेको जस्तो देखिन्छ ।
तथापि तपाईंको दयाको निम्ति म तपाईंको कदर गर्दछु । परमेश्वरले तपाईंलाई प्रशस्त आशिष दिनुभएको होस भन्ने मेरो प्रार्थना छ ।
तपाईंकै हितैषी
जर्ज मुलर
"नूनले स्वादिलो पारेजस्तो तिमीहरूको बोलीवचन सधैं कृपालु होस, ताकि प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान" (कलस्सी ४:६) ।
प्रेरक प्रसङ्गहरू, कमल अधिकारी, प्रथम संस्करण २०१४, पृष्ठ २८-३०

No comments:
Post a Comment