Saturday, March 11, 2023

प्रभाव : येशू ख्रीष्ट संसारको निम्ति मर्नुभयो !

 


जर्मनीका एकजना चित्रकारले एउटी जवान केटीको चित्र कोरिरहेको थियो । तिनको स्टुडियोमा प्रभु येशू ख्रीष्ट क्रूसमा टाँगिनुभएको चित्र थियो । ती जवान केटीले यस्तो चित्र पहिला कहिल्यै पनि देखेकी थिइनन । उनले उत्सुक हुँदै सोधिरहिन, “त्यो व्यक्ति को हो ?” त्यो चित्रकारले जवाफ नदिने प्रयास गरयो, तर उनले जिद्दी गरिन र अन्तमा उसले अस्पष्ट रूपमा भन्यो, “उहाँ त्यो व्यक्ति हुनुहुन्छ, जो संसारको निम्ति मर्नुभयो ।” “यसरी मर्ने त अति महान व्यक्ति हुनुपर्दछ।” उनले भनिन, “मैले पनि उहाँलाई जान्न पाए हुन्थ्यो ।”

यदि प्रभु येशू ख्रीष्ट संसारको निम्ति मर्नुभयो भने, उहाँ उनको लागि पनि मर्नुभयो भनी उनले महशूस गरिन र विश्वास गरिन, अनि बदलामा उहाँलाई प्रेम गरिन । एक दिन उनले त्यो चित्रकारलाई एउटा सन्देश पठाइन, “म सिकिस्त छु, कृपया म मर्नुभन्दा पहिला आएर मलाई भेट्नुहोस न । म तपाईंलाई भेटेर धन्यवाद दिन चाहन्छु ।”

त्यो चित्रकार आयो र मर्न लागेकी ती केटीलाई भेट्यो, तर उनको अनुहार सिद्ध शान्तिले चम्किरहेको थियो। उनले भनिन, “सर, मलाई प्रभु येशू ख्रीष्टसँग परिचय गराइदिनुभएको लागि म तपाईंलाई धन्यवाद दिन चाहन्छु । म तपाईंको स्टुडियोमा नआउँदासम्म, प्रभु येशू को हुनुहुन्थ्यो भन्ने मलाई थाहै थिएन । त्यहीं नै मैले उहाँको बारेमा केही कुरा सुनें। उहाँ मेरा पापहरूको निम्ति मर्नुभयो भनी अब म जान्दछु । उहाँले मलाई क्षमा दिनुभएको छ र म उहाँकहाँ जाँदैछु भनी म जान्दछु” भन्दै उनले शान्तिसित आँखा चिम्लिन र उनी मृत्युमा निदाइन ।

त्यो चित्रकारले सोच्यो, “कस्तो अनौठो कुरा ! ख्रीष्टको चित्र त मेरो स्टुडियोमा अति धेरै वर्षदेखि झुण्डिरहेको छ तर म भने जस्ताको त्यस्तै छु । उनलाई परिवर्तन गरेको ज्ञानले मलाई परिवर्तन गरेको छैन ।” उसले धेरै बेरसम्म बसेर सोचिरह्यो र अन्तमा क्रूसमा टाँगिनुभएका ख्रीष्टको प्रेमले उसको हृदय भरियो । उसले रुँदै पश्चात्ताप गरयो र विश्वास पनि गरयो । त्यसपछि उसले भन्यो, “अब म प्रभु येशू क्रूसमा टाँगिनुभएको अर्को चित्र कोर्नेछु ।” उसले धेरै महिनासम्म मेहनत गरेर त्यो चित्र तयार पारेपछि त्यसको मुनिपट्टि लेख्यो - “यो सबै मैले तिम्रो निम्ति गरें, तिमीले मेरो लागि के गरेका छौ ?”

वर्षौंपछि, त्यो चित्रकार बितिसकेको थियो र त्यो चित्र जर्मनीको एउटा आर्ट ग्यालरीमा झुण्ड्याइएको थियो । धेरैजना आए, त्यसलाई हेरे र गए। तर काउण्ट जिन्जेन्डर्फ नाम गरेका एकजना मनिस त्यहाँ आए र त्यहाँबाट जानै सकेनन । तिनले घरि-घरि यी शब्दहरू पढे, “यो सबै मैले तिम्रो निम्ति गरे, तिमीले मेरो लागि के गरेका छौं ?"

तिनी त्यो ग्यालरी बन्द नभइञ्जेल घण्टौसम्म त्यहाँ बसे । ख्रीष्ट तिनको निम्ति पनि मर्नुभएको थियो भनी तिनले जीवनमा पहिलो पटक महशूस गरे र त्यहाँ आर्ट ग्यालरीमा नै कसैको पनि वास्ता नगरीकन तिनले घुँडा टेके र आफूलाई ख्रीष्टमा सुम्पिए । पछि तिनले आफ्नो सबै धन र सम्पत्ति सुसमाचारीय कामको लागि दिए । यसरी मोराभियन मिसनको काम सुरु भयो । जिन्जेन्डर्फ त्यो मिसनका संस्थापक भए । मोराभियालीहरूद्वारा नै वेस्ली अमेरिका जाँदै गर्दा नयाँ गरी जन्मिए ।

Sources :
पुस्तक :  “पवित्र त्मा, उहाँको काम र महत्त्व”, बखत सिँह, प्रथम संस्करण : असार २०६८, पृष्ठ नं. १३४-१३५

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...