सन् १९०० को प्रारम्भमा एक पति र पत्नीले नयाँ मोडेलकाे फोर्ड कार किनेका थिए। तिनीहरू एक दिन यात्राको लागि बाहिर निस्के, तर इन्जिनमा केही समस्या भयो र कार रोकियो। श्रीमानले हुड खाेलेर इन्जिनलाई मर्मत गर्ने धेरै प्रयास गरे तर सकेनन। त्यसपछि उनले हुड बन्द गरे र अब कसरी घर जाने हो भनेर सोच्न थाले।
त्यत्तिकैमा एउटा नयाँ मोडलकाे फोर्ड कार तिनको नजिकै आयो र कारबाट एउटा चालक बाहिर निस्किए। उनी उच्च स्तरको प्रतिष्ठित देखिने वृद्ध व्यक्ति थिए। ती वृद्ध व्यक्तिले उनलाई सोधे, “के भयो साथी?”
ती व्यक्तिले जवाफ दिए, “मेरो कार बिग्रियो। मैले यसलाई किन्नु हुँदैनथ्यो।”
वृद्ध व्यक्तिले भने, “के मलाई हेर्न दिन्छौं, म केही गर्न सक्छु कि?”
असन्तुष्ट व्यक्तिले जवाफ दिए, “तपाईं यहाँबाट जानुहोस, किनकि तपाईंले पनि यसलाई केही गर्न सक्नुहुन्न।”
ती वृद्ध व्यक्तिले तुरुन्तै आफ्नो गाडीबाट एउटा स्क्रू ड्राइभर लिए र हुडमाथि उठाए, र केही समय इन्जिनलाई हेरे र केही चलाए जस्तो गरे। त्यसपछि उनले भने, “अब एक पटक चावी घुमाएर स्टार्ट गर।” अनिच्छुक व्यक्तिले निर्देशन अनुसार गरे, र इन्जिन तुरुन्तै सुचारु भयाे।
जब वृद्ध व्यक्ति आफ्नो कारमा फर्कन थाले, तब ती व्यक्तिले चिच्याएर भने, “एक मिनेट पर्खनुहोस। तपाईंलाई धेरै धेरै धन्यवाद। तपाईं को हुनुहुन्छ?”
उनले ती दम्पतीलाई हात हल्लाए, र ठूलो मुस्कान दिएर भने, “मेरो नाम हेनरी फोर्ड हो। मैले नै याे कारलाई आविष्कार गरेको हुँ, र मलाई यसको बारेमा सबै कुरा थाहा छ।”
शिक्षा :
* जब तपाईंले जीवनमा चुनौतीपूर्ण परिस्थितिहरूको सामना गर्नुहुन्छ र तपाईंलाई सबै कुरा कसरी ठीक गर्ने भनेर थाहा छैन, तब तपाईंले सधैं सम्झनुहोस, केवल परमेश्वरले मात्रै हाम्रो जीवनलाई कसरी ठीक गर्ने भनेर जान्नुहुन्छ किनभने हामी उहाँका सृष्टि हौं र उहाँले हामीलाई धेरै माया गर्नुहुन्छ!
* के पापले बिगारेको तपाईंको जीवनलाई बनाउन जीवनकाे सृष्टिकर्ता परमेश्वरलाई अनुमति दिनुहुन्छ?
* जसरी हेनरी फोर्डले सडकको छेउमा स्टार्ट नभएको गाडीलाई पनि ठीक गर्न सक्थे, येशू ख्रीष्टले जीवनको राजमार्गको छेउमा जीर्ण अवस्थामा रहेको कुनै पनि टुक्रिएको मानव जीवनलाई ठीक गर्न सक्नुहुन्छ। किनकि प्रत्येक व्यक्तिलाई सृष्टि गर्ने उहाँ नै हुनुहुन्छ। विश्वास लाग्दैन?
यसकारण लेखिएको छ,
“आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो।
उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो।
सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।” [यूहन्ना १:१-३]
“किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन।
उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन।” [कलस्सी १:१६-१७]
“प्राचीन कालमा हाम्रा पितापुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो।
तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो।” [हिब्रू १:१-२]
“तर हाम्रा निम्ति त एउटै परमेश्वर पिता हुनुहुन्छ, जसबाट सबै थोक हुन आए, अनि उहाँकै निम्ति हामी जिउँदछौं-- हाम्रा निम्ति एउटै प्रभु, येशू ख्रीष्ट हुनुहुन्छ, जसद्वारा सबै कुरा हुन आए, र जसद्वारा हामी जिउँदछौं।” [१ कोरिन्थी ८:६]
“म अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त्य हुँ।” [प्रकाश २२:१३]
Sources :
1. https://russellmckinney.com/tag/story-about-henry-ford-fixing-a-model-t/
2. https://steemit.com/life/@jayboss/the-old-help

No comments:
Post a Comment