Saturday, March 11, 2023

बेन-हुर : इतिहासको एक सत्य घटना


सन १९६० मा प्रदर्शित सबैभन्दा लामो तथा बहुचर्चित चलचित्रको नाम हो, “बेन-हूर”। महान रोमी साम्राज्यका शासकहरूले मानवताप्रति पटक्कै सहानुभूति देखाएनन । त्यही समयमा मानिसहरूका पापको निम्ति यातना र मृत्यु सहन येशू ख्रीष्टले यस धर्तीमा आफै जन्म लिनुभयो । त्यसपछि संसारमा नयाँ युग आरम्भ भयो ।

यो पुस्तक र चलचित्रको मुख्य कथावस्तु रोमी सम्राट र येशू ख्रीष्टलाई आधार बनाई तयार पारिएको छ। येशू ख्रीष्टलाई क्रूसमा टांगियो र उहाँ मृत्युमाथि विजय प्राप्त गरेर फेरि जीवित हुनुभयो । बेनहूर एक जवान थिए जसलाई रोमी शासकको अधीनमा रहने कि येशू ख्रीष्टको पछि लाग्ने भनी निर्णय गर्ने महत्वपूर्ण चुनौती आइपरेको थियो । अन्त्यमा वेनहूरले क्रिश्चियन विरोधीहरूको वास्ता नगरी येशू ख्रीष्टमा विश्वास गरे र खीष्टियन भए ।

“बेनहर” का लेखक जनरल ल्यू वालेसचाहिँ प्रसिद्ध नास्तिक कर्नेल रबर्ट जी. इंगरसालका मित्र थिए। इंगरसालले सार्वजनिक रूपमा धर्मको खिल्ली उडाउने गर्दथे । जर्नेल वालेस एरिजोना प्रान्तका राज्यपाल पदबाट अवकाश लिएर फर्किरहेका थिए र रेलमा उनको भेट इंगरसालसित भयो । इंगरसालले भने, “धेरै पढेलेखेका समझदार मानिसहरूले पनि मूर्खतापूर्ण क्रिश्यिचन सिद्धान्तमा विश्वास गर्नु आश्चर्यको कुरा होइन र ? थाह छैन, तिनीहरूले बाइबलका शिक्षाहरूलाई झूटो सम्झेर आफ्नो दिमागवाट कहिले निकालेर फाल्ने होलान ?”

एक्कासी इंगरसालको मनमा एउटा विचार उत्पन्न भयो र उनले जर्नेल वालेसको अनुहारमा नियाल्दै भने, “सर ! तपाईं अति बुद्धिमान हुनुहुन्छ, अनि शिक्षित पनि हुनुहुन्छ । तपाईले येशू ख्रीष्ट र उनको शिक्षाको खोक्रोपना विषयमा एउटा पुस्तक लेख्नुभयो भने कति असल हुनेथियो ! यस किसिमको पुस्तकले तपाईंको नाम सारा संसारभरि फैलाउनेछ र येशू ख्रीष्ट संसारको मुक्तिदाता हुन भन्ने विषयमा फैलिएका झूटहरूको पनि अन्त्य हुनेछ । येशू खीष्टले पृथ्वीमा पाइला टेकेकै छैनन भनेर चित्त बुझ्ने प्रकारले लेख्नुभयो भने त तपाईको पुस्तक सारा संसारमा 'सर्वश्रेष्ठ' ठहरिनेछ ।”

जर्नेल वालेसले आफ्नो घरमा पुगेर बाटोमा भएका सबै कुराहरू आफ्नी पत्नीलाई बताउँदै मने, “मैले क्रिश्चियन धर्मसम्बन्धी सबै शोध-सामग्रीहरू सङ्कलन गरेर एउटा पुस्तक लेख्ने निश्चय गरेको छु । त्यो पुस्तकले क्रिश्चियन धर्मलाई झुटो साबित गरिदिनेछ । यो पुस्तक मेरो जीवनको सबैभन्दा महान कृति हुनेछ र त्यसकै कारणले मेरो नाम सारा संसारभरि फैलिनेछ ।”

जर्नेल वालेसकी पत्नी क्रिश्चियन थिइन। उनका श्रीमानले पुस्तक लेख्दा प्रभु येशू ख्रीष्टको बारेमा सबै सत्यता थाह पाऊन भनी उनले परमेश्वरसंग प्रार्थना गर्न थालिन ।

यस्तो किताब लेखेर नाम कमाउने ठूलो धोको जर्नेल वालेसको मनमा उत्पन्न भयो । वालेसले उक्त पुस्तकका लागि प्राचीन पाण्डुलिपिहरूवाट शोध-सामग्री सङ्कलन गर्न शुरू गरे । त्यसका लागि तिनले विभिन्न देशहरूको पनि भ्रमण गर्नुपर्यो । अनि धेरै वर्षसम्म धेरै मेहनत गरेर र पैसाको खोलो बगाएर तिनले धेरै जानकारीहरू सङ्कलन गरे । त्यसपछि तिनी सारा संसारमा हलचल मच्चाउने पुस्तक लेख्न बसे ।

चार अध्यायहरू लेखिसकेपछि तिनको मनमा अशान्ति छायो । तिनलाई अग्लो छाँगाबाट एक्कासी तल खसेको जस्तो अनुभव भयो । अन्त्यमा तिनले सोचे, “येशू ख्रीष्ट काल्पनिक व्यक्ति होइनन, तिनी ऐतिहासिक व्यक्ति हुन । अझ भन्नुपर्दा, तिनी त ऐतिहासिक व्यक्तिभन्दा पनि महान् हुन । म सत्यलाई कसरी झूट भनुँ ? सेतोलाई कसरी कालो भनूँ ? किन म यति साहै बेइमान र नीच मानिस भएँ ?” तिनले धेरै अनुसन्धान गरिसकेपछि येशू ख्रीष्ट सत्य हुनुहुन्छ भन्ने निश्चय गरे ।

वालेसले आफ्नो विचारलाई सम्हाल्दै भने, “येशू ख्रीष्ट एक ऐतिहासिक व्यक्ति हुनुहुन्छ भन्ने कुरामा विश्वस्त भएपछि मेरो मनमा एउटा प्रश्न उठ्यो । यदि उहाँ वास्तविक मानव हुनुहुन्थ्यो भने, उहाँ परमेश्वरका पुत्र र संसारका मुक्तिदाता पनि हुनुहुन्छ भन्ने कुरामा दुईमत हुन सक्दैन । अझै यो त उहाँ आफैले गर्नुभएको दाबी ही ।”

येशू ख्रीष्ट परमेश्वरका पुत्र र सम्पूर्ण मानव जातिका मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा तिनको हृदयमा अति गहिरो रूपमा गड्यो र येशु ख्रीष्टप्रति तिनमा कुनै शंका बाँकी रहेन । यो ज्ञान पाएको रात कहिल्यै पनि बिर्सन सक्दिन भनी ल्यू वालेस भन्दछन । यसरी सोच्दा-सोच्दै तिनको हृदय पछुतो, ग्लानि र दुःखले भरियो । येशू ख्रीष्टलाई झूटो साबित गर्न तिनी लागि परेका थिए । तर ५० वर्षको उमेरमा तिनले प्रभु येशु ख्रीष्टको चरणमा घुँडा टेके, आफ्ना सबै पापको क्षमा मागे र प्रभु येशु खीष्टलाई आफ्ना व्यक्तिगत मुक्तिदाता भनी ग्रहण गरे।

यही अवस्थामा छटपटाउँदै त्यो रात बित्यो र उज्यालो भयो । तिनले बिहान सबैरै आफ्नी पत्नीकहाँ गएर सबै कुराहरू बताए । तिनको अनुहार चम्किरहेको जस्तो देखिन्थ्यो । श्रीमती वालेस खुशीले नाच्न थालिन र भनिन, “प्रिय श्रीमान ज्यू, मेरा श्रीमानले प्रभु येशू ख्रीष्टलाई मुक्तिदाता भनी ग्रहण गरून भनेर मैले परमेश्वरसँग प्रार्थना गरिरहेकी थिएँ ।” त्यस बिहान पति-पत्नी दुवैले घुँडा टेकेर परमेश्वरलाई धन्यवाद चढाए । जीवनमा पहिलो पटक दुवैले नयाँ आनन्दको अनुभव गरे ।

जर्नेल वालेसले आफ्नी पत्नीसँग सोधे, “मैले यति धेरै मेहेनत र खर्च गरेर सङ्गलन गरेको शोध-सामग्रीलाई अब म के गरु ?” पत्नीले भनिन, “अब के गर्ने अरे ? पहिला लेख्नु भएका चार अध्यायलाई फेरि लेख्न शुरू गर्नुहोस र सारा शोध-सामग्री प्रयोग गरेर प्रभु येशू ख्रीष्टले दाबी गर्नुभएका सबै कुराहरू साँचो र सत्य हुन भन्ने कुरा साबित गर्नुहोस । येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ, र उहाँ मानिसहरूका पाप मोचन गर्न तथा मुक्ति दिनको निम्ति यस धर्तीमा आउनुभयो भन्ने कुराको प्रमाण संसारका मानिसहरूलाई देखाइदिनुहोस ।”

प्रभु येशू ख्रीष्टलाई झूटो तुल्याउने उद्देश्य लिई वर्षौंसम्म अनुसन्धान गर्दा भेट्टाएका तथ्यहरूलाई प्रयोग गरेर जर्नेल ल्यू वालेसले अर्को पुस्तक लेखे । त्यो पुस्तकको नाम हो, “बेन-हूर” !

तपाईंले पनि जर्नेल ल्यू वालेसले जस्तै येशू ख्रीष्टको बारेमा गलत धारणा लिइराख्नुभएको छ भने सत्यता थाह पाउने कोशिश गर्नुहोस र उहाँ नै साँचो मुक्तिदाता हुनुहुन्छ भनी विश्वास गरेर नयाँ जीवन तथा असीम आनन्दको अनुभव गर्नुहोस ।

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...