Wednesday, January 4, 2023

के बाइबल आधुनिक विज्ञानभन्दा अगाडि छ ?

 



आजकाे याे वैज्ञानिक युगमा मानिसहरूले वैज्ञानिक तवरले प्रमाणित तथ्यहरूमा मात्र आफ्नाे विश्वास राख्न खाेज्दछन। एक समय विज्ञानले भन्दथ्याे कि बाइबलमा धेरै अवैज्ञानिक र बेठीक कुराहरू छन तर वास्तबमा बाइबलमा विज्ञानसँग बेमेल हुने कुनै कुराहरू छैनन। यदि कुनै कुराहरू विज्ञानसँग नमिले जस्तो देखिन्छ भने पनि त्यसको कारण विज्ञानकाे उपयुक्त ज्ञानको कमी नै हाे। याे कुरा साँचाे हाे कि बाइबल विज्ञानकाे पाठ्य पुस्तक चाँही हाेइन र यसमा वैज्ञानिक शब्दहरू प्रयोग भएका छैनन तापनि बाइबललाई अवैज्ञानिक भन्न मिल्दैन।

बाइबल परमेश्वरकाे प्रेरणाबाट लेखिएको हाे भन्ने विषयमा दह्रा प्रमाणहरु मध्ये एक प्रमाण चाहिँ बाइबलका पृष्ठहरू भित्र हजारौं बर्षदेखि लुकेर रहेका वैज्ञानिक तथ्यहरू हुन, जुन हालैका शताब्दीहरूमा वैज्ञानिकहरूद्धारा पत्ता लगाइदैछन। यस लेखमा पवित्रशास्त्र बाइबलमा उल्लेख केही यस्ता वैज्ञानिक तथ्यहरू उल्लेख गरिएका छन जसलाई विज्ञानले पछिबाट पत्ता लगायो।

1. जल विज्ञान (Hydrology)
जब विज्ञानले पृथ्वीकाे पानीकाे अध्ययन गर्दछ, पानी पृथ्वीकाे सतहबाट बाष्वीकरण विधीद्धारा वायुमण्डलमा जान्छ र बादलसित मिल्छ अनि फेरि पानी र हिउँकाे रूपमा पृथ्वीमै झर्दछ। याे पानीको चक्रले संसारलाई सत्राैं शताब्दीमा अचम्ममा पार्यो।


अय्यूब 36:27
“उहाँले समुद्रबाट पानीको थोपा खिँच्‍नुहुन्‍छ(बाष्वीकरण),  र आफूले बनाउनुभएको मेघबाट झरी बर्साउनुहन्‍छ(द्रबिकरण)।”

भजनसंग्रह 135:7
“उहाँले पृथ्‍वीका सीमानाको छेउबाट बादल उठाउनुहुन्‍छ, उहाँले वर्षासित बिजुली पठाउनुहुन्‍छ...।”

पानीकाे बाफ माथि जान्छ र पानी तल झर्दछ - पानीकाे चक्र। यसकारण परमेश्वरले पानीकाे चक्र बनाउनु भयो र उहाँले नै त्यसको व्याख्या गर्नुभयो।

2. भु-आकार विज्ञान (Geodesy)
यसले पृथ्वीकाे आकारकाे अध्ययन गर्दछ। शुरू शुरुमा पृथ्वी थाल जस्तै चेप्टो भएको विश्वास गरिन्थ्यो। सत्राैं शताब्दीसम्म यसै विचारलाई ग्रहण गरिएको थियो। तर पृथ्वीकाे गाेलाे आकारकाे बारेमा यशैया 40:22 मा पहिले नै उल्लेख गरिएको थियो।
यशैया 40:22
“उहाँ(परमेश्वर) तिनै हुनुहुन्छ जाे पृथ्‍वीको गाेलाइ भन्‍दा उच्चमा विराजमान हुनुहुन्छ...।”
यस पदमा गाेलाइ शब्द हिब्रु भाषाकाे 'खग' काे अनुवाद हाे, जसको अर्थ - 'भकुण्डो जस्तो' हुन्छ।

3. खगाेल शास्त्र (Astronomy)
सत्राैं शताब्दीमा केप्लर र ग्यालिलीयाे जस्ता वैज्ञानिकहरूले आधुनिक खगोल शास्त्रकाे जन्म गराए। आधुनिक खगोल शास्त्रकाे सबैभन्दा आश्चार्य लाग्दाे कुरा चाहिँ साैर्य-मण्डलकाे असीम आकारमा रहेको विविधता हाे। आधुनिक खगोल शास्त्रले संसारमा खरबाैं आकाशगंगाहरू भएकाे अनुमान गरेका छन। ती मध्ये एक “मिल्कि वे” हाे। हाम्रो आकाश गंगामा मात्र पैंतीस कराेड साैर्य-मण्डलहरू, तिनिहरूका सुर्यहरू, ग्रहहरु र उपग्रहहरुका साथमा र 100 अरब ताराहरू भएको विवरण दिइएको छ।

यर्मिया 33:22
“जसरी आकाशका ताराहरू गन्‍न सकिँदैन...।”
विज्ञानले एक पटक ताराहरू गन्ने प्रयत्न गर्याे तर अहिले तिनिहरूले आजकाे अत्याधुनिक यन्त्रहरूद्दारा पनि याे असम्भव छ भनी निर्णय गरेका छन।

भजनसंग्रह 19:6
“आकाशको(पृथ्वीकाे हाेइन) एक छेउमा उसको(सुर्यकाे) उदय हुन्‍छ, र अर्को सीमासम्‍म परिक्रमा गर्छ। त्‍यसको तापबाट केही कुरा लुकेर रहँदैन।”

याे ठाेकुवा गरिएकाे थियो कि भजनकाे लेखकले यहाँ सुर्य पृथ्वीकाे वरिपरि घुम्दछ भन्ने पुरानाे विचारलाई विश्वास गर्दछन। तर भजनकाे लेखकका शब्दहरूमा गहिरो अर्थ लुकेको थियाे। हालै मात्र खगाेल शास्त्रीहरूले पत्ता लगाएका छन कि सुर्य, यसको सम्पुर्ण साैर्यमण्डलकाे साथमा वास्तवमा घुम्दछ। सुर्य अन्तरिक्षमा 720000 माईल प्रति घन्टा तीब्र गतिमा एक अति विशाल कक्षमा घुम्दछ र एक चक्कर घुम्नलाई यसलाई 20 लाख शताब्दी समय लाग्दछ।
अय्यूब 26:7
“उहाँले(परमेश्वरले) खाली ठाउँमा उत्तरीय आकाशलाई फैलाउनुहुन्‍छ, र शून्‍यतामा पृथ्‍वीलाई झुण्‍ड्याउनुहुन्‍छ।”

सर आइज्याक न्युटनले सत्राैं शताब्दीमा गुरूत्वाकर्षण शक्ति पत्ता लगाए, जसले ग्रहहरूलाई रित्तो अन्तरिक्षमा अडाउँदछ। यदि सुर्यले अदृश्य गुरूत्वाकर्षण शक्तिले पृथ्वीलाई निर्धारित कक्षमा अडाई राखेन भने पृथ्वी अथाह अन्तरिक्षमा हुर्रिदैं जाने थियो र कतै ठूलो कुनै तारासँग ठाेक्किएर नष्ट हुने थियाे। तर यस्तो पनि हुनेछ -
“ती सङ्कष्‍टका दिनको तुरुन्‍तै पछि, सूर्य अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले आफ्‍नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्‍नेछन, तथा आकाशका शक्तिहरू(गुरूत्वाकर्षण शक्ति) हल्‍लाइनेछन।” (मत्ती 24:29)
जबसम्म ती शक्तिहरू डगमगाउदैनन तबसम्म आकाशबाट ताराहरू खस्ने सम्भावना नै रहँदैन।

4. वायु विज्ञान (Meteorology)


वायु विज्ञानले वायुकाे प्रवाहको अध्ययन गर्दछ। सत्राैं शताब्दीमा ग्यालिलीयाेले हावाकाे पनि परिपथ हुन्छ भनी पत्ता लगाए। याे कुरा उपदेशक 1:6 मा पहिले नै लेखिएको थियो -
“बतास दक्षिणतिर बहन्‍छ, अनि उत्तरतिर फर्कन्‍छ। त्‍यो सधैँ आफ्‍नै चक्‍करमा फर्केर घुमिरहन्‍छ।”
वायु विज्ञानले पत्ता लगाउन यति लामो समय लिएको कुरालाई बाइबलले पहिले नै जानेकाे थियाे।
याे भन्दा अगाडि कुनै वैज्ञानिकले पनि हावाकाे ताैल हुन्छ भन्ने कुरा जान्दैनथे तर अय्यूब 28:25 ले भन्छ - “परमेश्‍वरले बतासलाई ताैल(नेपाली बाइबलमा शक्ति) दिनुभयो...।”
कस्तो अचम्मकाे वाक्य, वास्तवमा विज्ञानले बाइबलमा भएका तथ्यहरूलाई बल्ल अहिले पत्ता लगाउँदैछ।

5. जीव विज्ञान (Biology)

क) आकृति विज्ञान
हाम्रो शरीर अचम्म रीतिले बनेको छ। यसमा विभिन्न किसिमका असंख्य काेषहरू छन। यी काेषहरू मिलेर विभिन्न किसिमका तन्तुहरू बनाउँदछन र तन्तुहरू मिलेर अंगहरू बन्दछन। विभिन्न अंगहरू मिलेर विभिन्न प्रणालीहरु बनाउँदछन र यी सबै प्रणालीहरु मस्तिष्ककाे अधिनमा एक अर्कासँग संयाेजित रूपमा आश्चार्यजनक छन। यस शरिरकाे सृष्टिकर्ताले भजनका लेखकलाई यी पदहरू लेख्नलाई प्रेरणा दिनुहुन्छ -
भजनसंग्रह 139:13-14
“किनकि तपाईंले नै मेरा भित्रका अङ्ग-प्रत्‍यङ्ग बनाउनुभयो,  तपाईंले मलाई मेरी आमाको गर्भमा रच्‍नुभयो।
म तपाईंको प्रशंसा गर्छु,  किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु।”

ख) क्रिया विज्ञान (Physiology)
सन 1628 मा विलियम हर्वेले रक्त संचार प्रणालीलाई जीवनकाे आधारकाे रूपमा पत्ता लगाएपछि, मानिसहरूले थाहा पाए कि रगतले नै एक ब्यक्तिलाई जीवित राख्ने रहेछ। जीवनको निरन्तरता शरीरको हरेक भागहरूमा काेषहरूमा अक्सिजन, पानी र पाैष्टिक तत्वहरूकाे निरन्तर प्रबाह र परिपुर्तिमा निर्भर गर्दछ। याे अत्यावश्यक कार्य रगतद्दारा नै हुँदछ। रगतले शरीरको तापक्रमलाई पनि नियन्त्रण गर्दछ। माेसाले रगतकाे याे जीवन दायक गुणलाई जान्दथे र विज्ञानले पत्ता लगाउनुभन्दा 3000 बर्ष पहिले नै उनले याे कुरा लेखेका थिए -
लेवीहरू 17:11
“किनकि जीवधारीको प्राण त्‍यसको रगतमा हुन्‍छ...।”

ग) जीव-रासायन शास्त्र (Bio-Chemistry)
जहाँ सम्म आधारभुत तत्वहरूलाई लिइन्छ, पृथ्वीकाे माटाे र मानिसकाे शरीरमा असामान्य समानता भएको पाइन्छ। हाम्रो शरीरकाे ताैल लगभग दुई तिहाइ भाग पानी छ। त्यसकारण हाइड्रोजन र अक्सिजनकाे प्रतिशत हाम्रो शरीरमा, मानव शरिरमा ताैल अनुसार कार्बन र नाइट्राेजन हुन्छ। बाँकी थाेरै मात्रामा खनिज पदार्थहरू हुन्छन।
माटोको मुख्य तत्वहरू हुन - अक्सिजन, सिलिकन, आल्माेनियम, फलाम, क्याल्सियम, म्याग्नेसियम, साेडियम, पाेटासियम, हाइड्रोजन, सल्फर, फस्फाेरस, नाइट्राेजन, र अरू खनिज लवनहरू।
उत्पत्ति 2:7
“परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयाे...।”
जब मरेकाे शरीरलाई गाडिन्छ, माटाेमा हुने ब्याक्टेरिया, फन्जाई जस्ता सुक्ष्म जिवाणुहरूले शरीरलाई विच्छेदन गर्दछन र यसका तत्वहरू माटोमा मिल्दछन। वास्तवमा शरीर नै माटाे बन्दछ।
उत्पत्ति 3:19
“माटैबाट तँ निकालिएको थिइस।  तँ माटै होस र माटैमा फर्किजानेछस।”
याे पदले ब्याक्टेरियाले ल्याउने विच्छेदन क्रीयालाई जनाउँछ जुनकि उन्नाइसौं शताब्दीमा मात्र पत्ता लगाइएको थियाे।

घ) काेशिका विज्ञान (Cytology)
बाइबलले काेशिका विज्ञानको खाेजलाई पनि पूर्वाेल्लेख गरेकाे छ।
पहिलो काेरन्थी 15:39 मा पावलले बिसाैं शताब्दीकाे खाेजलाई पूर्वाेल्लेख गरेका छन।
शरीरका सबै काेषहरू एकैनासका छैनन। शरीरमा मस्टिष्ककाे काेषहरू, रक्त काेषहरू आदी छन, तापनि यी सबै काेषहरूमा क्रोमोजोमको संख्या बराबर हुन्छन। यसरी मानव शरीरका काेषहरू जनावरका काेषहरू भन्दा भिन्दै हुन्छन। प्रत्येक प्राणीकाे हरेक काेषमा क्रोमोजोमको एक निश्चित संख्या रहन्छ।
आधुनिक विज्ञानको आविष्कार “एन्टीह्युमन प्रेसिपिटेशन” एक यस्तो रसायन हाे, जसले रगतको केही थाेपालाई मानिसको या जनावरको भनी छुट्याउन सक्छ। यदि त्याे जानवरकाे रगत भए त्याे कुन जानवरकाे रगत हाे साे पनि छुट्याउन सक्छ।
१ कोरिन्थी 15:39
“सबै शरीर एकै किसिमका हुँदैनन। मानिसको शरीर एक किसिमको, र जीवजन्‍तुहरूको अर्कै किसिमको, चराहरूको अर्कै किसिमको र माछाहरूको अर्कै किसिमको शरीर हुन्‍छ।”

6. औषधि विज्ञान (Medical Science)
सन 1953 मा औषधि विज्ञानले मानसिक स्थितिकाे कारणले हुने शारीरिक राेगहरू पत्ता लगायाे। मस्तिष्कको उत्तेजना केन्द्रबाट स्नायु तन्तुहरू शरीरको सम्पूर्ण भागमा फैलिएका हुन्छन। यस किसिमको घनिष्ट सम्पर्ककाे कारणले कुनै उत्तेजना र चिन्ताले शरीरमा प्रभाव पारेर टाउको दुख्ने देखि लिएर पैताला झम्झमाउने र अझै भयानक राेगसम्म पनि उत्पन्न गराउन सक्छ। उत्तेजना केन्द्रले तीन किसिमको राेग उत्पन्न गराउँदछ -
क) शरीरमा रक्त प्रवाहलाई असर पारेर
ख) ग्रन्थीहरूकाे स्राव प्रवाहलाई असर पारेर
ग) मांसपेशीलाई असर पारेर
बाइबलले यी सबैको पूर्वाेल्लेख गरेको छ। परमेश्वरले जान्नुहुन्थ्याे कि स्वास्थ्यकाे लागि हाम्रो उत्तेजना र मनस्थिति धेरै महत्त्वपूर्ण छन।
हितोपदेश 16:24
“मीठा वचनहरू महका चाकाहरूजस्‍तै हुन, जसले प्राणलाई मिठास दिन्‍छ, र हड्डीहरू निको पार्छ।”
परमेश्वर जान्नुहुन्थ्याे कि रिस, आलाेचनाले हाम्रो शारीरिक स्वास्थ्यलाई असर पार्न सक्छ।
हितोपदेश 17:22
“प्रसन्‍न हृदयले हँसिलो अनुहार देखाउँछ, उदासी मनले मानिसको बल शाेषण गर्छ।”
खुशी मन स्वास्थ तन, उदास मन अस्वस्थ तन।

यसरी बाइबलमा विज्ञानका थुप्रै तथ्यहरू पुर्वाेल्लेख भएका पाईन्छ। प्राचीनकालका मानिसहरूले बाइबलमा लेखेका कुराहरूलाई आज हामीहरूले अत्याधुनिक अनुसन्धानका उपकरणहरूद्वारा पत्ता लगाउँदैछाैं। आधुनिक वैज्ञानिक खाेजहरूले बाइबलका सत्यहरूलाई पुष्टि गर्दैछन। विज्ञानकाे विकास हुँदैछ, बद्लिदैछ तर बाइबल कहिल्यै नबद्लिने र अचुक छ।
त्यसकारण बाइबल परमेश्वरकाे प्रेरणाबाट लेखिएको अचुक र सत्य परमेश्वरकाे वचन हाे।

* बाइबलमा विज्ञानकाे पूर्वाेल्लेख

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...