Wednesday, August 2, 2023

विज्ञान, परमेश्वर र कलेज धाउने छोरी

 


सधै चुलामा काम गर्ने आमा कहीँ टाढा जाँदा कलेज जाने छोरीले चुला समाल्नुपर्छ। छोरी अलमल्ल पर्छे, कहाँ के छ, कहाँ के छैन, पत्तो हुँदैन।


एउटा बट्टा खोल्छे, अनि आँखा ठूलो पारेर भन्छे, “ए, धूलो खुर्सानी ता यहाँ रहेछ।”


अर्को डिब्बा खोल्छे अनि लामो सास फेरेर भन्छे, “हैन, खोजेको मसला ता यहाँ पो रहेछ, आमाले पनि कहाँ कहाँ राख्नुभाको।”


विज्ञान अर्थात वैज्ञानिकहरू पनि यही छोरीजस्तो मात्र हुन, जसले परमेश्वरले पृथ्वीको उत्पत्तिदेखि राख्नुभएको चीजलाई खोजेर निकाल्छन।


निकोलस कोपिर्निकसले ग्रहहरू (यो पृथ्वी पनि) सूर्यका वरिपरि घुम्छन भनी अनुसन्धान गरे भने, भइराखेको कुरा खोजेर पत्ता लगाएका मात्र हुन, कलेज धाउने छोरीले झैँ, तर पृथ्वीलाई सूर्यको वरिपरि घुम्ने बनाएका होइनन।


डा. भोन ब्राउनले रकेट बनाए। परमेश्वरले विश्वको उत्पत्तिको दिनदेखि नै राखिछोड्नुभएको थरिथरिका शक्तिलाई एकत्र गरेरै बनाए, आफ्नो पाकेटबाट केही चीज थपेका छैनन।


हो, कोपर्निकस र डा. ब्राउनलाई हामीले धन्यवाद दिनैपर्छ, किनभने हामीले नसकेका काम उनीहरूले गरे, तर उनीहरूलाई हामी परमेश्वरभन्दा माथि चढाउन सक्तैनौं।


ग्यालिलियोले रात-दिन आफ्नो दूरबिनलाई आकाशतिर ठड्याएर आखिरमा साँच्चै पृथ्वी शून्याकाशमा झुन्डिरहेकै छ भनी प्रमाणित गरे। हामी ग्यालिलियोलाई पनि स्यावासी दिन्छौं, तर आदर, महिमा, प्रशंसा परमप्रधान परमेश्वरलाई नै छ, किनभने उत्पत्तिदेखि परमेश्वरले झुन्ड्याइ राख्नुभएको कुरालाई ग्यालिलियोले थाहा पाएका मात्र हुन।


त को ठूलो? बनाउनेवाला परमेश्वर ठूलो हुनुहुन्छ कि बल्ल-बल्ल थाहा पाउने मान्छे ठूलो? यस दृष्टिकोणले हेर्दा वैज्ञानिकहरू केही होइनन परमेश्वरका छेउमा, तर पनि कुनै-कुनै वैज्ञानिकहरूले “मै हुँ” भनेका छन, अनि “परमेश्वर केही होइन” भनेका छन। यो बडो दुःखको कुरा हो।


Source :

पुस्तक : हिमाल अचल-सत्य यो अपार, दानिएल राई, दशम संस्करण, फेब्रुअरी २००७, जीवन मार्ग प्रकाशन, पृष्ठ नं. ५१-५२


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...