Sunday, December 29, 2024

येशू ख्रीष्ट : परमेश्वरकाे पुत्र, मानिसको पुत्र र मध्यस्थकर्ता

 


 आजभाेलि सामाजिक सञ्जालमा विभिन्न मानिसहरूकाे बिचमा येशू ख्रीष्टकाे बिषयमा निकै वादविवाद चलिरहेको पाउन सक्छौं । विशेषगरी मानिसहरूकाे बिचमा “पुत्र” काे विषयमा मुख्यतः दुईवटा भ्रम देख्न सकिन्छ ।


1. परमेश्वर एकमात्र हुनुहुन्छ, यसकारण परमेश्वरकाे कुनै पुत्र हुनै सक्दैन ।

मुस्लिमहरूले यसलाई हल्का रूपमा लिएको कारण तिनीहरूले परमेश्वरकाे कुनै पुत्र हुनै सक्दैन भन्छन । यसकारण उनीहरूले यसलाई ईश्वर निन्दाकाे रूपमा लिने गर्दछन ।


2. केही ख्रीष्टियन सम्प्रदायहरूले यसलाई चाहिनेभन्दा बढी महत्त्व दिएको कारण श्रीमती बिना कसरी पुत्र हुनसक्छ ? भनी प्रति प्रश्न गर्दछन । यसकारण उनीहरूको साेँच अनुसार परमेश्वरकाे पनि श्रीमती छ भनिरहेका छन ।


बचनलाई हामीले ग्रहण गर्दा सन्तुलित रूपमा गर्नु पर्दछ, नत्र भने हामी बचनकाे सिद्धान्तदेखि बाहिर निस्कनेछाैँ र एक नयाँ झुठो शिक्षाको जन्म हुनेछ ।


बाइबलमा येशू ख्रीष्टलाई दुई तरिकाले “पुत्र” काे रूपमा प्रस्तुत गरिएको छ ।

1. परमेश्वरको पुत्र

[२ युहन्ना ३, १ युहन्ना ३:८, ४:१५, मर्कुस १४:६१, ५:७, लुका ८:२८, २२:७०, राेमी १:४, भजनसंग्रह २:७]


2. मानिसको पुत्र

[मत्ती ८:२०, मर्कुस १४:६२, लुका ५:२४, १९:१०, युहन्ना ३:१३, ५:१९, १२:३४, दानिएल ७:१३-१४]


बाइबलकाे मुख्य सिद्धान्त भनेको “येशू ख्रीष्ट पुर्ण (१००%) परमेश्वर र पुर्ण (१००%) मनुष्य हुनुहुन्छ” भन्नू हाे ।


“परमेश्वरको पुत्र” सम्बाेधन गरिनुको कारण उहाँको ईश्वरत्वलाई देखाउँछ, यसकारण उहाँ पुर्ण परमेश्वर हुनुहुन्छ ।


“मानिसको पुत्र” ले उहाँको मनुष्यत्वलाई देखाउँछ, यसकारण उहाँ पुर्ण मनुष्य पनि हुनुहुन्छ ।


“परमेश्वरको पुत्र” शब्द प्रयोग गरिनुको अर्थ यो होईन कि परमेश्वरको श्रीमती पनि छ, जसरी अरूले गलत व्याख्या गर्दछन ।


बाइबलले स्पष्ट पार्दछ कि परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ । यसकारण उहाँलाई कुनै काम गर्न कसैको मद्दत चाहिँदैन । यसकारण उहाँले स्त्रीको विना पनि पहिलो मानिस आदमलाई सृष्टि गर्नु भयो ।


“पुत्र” शब्द किन प्रयोग गरियो ?


 यहाँ “पुत्र” शब्दले केवल एउटा सम्बन्धलाई मात्रै देखाउँछ, तर समय (उमेर) को सम्बन्धमा होईन । जस्तैः म र मेरो पिताको सम्बन्ध दुई किसिमले छ ।


 पहिलो - “समय” (उमेर) को हिसाबले ।

 दोस्रो - “सम्बन्ध” को हिसाबले ।


सम्बन्धको अर्थ, जसरी पिताको बारेमा पुत्रले बाहेक त्यति नजिकबाट कसैले जानेको हुँदैन भन्नू हाे ।


येशूलाई “परमेश्वरको पुत्र” भन्नुको अर्थ उहाँले परमेश्वरकाे बारेमा जति जान्नुहुन्छ, त्यो भन्दा बढी अरू कसैले पनि जानेकाे छैन भन्नू हो । [युहन्ना १:१८, ७:२८-२९, ६:४६]


“मानिसको पुत्र” भन्नुको अर्थ, “उहाँ पुर्ण मनुष्य शरीरमा रहेर मानिसको वास्तविक अवस्था उहाँलाई थाहा छ” भन्नू हाे । [१ तिमाेथी २:४-६, एफेसी २:१५-१६]


यसकारण येशु ख्रीष्टले मात्रै परमेश्वर र मनुष्य विचमा साँचो मध्यस्थकर्ताको भुमिका निभाउन सक्नुहुनेछ, अरू कुनै मनुष्यले मध्यस्थकर्ताको भुमिका निभाउन सक्दैन । [इजकिएल २२:३०, प्रकाश ५:१-५]


मध्यस्थकर्ता त्यही मात्रै बन्न सक्छ, जसले दुवै पक्षलाई राम्रोसँग जान्दछ । र यो सबै पापी मानिसको उद्दारसँग सम्बन्धित छ ।


वास्तवमा परमेश्वरकाे कुनै पुत्र हुनुहुन्न, कारण येशू ख्रीष्ट नाम होईन, तर परमेश्वर मानिसको स्वरूपमा आएर गर्ने काम मात्रै थियो । “येशू ख्रीष्ट” नामको सहि अर्थ ग्रिक भाषाबाट नेपालीमा यस्ताे हुन्छ ।


Jesus - means that he is the Savior

Greek: Iēsous (Ἰησοῦς)

Hebrew and Aramaic name Y'shua (ישוע‎)

[मत्ती १:२१, लुका १:२६-३८]


Christ - one who is Anointed

Greek word χριστός (chrīstós)

Hebrew word מָשִׁיחַ (Mašíaḥ)

[हिब्रू १३:८, प्रेरित २:३८, फिलिप्पी २:९-११, १ काे. १५:३-४]


येशू - “पापबाट छुटकारा दिने वाला” हुन्छ ।

ख्रीष्ट - “स्वर्गबाट अभिषेक गरि (अधिकार दिएर) पठाईएको व्यक्ति” हुन्छ ।


यसकारण “येशू ख्रीष्ट” नामको सहि अर्थ “पापी मानिसलाई पापबाट छुटकारा दिन स्वर्गदेखि अधिकार दिएर पठाएको व्यक्ति” हुन्छ ।


यसैले परमप्रभुका दूतलाई योसेफलाई बालककाे नाम येशू राख्नु भन्नुभयाे -

“तिनले एउटा पुत्र जन्‍माउनेछिन, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।” [मत्ती 1:21]


येशू ख्रीष्टलाई “पुत्र” भन्नुको आर्काे कारण यस्तो छ -


हामीले पहिल्यै व्याख्या गरि सक्यौं कि “पुुत्र” काे सहि अर्थ समयलाई देखाउन हाेईन तर केवल सम्बन्धलाई देखाउनकाे लागि मात्रै प्रयोग गरिएको हाे ।


“पुत्र” शब्द नै प्रयोग गरिनुकाे अर्थ आज हरेक धर्मका मानिसहरूले परमेश्वरलाई एक जान्नै नसकिने अदृश्य शक्तिकाे रूपमा विश्वास गर्दछन । यसकारण उनिहरू डरकाे साथ परमेश्वरकाे भक्ति गर्दछन ।


आज परमेश्वर शक्ति हाेईन तर व्यक्ति हुनुहुन्छ भनेर केवल बाइबलले मात्रै हामीलाई सिकाउँछ । परमेश्वर व्यक्ति मात्रै हाेईन तर हाम्रो “पिता” समान हुनुहुन्छ भनेर परमेश्वर र मानिसको बिचकाे निकै नजिककाे सम्बन्ध येशू ख्रीष्टले प्रकट गरिदिनु भयो ।


यसकारण येशूले आफ्ना चेलाहरूलाई प्रार्थना गर्दा परमेश्वरलाई प्रार्थना गर्दा “पिता” भनेर सिकाउनु भयो ।

“हे हाम्रा पिता, जो स्‍वर्गमा हुनुहुन्‍छ... ।” [मत्ती 6:9]


पुनरूत्थान पछि पनि येशूले भन्‍नुभयो,

“मलाई नछोऊ, किनभने म अहिलेसम्‍म पिताकहाँ गएको छैनँ। तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, ‘मेरा पिता र तिमीहरूका पिता, र मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ गइरहेछु।” [यूहन्ना २०:१७]


अर्थात येशूले परमेश्वरलाई पिताकाे रूपमा पुनः सम्बाेधन गर्नु भयाे र हामीलाई भाई भनेर सम्बाेधन गर्नुभयो । यसकारण आज जसले नयाँ जन्म पाउँछ त्यसले परमेश्वरकाे घरानामा सहभागी बन्छ । आज मण्डलीकाे जेष्ठ दाई येशू ख्रीष्ट हुनुहुन्छ । [युहन्ना ३:३,१:१२, गलाती ३:२६, २९, ४:६-७, राेमी ८:१७, २९-३०]


यहुदीहरूले परमेश्वरलाई भयानक शक्तिकाे रूपमा मात्रै हेर्थे, किनकि परमेश्वर कहिल्यै पनि तिनिहरू कहाँ “पिता” को रूपमा प्रकट गर्नुभएकाे थिएन । यसकारण तिनीहरूले बचनमा परमेश्वरकाे नाम लेख्दा खाली ठाउँ छाेड्थे र परमेश्वरकाे नामलाई उच्चारण गर्दा केही समय शान्त रहन्थे । यहुदीहरू बिचमा परमेश्वर प्रति यति धेरै डर र भय थियोे ।


यदि येशू ख्रीष्ट नआउनु भएको भए र उहाँले याे पिताकाे रहस्य नखाेल्नु भएको भए, सायद आज पनि हामी परमेश्वरलाई एक डरलाग्दो शक्तिकाे रूपमा भक्ति गरिरहेका हुने थियौं ।


तर येशू जब आउनुभयो तब उहाँले परमेश्वरसँग हामी डराउनु पर्दैन, तर हामी परमेश्वरसँग पिताको जस्तै सम्बन्ध राख्न सक्छौं भनेर प्रकट गरिदिनु भयाे । के याे हाम्रो निम्ति आशिषकाे कुरा हाेईन र ?


यसकारण “पुत्र” शब्द उहाँको श्रीमती भएको कारणले हाेईन तर हाम्रो निम्ति मानिसले बुझ्ने भाषामा हामीलाई बुझाउन “पुत्र” शब्द प्रयोग गरिएको हाे ।


यसकारण येशू ख्रीष्ट “परमेश्वरको पुत्र” र “मानिसको पुत्र” हुनुहुन्छ भन्ने गलत व्याख्याबाट सचेत रहाैँ । बचनको सत्यतालाई बुझ्ने कोशिष गरौँ !


* येशू ख्रीष्ट नै मानव शरीरमा आउनु भएको स्वयं सृष्टिकर्ता “परमेश्वर” हुनुहुन्छ । 

[युहन्ना १:१-२, १४, हिब्रू १०:५, १ तिमाेथी ३:१६, २ काेरन्थी ४:४, कलस्सी १:१५-१६, २:९]



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...