Saturday, December 21, 2024

येशू ख्रीष्ट - सेवा र बलिदान

 


 क्रिसमस येशू ख्रीष्ट याे संसारमा आउनुभयो भन्ने तथ्यको बारेमा मात्र होइन । तर उहाँ किन आउनुभयो भन्ने कुरा महत्त्वपूर्ण हो । उहाँ आफ्नो वरपरका मानिसहरूको लागि सेवा र बलिदानको जीवन बिताउन आउनुभयो । 


तपाईं किन यहाँ हुनुहुन्छ भनेर भ्रमित नहुनुहोस । तपाईं यस धर्तीमा उत्सव मनाउन आउनुभएको थिएन । तपाईं यहाँ येशू जस्तै सेवाको जीवन जिउन र परमेश्वरको महिमाको लागि बलिदान दिन हुनुहुन्छ । 


यसकारण तपाईं केबल क्रिसमस मनाएर मात्रै सन्तुष्ट नहुनुहाेस तर येशुको जीवनको अनुकरण गर्नुहोस । तब परमेश्वर यस कुरामा प्रशन्न हुनुहुन्छ ।


* के तपाईंको जीवन सेवा र बलिदानकाे निम्ति समर्पित छ ?


यसकारण लेखिएको छ,

“ख्रीष्ट येशूमा भएको विश्वास र प्रेममा तिमीले मबाट सुनेका साँचा कुराहरूका नमूनाको अनुसरण गर।” [२ तिमोथी १:१३]


“यसकारण जसरी ख्रीष्टलाई तिमीहरूले ग्रहण गर्यौ, त्यसरी नै उहाँमा जीवन बिताओ।” [कलस्सी २:६]


“तिनीहरूका गोडा धोइसक्नुभएपछि आफ्नो बाहिरी वस्त्र लाएर उहाँ फेरि बस्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, के तिमीहरू जान्दछौ, मैले तिमीहरूका निम्ति के गरें?   

तिमीहरू मलाई 'गुरु र प्रभु' भन्दछौ, त्यो तिमीहरू ठीकै भन्दछौ, किनभने म उही हुँ।  

यदि तिमीहरूका प्रभु र गुरु भईकन मैले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक-अर्काका गोडा धुनुपर्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर।” [यूहन्ना १३:१२-१५] 


“किनकि यसैको निम्ति तिमीहरू बोलाइएका हौ। ख्रीष्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ। 

उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।

तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नुभएन। दुःख भोग्नुहुँदा उहाँले धम्की दिनुभएन। तर उचित न्याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्नुभयो।” [१ पत्रुस २:२१-२३]


“प्रेम के हो भनी हामी यसैबाट थाहा पाउँछौं, कि उहाँले हाम्रा निम्ति आफ्नो प्राण दिनुभयो र हामीले पनि आफ्ना दाजुभाइहरूका निम्ति आफ्नो प्राण दिनुपर्छ।” [१ यूहन्ना ३:१६]


तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो,  “कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफूलाई इन्कार गरोस र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस।” [मत्ती १६:२४]


“जो आफ्नो क्रूस उठाएर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन।” [मत्ती १०:३८]


“हाम्रा विश्वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्ने राखिदिएका आनन्दको निम्ति अपमानलाई केहीजस्तो नठानी क्रूसको कष्ट भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ।” [हिब्रू १२:२]


“जसरी ख्रीष्टले शरीरमा दुःख भोग्नुभयो, त्यसरी नै तिमीहरूले पनि त्यही किसिमको विचार धारण गर, किनभने जसले शरीरमा दुःख भोगेको छ, त्यसले पाप गर्न छोड़ेको हुन्छ।” [१ पत्रुस ४:१]


“मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्टको अनुसरण गर्दछु।” [१ कोरिन्थी ११:१]


“उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको चालअनुसार चल्नुपर्छ।” [१ यूहन्ना २:६]


“यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। 

यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।” [रोमी १२:१-२]





No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...