यो बच्चाहरुको लागी सबै भन्दा राम्रो प्रेरणादायक कथाहरु मध्ये एक हो। कुनै समय, एउटा पेन्सिल र इरेजर एक अर्काको कामको बारेमा कुराकानी गर्दै थिए। दुवैले एकअर्काको मेहनतको तारिफ गरेका थिए। दुबैलाई थाहा थियो कि एक अर्का बिना तिनीहरूको कुनै अर्थ छैन ।
चाँडै, पेन्सिलले सीधा रेखा कोर्न थाल्यो। इरेजरले पेन्सिललाई हेर्दै थियो। अचानक, पेन्सिलले आफ्नो सन्तुलन गुमायो र पेन्सिलले बनाएको सीधा रेखा बिग्रियाे। अब, पेन्सिल साह्रै दु:खी भयाे। किनभने उसलाई थाहा थियो कि इरेजरले आफ्नो गल्तीको कारण दुःख भोग्नुपर्नेछ।
यसकारण पेन्सिलले इरेजरलाई भन्यो, “मलाई धेरै माफ गर्नुहोस!”
इरेजरलाई थाहा थिएन कि पेन्सिलले के कुरा गरिरहेको छ, त्यसैले सोध्यो, “मेरो प्यारो साथी, केको लागि?”
तब पेन्सिलले रूँदै भन्यो, “मलाई माफ गर्नुहोस, मेरो कारणले तपाईलाई चोट पुग्यो। जहिले पनि म गल्ती गर्छु, तपाईं सधैं मेटाउन त्यहाँ उपस्थित हुनुहुन्छ। जब तपाईं मेरा गल्तीहरू मेटाउनुहुन्छ, तब तपाईंले आफ्नो एक अंश गुमाउनुहुन्छ र प्रत्येक पटक सानो र सानो हुँदै जानुहुन्छ।”
यो सुनेर, इरेजरले जवाफ दियो, “यो सत्य हो, तर मलाई वास्तवमा कुनै आपत्ति छैन। म तिमीलाई मद्दत गर्नको लागि नै बनाइएको हुँ, जब तिमीले केहि गलत गर्छौ। एक दिन म समाप्त हुनेछु भन्ने कुरा मलाई थाहा छ, तापनि म वास्तवमा मेरो कामबाट खुसी छु। त्यसैले कृपया चिन्ता नगर, म तिमीलाई दु:खी देख्दा म खुसी हुनेछैन।”
याे दृष्टान्तबाट हामीले दुईवटा महत्त्वपूर्ण कुराहरू सिक्न सक्छौं,
1. हाम्रा आमाबाबु इरेजर जस्तै हुनुहुन्छ, र हामी पेन्सिल हौं। आफ्ना बच्चाहरूको गल्तीहरूलाई सफा गर्न अभिभावकहरू सधैं उपस्थित हुन्छन। आमाबाबुले आफ्ना छोराछोरीहरूको लागि जे गर्छ त्यसमा सधैं खुसी हुन्छन र आफ्ना बहुमूल्य व्यक्तिहरूलाई चिन्ता वा दुःखी देखेर कहिल्यै खुशी हुनेछैनन। कहिलेकाहीँ बच्चाहरूको गल्तीले तिनीहरूलाई दु:ख दिन्छ र सानाे हुँदै जान्छन। अन्ततः तिनीहरू बूढो हुन्छन र बित्छन।
यसैले आफ्ना आमाबाबुको हेरचाह गर्नुहोस, उहाँहरूलाई दयालु व्यवहार गर्नुहोस र सबैभन्दा महत्त्वपूर्ण कुरा उनीहरूलाई माया गर्नुहोस।
2. येशू ख्रीष्ट हाम्रो लागि इरेजर जस्तै हुनुहुन्छ र हामी पेन्सिल हौं। हाम्रो गल्ति (पाप) मेटाउन उहाँ सधैं हाम्रो साथमा हुनुहुन्छ। उहाँले हाम्रो पापको दोष मेटाउन आफ्नो प्राण समेत दिनुभयो। उहाँ फेरि जीवित हुनुभयो। उहाँको रगतले हाम्रा पाप धोइएका छन। अब हामी पापको दोषमा जिउनुपर्दैन। के याे सबैभन्दा महत्त्वपूर्ण सुसमाचार हाेईन र?
यसकारण लेखिएको छ,
“छोरा-छोरी हो, प्रभुमा आफ्ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।
आफ्ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो), कि तिमीहरूलाई भलो होस, र पृथ्वीमा तिमीहरू दीर्घायु होओ।” [एफिसी 6:1-3]
“पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो, यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकून, र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफैकहाँ प्रस्तुत गर्न सकून, र त्योचाहिँ पवित्र र निष्खोट होस।” [एफिसी 5:25-27]
“यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैलाई धोका दिन्छौं, र हामीमा सत्य हुँदैन।
यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।” [१ यूहन्ना 1:8-9]
परमप्रभु भन्नुहुन्छ, “अब आओ, हामी सँगसँगै बसेर आफ्ना कुराको छलफल गरौं। तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन। गाढ़ा राता रङ्गका भए तापनि ती ऊनजस्तै हुनेछन।” [यशैया 1:18]
Source :
1. https://www.bedtimeshortstories.com/pencil-and-eraser-story
2. https://www.linkedin.com/pulse/pencil-eraser-adapted-from-secret-leadership-prakash-iyer-1
3. https://www.sundayschoolnetwork.com/sermon_pencil-eraser.htm

No comments:
Post a Comment