Monday, May 1, 2023

दुई बाटाहरू र दुई गन्तव्य :

 



बाटो छान्नु :
जब हामी पहिले कहिल्यै नगएको ठाउँमा जानलाई यात्रा शुरू गछौं तब कुन बाटोबाट जाने भनेर सोधपुछ गछौं, अनि हामी आँखा खोलेर हिड्दछौं । यदि हामी गल्ती वा बेठीक बाटोमा हिडिरहेका छौं भन्ने जनाऊ पायौं भने हामी फरक्क फर्कदछौं र ठीक बाटोको खोजी गर्दछौँ ।

हरेक दिन तपाई र म यस संसारमा यात्रा गर्दै गर्दै अनन्ततातिर लम्कँदैछौँ, यस्तो निशानातिर जसको अन्त कहिल्यै हुँदैन । त्यहाँ एकपल्ट पुगिसकेपछि त्यो कहिल्यै बदली हुँदैन । तपाई कहाँ जाँदै हुनुहुन्छ, के तपाईलाई थाहा छ ?

हामीहरूको मार्गदर्शक पुस्तक :
परमेश्वरले आफ्नो प्रेम र कृपा अनुसार एउटा मार्गदर्शक पुस्तक दिनुभएको छ, त्यो चाहि बाइबल हो । बाइबलले हामीहरूलाई स्पष्ट रूपले स्वर्गको बाटो देखाउँछ । यस सानो लेखमा दिइएका उदाहरणहरू यही पुस्तकबाट लिइएका हुन । “तपाईको वचन मेरो पाउको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो ।” (भजन संग्रह ११६ : १०५ )

फराकिलो बाटो :
यस बाटोमा धेरै यात्रुहरू छन । “साँधुरो ढोकाबाट भित्र पस, किनभने बिनाशमा पुर्याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन” (मत्ती ७:१३ ) । तिनीहरू मध्ये प्रायः जसो धेरैका आँखा बन्द भएका हुन्छन । तिनीहरू बिनाशको बाटोमा हिडिरहेका छन भन्ने कुरा न ता तिनीहरूलाई थाहा छ, न ता वास्ता नै । “कुने बाटो मानिसलाई सीधा देखिएला तापनि प्राखिरमा त्यसले मृत्युमा ने पु-याउने हुन्छ ।” (हितोपदेश १४:१२ ) “यस संसारका देव (शैतान) ले अविश्वासीहरूको समझ शक्तिकाई अन्धा तुल्याई दिएको छ ।” ( २ कोरिन्थी ४:४)

बोझहरू :
यस बाटाका यात्रुहरू पापका बोझले लादिएका छन । “सबैले पाप गरेका छन र परमेश्वरको महिमा रहित हुन गएका छन ।” (रोमी ३:२३) हामीले परमेश्वरबाट एउटा पाप पनि लुकाउन सक्दैनौं । “मानिसले बाहिरी रूप हेरीकन विचार गर्छ, तर परमप्रभुले भित्री हृदय हेरीकन विचार गर्नुहुन्छ ।” (१ शमुएल १६:७) ती बोझहरू उनीहरूकै पिठ्यूमा लादिएका छन । तपाई र मैले आफ्नो कोशिषद्वारा एउटा सानो पापबाट पनि छुटकारा पाउन सक्दैनौं । समय बित्दै जाँदा, बोझ पनि गह्रौं हुँदै जान्छ अनि “पापको ज्याला मृत्यु हो ।” (रोमी ६:२३)

बिजुलीको चमक :
तस्बीरमा भएको बिजुलीको चमकले परमेश्वरको न्यायलाई दर्शाउँछ । “मानिसका निम्ति एकचोटि मरण र त्यसपछि इन्साफ नियुक्त भएको छ ।” (हिब्रू ६:२७ ) “मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखें र मैले ठूला र साना सबै मरेकाहरू सिंहासनको सामने उभिरहेका देखें; र पुस्तकहरू खोलिएका थिए र अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो; र तिनीहरूले जे जे गरेका थिए, ती पुस्तकहरूमा तिनीहरूका काम लेखिए बमोजिम ती मरेकाहरूको इन्साफ भएको थियो... र जीवनको पुस्तकमा नलेखिएको जुनसुकै पनि अग्निकुण्डमा फालियो ।” (प्रकाश २०:११, १२, १५)

आगो :
परमेश्वर पवित्र र सिद्ध हुनु भएकोले, पापको सजाय हुनै पर्छ । परमेश्वरको वचनले नरक छ भनी बताउँछ । परमेश्वरको आज्ञा पालन नगर्नेहरूका निम्ति नरक अनन्त सजाय भोग्ने ठाउँ हो । बाइबलले भन्दछ, “दुष्ट चाहिँ नरक में फर्केर जानेछ, र परमेश्वरलाई बिर्सने सबै जातिहरू पनि ।” (भजन संग्रह ९:१७ )  त्यहाँ जानका निम्ति तपाई एकदमै खराब हुनु पर्दैन, किनकि त्यो ठाउँ परमेश्वरलाई बिर्सनेहरूका निम्ति पनि हो ।

तर परमेश्वर प्रेमका परमेश्वर पनि हुनुहुन्छ । “कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चाताप गरून भन्ने उहाँ इच्छा गर्नुहुन्छ ।” ( २पत्रुस ३:६) उहाँ अति कृपालु र प्रेमी हुनुभएको हुनाले साँच्चि नै उम्कन चाहनेहरूका निम्ति उहाँले उम्कने बाटो बनाउनुभएको छ । के तपाई जीवनको बाटो पाउन चाहनुहुन्छ ?

जीवनको बाटो (मुक्तिदाता) :
हामीले आफूले आफैलाई पापहरूबाट साथै पापको दण्डबाट बचाउन नसक्ने हुनाले परमेश्वरले एकजना मुक्तिदाताको प्रबन्ध गर्नुभएको छ । “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एक मात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस तर त्यसले अनन्त जीवन पाओस ।” (यूहन्ना ३:१६) स्वर्गीय पिता परमेश्वरले आफ्नो एक मात्र पुत्र प्रभु येशू ख्रीष्टलाई स्वर्गबाट यस संसारमा पठाउनु भयो । उहाँ मानिस जस्तै जिउनुभयो, तर कहिल्यै पाप गर्नुभएन । उहाँ सुकर्म गर्दै बिरामीहरूलाई निको पार्दै, कोढीहरूलाई शुद्ध पार्दै, भूतहरूलाई निकाल्दै, पश्चातापीहरूलाई क्षमा दिदै र मानिसहरूलाई परमेश्वरको बारेमा सिकाउँदै चारैतिर घुम्नुभयो ।

मानिस भई आउनुमा उहाँको महान उद्देश्य नै हामीहरू सबैका निम्ति बलिदान भई मर्नु, आफ्नो ईश्वरीय पाप हित जीवन दिनु अनि हामीहरूका पापका दण्डका निम्ति आफ्नो बहुमूल्य रगत बहाउनु थियो । उहाँले दुष्ट मानिसहरूलाई आफूलाई पक्रेर लैजान दिनुभयो, पिठ्यूभरि रगत रगत भएका चोटहरू होउन्जेल कोर्रा मार्न अनि आफ्नो शिरमा काँडाहरूको मुकुट पहिऱ्याउन दिनुभयो, अन्तमा आफ्ना हातहरू र पाउहरूलाई क्रूसमा ठोक्ने अनुमति दिनुभयो, जहाँ उहाँ बेदना सहँदै झुण्डिनुभयो । “जसले आफ्नै शरीरमा हाम्रो पाप क्रूसमा बोक्नुभयो ।” (१ पत्रुस २:२४) तपाईं र मेरो निम्ति उहाँ मर्नु भयो ।

उहाँको पुनरूत्थान :
चिहानमा तीन दिनसम्म रहेपछि येशू ख्रीष्ट मरेकाहरूबाट बौरेर उठनुभयो । उहाँ आफ्ना चेलाहरूसँग हिँड्नुभयो, बोल्नुभयो अनि चालीस दिनपछि स्वयंमा उचालिनु भयो, जहाँ उहाँ परमेश्वरको दाहिने हाततर्फ बिराजमान हुनुहुन्छ । उहाँ जीवित मुक्तिदाता हुनुहुन्छ, जससँग स्वर्ग र पृथ्वीका सारा अधिकार छ (मत्ती २८:१८) । यही कारणले उहाँद्वारा परमेश्वर कहाँ आउनेहरूलाई उहाँले सम्पूर्ण उद्धार गर्न पनि सक्नुहुन्छ किनकि तिनीहरूका निम्ति अर्जबिन्ति गर्न उहाँ सधैंभरि जीवित हुनुहुन्छ (हिब्रू ७:३५ )।

स्वर्ग :
स्वर्ग त्यो ठाउँ हो, जहाँ परमेश्वर आफ्नो सारा महामहिमा सहित बिराजमान हुनुहुन्छ । प्रभु येशूले भन्नुभयो, “म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु र यदि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारें भने म फेरि आउनेछु र तिमीहरूलाई मकहाँ लैजाने छु, र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछाै ।” (यूहन्ना १४:२३) यो एउटा आश्चार्यजनक स्थान हो, जहाँ “उहाँले तिनीहरूका आँखाबाट आँसु पुछिदिनु हुनेछ र फेरि तिनीहरूको मृत्यु हुनेछैन, र तिनीहरूलाई शोक, रूवाइ, पीडा फेरि केही हुनेछैन, पहिलेका कुराहरू बितिसकेका हुन्छन... फेरि त्यहाँ रात हुने छैन, परमेश्वरले नै तिनीहरूलाई प्रकाश दिनुहुनेछ ।” (प्रकाश २१:४ र २२:५)

यो एउटा पवित्र स्थान हो । “थुमाको जीवनको पुस्तकमा लेखिएका बाहेक कुनै अशुद्ध कुरा, घृणित काम गर्ने र झूट बोल्ने कुनै किसिमले पनि त्यसभित्र पस्ने छैन ।” (प्रकाश २१:२७)

तर स्वर्ग जानलाई एउटा मात्र बाटो छ । प्रभु येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हूँ, मद्वारा बाहेक अरू कोहीद्वारा पिताकहाँ जान सक्दैन ।” (यूहन्ना १४:६ ) “नता अरू कसैबाट मुक्ति छ, किनकि स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन, जसद्वारा हामीले उद्धार पाउन सक्छौं ।” (प्रेरित ४:१२)

स्वर्ग जाने बाटोमा हामी कसरी प्रवेश गर्न सक्छौं ?
१. “पश्चाताप गर र सु-समाचारमा विश्वास गर ।" (मर्कुस १:१५) पापबाट हाम्रो सम्पूर्ण हृदयले परमेश्वरतर्फ फर्कनु नै पश्चाताप हो ।
२. तपाई जस्तो हुनुहुन्छ त्यस्तै आफ्नो पापको बोझ सहित प्रार्थनामा प्रभु येशू कहाँ आउनुहोस अनि मलाई क्षमा गर्नुहोस भन्दै बिन्ति गर्नुहोस। उहाँ भन्नुहुन्छ, “मकहाँ आउनेलाई म कुनै रोतिले त्याग्ने छैन ।” (यूहन्ना ६:३७ ) “हे सबै  मेहनत गर्ने र बोझले लादिएका हो । म कहाँ आओ म तिमीहरूलाई विश्राम दिनेछु ।” (मत्ती ११:२८)

३. आफ्नो मुक्तिको निम्ति येशू ख्रीष्टमा मात्र भरोसा गर्नुहोस । “उहाँको पुत्र येशूको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ ।” (१ यूहन्ना १:७ )

४. उहाँले तपाईलाई नयाँ जीवन दिनुहुनेछ, जो अनन्त जीवन हो । येशू ख्रीष्टले भन्नुभयो, “जसले मेरो बचन सुन्छ र मलाई पठाउनेलाई विश्वास गर्छ, उसमा अनन्त जीवन छ, र त्यो इन्साफमा आउँदैन तर मृत्युदेखि जीवनमा सरिहालेको हुन्छ।” (यूहन्ना ५:२४) “यसरी कोही ख्रीष्टमा छ भने, त्यो नयाँ सृष्टि हुन्छ । पुराना कुराहरू बितिसके; हेर, ती सबै नयाँ भईसकेका छन ।” (२ कोरिन्थी ५:१७)

५. तपाईले शान्ति र निश्चयता पाउनुहुनेछ । “यसैकारण विश्वासबाट धर्मी ठहरिएका भएर, हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हामी परमेश्वरमा मिलाप राखौँ ।” (रोमी ५:१)

“र गवाही चाहिँ यही हो, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो; र यो जीवन उहाँका पुत्रमा छ । जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ, जससँग परमेश्वरको पुत्र हुनुहुन्न, त्यससँग जीवन हुदैन । यी कुरा मैले तिमीहरूलाई अर्थात परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्नेहरूलाई लेखेको छु कि तिमीहरूलाई अनन्त जीवन छ भन्ने तिमीहरूले बुझ ।” (१ यूहन्ना ५:११-१३)

नयाँ जीवन कसरी जिउने ?
१. हरेक दिन बाइबल पढ्नुहोस । बाइबल हामीहरूका मार्गका निम्ति ज्योति हुनुको साथै आत्माका निम्ति भोजन पनि हो । “नयाँ जन्मेका बालकहरु जस्तै छल रहितको आत्मिक दूधको तृष्णा गर र त्यसबाट तिमीहरू मुक्तिमा बढ्दैजाओ ।” (१ पत्रुस २:२ ) तपाईले पढने जानुहुँदा, परमेश्वरले आफ्नो पवित्र आत्माद्वारा अगुवाइ गरून र सिकाउन भनी उहाँसँग प्रार्थना गर्नुहोस ।

२. येशूको नाउँमा प्रार्थना गर्दै दिनहुँ प्रार्थनाद्वारा परमेश्वरको नजिक आउनुहोस । “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अर्ज विन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस र परमेश्वरको शान्तिले जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:६, ७)

३. ख्रीष्टको बारेमा अरूलाई बताउनुहोस । “तिमी आफ्नो घरमा गएर तिम्रा मित्रहरूलाई सुनाइदेउ कि परमप्रभुले तिम्रो निम्ति कति ठूलो काम गर्नुभयो ।” (मर्कुस ५:१९ )

४. परीक्षाको समयमा प्रभुलाई पुकार्नुहोस । “किनकि उहाँ आफैले कष्‍ट भोग्‍नुभयो र परीक्षित हुनुभयो, यसैले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्‍नुहुन्‍छ ।” (हिब्रू २:१८)

५. यदि तपाई कुनै पापमा फस्नुभयो भने तुरून्तै परमेश्वरमा स्वीकार गरिहाल्नहोस । “यदि हामीले आफ्ना पापको स्वीकार गर्यो भने, हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्न उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ ।” (१ यूहन्ना १:९)

६. प्रभु येशूमा अरू विश्वासीहरूसँग सम्मिलित हुने कोशिष गर्नुहोस। “मेरो आज्ञा यही हो कि, तिमीहरू आपसमा प्रेम गर, जस्तो, मैले तिमीहरूलाई प्रेम गरेको छु ।” (यूहन्ना १५:१२)

७. सधै परमेश्वरको आज्ञापालन गर्नुहोस । “कसैले मलाई प्रेम गर्दछ भने, त्यसले मेरो बचन पालन गर्नेछ ।” (यूहन्ना १४:२३)

८. तपाई नडराउनुहोस किनकि ख्रीष्ट तपाईंसँग हुनुहुन्छ, किनकि उहाँले भन्‍नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्‌नेछैनँ, म तिमीहरूलाई त्‍याग्‍नेछैनँ ।” (हिब्रू १३:५)

९. आफूलाई पूर्णरूपले प्रभु येशू ख्रीष्टको हातमा समर्पण गरिहाल्नुहोस । आफ्नो इच्छा अनुसार तपाईको जीवनलाई अगुवाइ गर्न उहाँलाई अनुमति दिनुहोस । यस रितिले तपाईले साँचो आनन्द प्राप्त गर्नु हुनेछ ।

Sources :

https://angp-hb.co.za/

THE TWO ROADS, ALL NATIONS GOSPEL PUBLISHER, GOSPEL TRACTS.



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...