के नयाँ करारको मण्डलीले शबाथ दिनलाई पालन गर्नु अनिवार्य छ?
“शबाथ-दिन पवित्र मान्नु।” [प्रस्थान 20:8-11; व्यवस्था 5:12-15]
शब्बाथ (हिब्रूबाट שַׁבָּת Šabbāṯ ) जसको अर्थ “श्रमबाट विश्राम लिनु” हुन्छ। याे विश्राम र आराधनाको लागि छुट्याइएको दिन हो। प्रस्थानको पुस्तक अनुसार, सब्बथलाई सातौं दिन शनिबारको दिन हो, जसलाई परमेश्वरले सृष्टिबाट विश्राम गर्नुभए झैं विश्रामको पवित्र दिनको रूपमा राख्नको लागि परमेश्वरले आज्ञा दिनुभएको थियोे।
आज केही मण्डलीहरूले बचनकाे सत्यतालाई पुर्णरूपमा नबुझेर याे दाबी गर्छन, कि यदि कसैले विश्रामकाे दिन अर्थात शनिबारलाई मान्दैन भने तिनीहरू झुठा हुन र तिनिहरूले परमेश्वरकाे आज्ञालाई ताेडेर पाप गरेका छन। शनिबार बाहेक अरू दिनमा आराधनाकाे दिन राख्नु पाप हाे, भन्छन। साधारण विश्वासीहरूमात्रै नभएर अगुवाहरू पनि यसको सत्यता नबुझेको कारणले अन्याैलमा परेका छन। तर बचनमा लेखिएको छ,
“तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” [यूहन्ना 8:32]
बाइबलमा यस्तो थुप्रै नियम, विधि र आज्ञाहरू छन, जाे पूरा भईसकेका छन, जसलाई अब हामीले पालन गर्नु पर्दैन। जस्तैः सात चाडहरू, पाँच बलीहरू, केही धर्मिक बिधि-बिधानहरू ईत्यादी। किनकि यी सबै आज्ञाहरू येशू ख्रीष्टमा पूरा भईसकेका छन(मत्ती 5:17)। यस्तो थुप्रै आज्ञाहरू मध्ये शबाथ (विश्राम) दिन पनि एक हाे। शबाथको मुद्दा जटिल छ, याे परमेश्वरकाे नजरबाट हाेईन, तर केबल मानिसको नजरबाट मात्रै जटिल छ। हामीले परमेश्वरकाे वचनलाई परमेश्वरकै नजरबाट हेर्नुपर्छ।
जसरी एक सिक्काको दुईवटा पाटा हुन्छ, त्यसरी नै विश्रामकाे दिनकाे पनि दुईवटा भाग छन, एक शारीरिक र दाेस्राे आत्मिक। यसैले विश्रामकाे दिनलाई दुई तरिकाले बुझ्न आवश्यक छ।
1. शारीरिक विश्राम (कामकाे बाेझबाट विश्राम)
हामी सधैं व्यस्त देखिन्छौं र हामीलाई शारीरिक आराम चाहिन्छ र साथमा आत्मिक आराम पनि चाहिन्छ। परमेश्वरले गर्नुभएको व्यवस्थाभन्दा पर जाने मानिसका प्रयत्नहरू परिणाममा असफल भएका छन। यसलाई एउटा उदाहरणबाट प्रष्ट्याऔं, परमेश्वरले ६ दिनमा काम गर्नुभयो र सातौं दिन विश्राम गर्नुभयो र त्यस दिनलाई पवित्र भन्नुभयो (उत्पत्ति 2:3)। यसरी मानवजाति र पशुहरू समान रूपले ६ दिनसम्म काम गर्न र सातौं दिनमा विश्राम गर्नको लागि व्यवस्था गरिएका छन। यस दिनलाई प्रभुको दिन भनिएको छ।
तर फ्रांसेली राज्य क्रान्तिका नास्तिकहरूले परमेश्वरका विधानहरूको परिवर्तन गर्न खोजे। तिनीहरूले मानिस र पशुलाई दश दिनको चक्रमा काम गर्न लगाउने कोसिस गरे। तर तिनीहरू सात दिनकै चक्रमा फर्केर आउनु आवश्यक भयो, किनकि सबै थकाइले परास्त भएका थिए भनी तिनले केही समयपछि थाहा पाए।
वास्तवमा विश्रामकाे दिन परमेश्वरकाे निम्ति हाेईन, तर मानिसको निम्ति बनाईएकाे थियो। किनकि परमेश्वर कहिल्यै थाक्नु हुँदैन (भजनसंग्रह 121:4)। मानिसलाई विश्राम चाहिन्छ, यसकारण परमेश्वरले हाम्रो लागि विश्राम दिन बनाउनुभयाे। यसकारण मानिसले हप्ताको छ दिन काम गर्न र साताैँ दिन विश्राम गर्न अति अवश्यक छ। याे बैज्ञानिक र व्यवहारिक पक्षमा पनि सहि छ।
2. आत्मिक विश्राम (पापकाे बाेझबाट विश्राम)
जसरी हामीलाई शारीरिक आराम चाहिन्छ र साथमा आत्मिक आराम पनि चाहिन्छ। किनकि सारा मानिस पापी छ, र पापकाे बाेझ बाेक्दाबाेक्दै, व्यवस्था पालन गर्दागर्दै, धर्म-कर्म गर्दागर्दै आत्मामा मानिस धेरै नै थाकिसकेको छ। येशू ख्रीष्ट वास्तवमा यही आत्मिक विश्राम दिन आउनुभयाे। यसैले येशूले भन्नुभयो,
“हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।” [मत्ती 11:28]
“र उहाँले व्यवस्थालाई त्यसका आज्ञाहरू र धार्मिक-विधानहरूसमेत आफ्नै शरीरमा खारेज गर्नुभएको छ, कि यी दुईका सट्टामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्टि गरून, र यसरी शान्ति स्थापना होस।” [एफिसी 2:15]
जसरी शबाथ सुरुमा मानिसहरूलाई तिनीहरूको कामबाट विश्राम दिन र मानिसहरूलाई परमेश्वरमा फर्काउनको लागि स्थापित गरिएको थियो, त्यसरी नै येशू हामीलाई हाम्रो आफ्नै श्रमद्वारा मुक्ति प्राप्त गर्ने प्रयासबाट विश्राम दिन आउनुभयो। क्रुसमा उहाँको बलिदानले व्यवस्था पूरा हुने र उहाँको सम्पन्न काममा भरोसा गर्ने सबैलाई परमेश्वरकाे धार्मिकता र विश्राम प्राप्त गर्ने बाटो खाेलियाे।
एक व्यक्तिले जब आफ्नाे पापी अवस्थालाई थाहा गर्छ र येशू ख्रीष्टलाई आफ्नाे व्यक्तिगत उद्दारकर्ता र प्रभु स्विकार गरेर नयाँ जन्म पाउँछ, त्यसै समयदेखि ऊ आत्मिक विश्राममा प्रवेश गर्छ। अब उसको निम्ति हप्ताको एकदिन शनिबारमात्रै विश्राम दिन हाेईन, तर जुन दिन उसले येशूमाथि विश्वास गरेर आत्मामा विश्राम पाउँछ, त्यही दिनदेखि उसको निम्ति हरेक दिन विश्राम दिन हाे। वास्तवमा, येशू हाम्रो शबाथ विश्राम हुनुहुन्छ (हिब्रू 3:7-4:13)। यसकारण येशूलाई विश्रामकाे प्रभु पनि भनिन्छ। यसकारण येशूले भन्नुभयो,
“शबाथ-दिन मानिसको लागि बनेको हो, मानिस शबाथ-दिनको निम्ति होइन। यसैकारण मानिसको पुत्र शबाथ-दिनको पनि प्रभु हो।” [मर्कुस 2:27-28]
इस्राएलीहरूले शारीरिक रूपमा पालन गर्ने शबाथ-दिन प्रभु येशूले दिनुहुने वास्तविक र साँचो विश्रामको छाँया थियोे। येशू जन्म, मृत्यु र पुनरूत्थानकाे समयदेखि मानिसको विश्रामकाे दिन शुरू भईसकेको छ। सुसमाचारकाे मुख्य सन्देश पनि यही हाे। अब त्यसलाई विश्वासद्दारा स्विकार गर्ने या नगर्ने हाम्रो हातमा छ।
जसरी यहुदीहरूले विश्राम दिनकाे आत्मिक अर्थ र उद्देश्य बुझ्न चुके, त्यसरी बर्तमान केही मण्डलीहरू पनि चुकेकाे छन। बर्तमान मण्डली आत्मिक हुनुकाे सट्टा बढी धार्मिक भएका छन। पहिलो शताब्दीको मण्डलीले याे सत्यता बुझेको कारणले पुस्ताैँदेखि चलिरहेको शनिबारको शबाथलाई हप्ताको पहिलो दिनमा परिणत गरे (प्रेरित 20:7, 1 कोरिन्थी 16:2)।
शनिबार सबाथको आदेश विशेष गरी नयाँ नियमका विश्वासीहरूलाई दिइएको छैन। कलस्सी 2:16 ले विश्वासीलाई शबाथको नियमबाट मुक्त गर्दछ।
“यसकारण खान र पिउनमा, वा पर्वको दिन, वा औंसी वा शबाथ-दिन मान्ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदेओस। यीचाहिँ आउने कुराका छाया मात्र हुन, तर वास्तविकताचाहिँ ख्रीष्टमा हुन्छ।” [कलस्सी 2:16-17]
रोमी 14:5 ले पनि यस्तै सन्देश दिन्छ,
“कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा बढ़ी महत्त्वको मान्छ, अर्को मानिसले सबै दिनलाई समान ठान्छ। हरेक मानिस आफ्नै मनमा पूर्ण रूपले निश्चित हुनुपर्छ।” [रोमी 14:5]
शबाथ मानिसको लागि बनाइएको थियो, र याे येशू नआउन्जेलसम्म परमेश्वरबाटकाे तत्कालीक प्रबन्ध मात्रै थियो।येशू व्यवस्थालाई नष्ट गर्न होइन, तर पूरा गर्न आउनुभएको थियो (मत्ती ५:१७)। येशूले वास्तविक शबाथको दिनलाई उहाँको पुनरूत्थानकाे समयमा पूरा गर्नुभयो। त्यसैले, मानिसको पुत्र शबाथको पनि प्रभु हो (मर्कूस 2:27-28, हिब्रू 4:4, 10, प्रेरित 17:2)। हिब्रू ४:१-११ अनुसार येशू, हाम्रो लागि “शबाथको प्रभु” हुनुभएको छ।
इस्राएलीहरू शारीरिक रूपमा विश्रामकाे दिनलाई पालन गर्थे, तर एक नयाँ जन्म पाएकाे विश्वासीहरूले आत्मिक रूपमा विश्रामकाे दिनलाई पालन गर्छन। यसैले नयाँ करारकाे मण्डलीकाे निम्ति केबल शनिबार मात्रै शबाथ (विश्राम) दिन हाेइन, तर हरेक दिन शबाथ (विश्राम) दिन भएको छ। त्यसैले “Happy Sabbath Day!” भन्नेहरू देखि साबधान हुनुहाेस, र तिनीहरूलाई “Everyday Sabbath Day!” भनेर सम्बाेधन गर्नुहाेस।
यदि काेही नयाँ करारकाे विश्वासी यहुदी नै बन्न चाहान्छ, र विश्राम दिन पालन नै गर्न चाहान्छ भने, ऊ स्वतन्त्र छ। तर उसले त्याे पालन गर्दै-गर्दा आफु यहुदी जातीकाे 12 गाेत्र मध्ये एक भएको, खतना गरेकाे र सम्पुर्ण 613 व्यवस्था पनि पालन गरेको निश्चय गराेस। साथमा 7 चाडहरू पालन गर्न र 5 बलिहरू चढाउन पनि शुरू गराेस। किनकि परमेश्वरकाे वचनमा यी सबै आज्ञाहरू पालन गर्न अनिवार्य गरिएको छ।
के नयाँ करारको मण्डलीले शबाथको दिन पालन गर्न अनिवार्य छ? छ, हामी पनि शबाथको दिन पालन गर्छाैं, तर शारीरिक या धार्मिक तरिकाले हाेईन, तर आत्मिक तरिकाले पालन गर्छौं। आत्मिक तरिकाले हाम्रो निम्ति हप्ताको सातै दिन “शबाथको दिन” हाे।
शबाथलाई सामान्यतया विश्राम र उपासनाको दिनको रूपमा लिइन्छ। निस्सन्देह, हामीले हरेक दिन परमेश्वरको आराधना गर्नुपर्छ (रोमी 12:1; कलस्सी 3:16-17; 1 थेसलोनिकी 5:16-18) र त्यसो गर्नको लागि हामीले नियमित रूपमा अन्य विश्वासीहरूसँग भेला भएर संगति गर्नुपर्छ (हिब्रू 10:23-25)। हामीले हाम्रो श्रमबाट पनि आराम गर्नुपर्छ (मर्कूस 6:31; मत्ती 6:25-34; भजन 127:1-2; फिलिप्पी 4:6-7)।
पुरानाे करारको समयमा शबाथ दिन शारीरिक रूपमा लागू हुन्थ्याे, तर याे नयाँ करारको समयमा याे आत्मिक रूपमा लागू हुन्छ। नयाँ करारमा शबाथ दिन पुरानो करारको भन्दा धेरै कडा र उच्चस्तरीय छ। के तपाईंले “शबाथ-दिनको पनि प्रभु” येशूमा विश्राम लिनुभयाे? या तपाईं इज्राएलीहरू झैँ केबल शारीरिक रूपमा शबाथ दिन शनिबार नै हुनुपर्छ भनेर जिद्दी गर्दै हुनुहुन्छ?
नयाँ करारकाे मण्डली येशूमा विश्राम लिएको छ। अब उसको निम्ति शनिबार मात्रै हाेइन, तर हरेक दिन शबाथ (विश्राम) दिन हाे। यदि आज मण्डलीकाे युगमा पनि कसैले शनिबारलाई नै शबाथ (विश्राम) दिन मान्नुपर्छ भनेर भन्छ भने, याे उसको आत्मिक अपरिपक्वता र आत्मिक अन्धाेपना मात्रै हाे। ऊ परमेश्वरले दिनुभएको व्यवस्थाकाे साँचो अर्थ र उद्देश्य बुझ्न चुकेकाे छ।
यसकारण हामीले शनिबार मात्रै हाेईन, तर देशको निति-नियम र परिस्थिति अनुसार उद्दार पाएका विश्वासीहरू मिलेर जुनसुकै समयमा परमेश्वरकाे आराधना गर्न सक्छाैँ। जस्तैः मुस्लिम देशहरूमा शुक्रबार, युरोप-अमेरिकामा आइतबार र नेपालमा शनिबार सार्वजनिक विदा हुन्छ। अब त्यहाँका विश्वासीहरू त्यसै समय अनुसार परमेश्वरकाे आराधनाकाे निम्ति एक स्थानमा भेला हुन सक्छन। शबाथले अब येशूमा आराम गरिरहेको छ।

No comments:
Post a Comment