कुनै एकजना परदेशी जङ्गलको यात्रा गर्दागर्दै भोकप्यासले थकित भएछ । उसले कुनै गाउँ भेटिन्छ कि भन्दै अगाडि यात्रा गरिरहेछ । धेरै लामो यात्रा पछि पनि कुनै गाउँ नभेटेपछि ऊ निकै निराश भइसकेको रहेछ ।
साँझ पर्ने बेलामा बाटाको छेउमा एउटा सानो झुपडी देखेर यात्री धेरै खुसी भयो । उसले त्यस घरको ढोका ढकढक्यायो । तर भित्रबाट कुनै प्रतिक्रिया आएन । उसले घरधनीलाई बोलायो तर कुनै आवाज आएन । अनि उसले घरको ढोका खोलेर भित्र पस्यो ।
घरभित्र हेर्दा अँगेनामा आगो बलिरहेको रहेछ । अँगेनामाथि पानीको भाँडो बसालिएको रहेछ । अँगेनाको छेउमा खाट रहेछ । खाटमाथि ओछ्यान मिलाएर राखिएको रहेछ । घरभित्रको भुइँ सफा पनि रहेछ । तर पनि त्यस परदेशीले त्यस घरमा कुनै मानिसलाई देखेनछ।
अब भन्नुहोस - त्यस परदेशीले के सोच्यो होला ? के त्यस घरमा कुनै मानिस बस्तैन ? यदि बस्तैन भने अँगेनामा आगो कसले बाल्यो होला ? कसले घर सफा राख्यो होला ? कसले ओछ्यान मिलाएर राख्यो होला ?
त्यस घरको वातावरणले नै त्यहाँ पक्कै कुनै मानिस बस्छ भनेर प्रमाणित गर्दैन र ?
यसरी घाम, जून, तारा, खोला नाला, पहाड-पर्वत, हावापानी, मौसम, ऋतुहरू, ऋतुअनुसारका फलफूलहरू, अन्नबालीहरू, आकाशमा उड्ने पंक्षीहरू, जमिनमा रहेका पशु-प्राणीहरू र पानीमा रहेका जीवित प्राणीहरू देख्ता के यसलाई सृष्टि गर्ने सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्दैन र ?
यसैले हाम्रो सौर्यमण्डलको रचनालाई हेरी दङ्ग पर्दै प्रसिद्ध वैज्ञानिक आइज्याक न्यूटनले बताए,
“सूर्य, ग्रह र पुछ्रेताराहरूको यो ज्यादै सुन्दर प्रणाली प्रज्ञावान र शक्तिशाली व्यक्तित्वका बुद्धिबाट मात्र आउन सक्छ।”
विश्वसृष्टिविद एड हेरिसन लेख्छन,
“पालेको प्रज्ञावान तर्क र विश्वको उत्पत्तिसम्बन्धी
तर्कले परमेश्वरको अस्तित्वलाई प्रमाणित गर्छन र यो रचना
परमेश्वरले गर्नुभएको हो भन्नका लागि विश्वको व्यवस्थितपनाले दरिलो साक्षी जुटाउँछ।”
नासाका खगोलविद जोन ओकिफे बताउँछन,
“यदि सारा विश्व व्यवस्थित तरिकाले नबनाइएको भए, हामी अस्तित्वमा हुने थिएनौं । मेरो विचारमा विश्व मानवजाति बाँच्नका लागि बनाइएको हो मनी यी परिस्थितिहरूले अङ्कित गर्छन ।”
सन १९८१ मा भौतिकशास्त्रमा नोबेल पुरस्कारविजेता आर्थर एल. स्काओ बताउँछन,
“आकाश-मण्डल साथै मेरो जीवनमा म परमेश्वरको आवश्यकता देख्दछु।”
सतहत्तर वर्षको उमेरमा डिसकभरी नाम गरेको अन्तरिक्ष यानबाट नियाली जोन ग्लेनले दिएको अभिव्यक्ति कति साँचो छ,
“यस्तो खालको सृष्टिलाई हेरी परमेश्वरमाथि विश्वास नगर्नु मेरो लागि असम्भव छ।”
यसकारण लेखिएको छ,
“आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ। र तारा-मण्डलले उहाँका हातको सीपको घोषणा गर्छ।
हरेक दिन तिनीहरूले वार्तालाप गर्छन, र हरेक रात तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन।
कुनै बोली छैन, न भाषा छ, जहाँ तिनीहरूको सोर सुनिँदैन।
तिनीहरूको सोरले सारा पृथ्वी गुञ्जायमान छ, तिनीहरूका शब्द पृथ्वीको सीमान्तसम्मै पुगेका छन।” [भजनसंग्रह 19:1-4]
“परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनुभएको छ।
उहाँको अदृश्य गुण, अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन।” [रोमी 1:19-20]

No comments:
Post a Comment