बाइबल एउटा यस्तो पुस्तक हाे, जसले मानव जीवन सम्बन्धि हरेक प्रश्नहरूकाे चित्तबुझ्दो उत्तरहरू दिन्छ । यसकारण मानव इतिहासमा पुस्तक सम्बन्धि हरेक क्षेत्रमा बाइबल सबैभन्दा अगाडि छ । यसलाई विश्वभरका कराेडाैं-अरबाैं मानिसहरूले प्रेम गर्दछन, किनकि बाइबल एकमात्र जीवित परमेश्वरकाे वचन हाे । बाइबलले सबै बिषयमा सम्बाेधन गर्ने भएकाेले यसलाई पुस्तकहरूकाे राजा पनि भनिन्छ ।
बाइबल एउटा अद्वितीय पुस्तक पनि हाे । अद्वितीयकाे अर्थ 'एकमात्र', 'सबैभन्दा अलग', 'जसको तुलना कसैसँग गर्न सकिदैन' भन्ने हुन्छ । बाइबल कुन-कुन बिषयहरूमा र के-के कारणले अरू पुस्तकहरू भन्दा अद्वितीय छ, भन्ने कुरामा हामीले क्रमशः हेर्नेछाैँ ।
1. शिक्षामा बाइबल अद्वितीय छ ।
आज प्रायः मानिसहरुले बाइबललाई एक धार्मिक पुस्तकको रुपमा मात्र हेर्ने गर्दछन । तर यस पुस्तकले जीवनको हरेक विषयमा, हरेक क्षेत्रमा र हरेक परिस्थितिको बारेमा शिक्षा दिने काम पनि गरेको छ ।
बाइबलमा हामीले इतिहास, काव्य, गीत, प्रेम, जीवनी, आत्मकथा, नियम-कानुन, भबिस्यबाणी, दृष्टान्त इत्यादि बिषयहरू लेखिएको पाउँछौं । यसकारण जसले बाइबल पढ्छ, त्यसले थुप्रै विषयहरूकाे बारेमा एकसाथ अध्ययन र ज्ञान हासिल गर्दछ । बाइबलकाे यस्तो अद्भुत विशेषताहरूलाई बुझेको कारणले गर्दा नै एकपटक अमेरिकाका भूतपूर्व राष्ट्रपति थियाेडाेर रूजरभेलटले भनेका थिए, “बाइबलकाे पर्याप्त ज्ञान कुनै कलेजकाे शिक्षाभन्दा बहुमुल्य छ ।”(1)
बाइबलले मुख्यतः परमेश्वरकाे स्वभाव, मानिसको सृष्टि, जन्म, मृत्यु, सारा विश्वको सृष्टिदेखि अन्त्यसम्म मात्रै हाेईन, तर आउनेवाला नयाँ संसारको बारेमा पनि स्पष्ट तरिकाले बताएको छ । जस्तै:
* मानिसको शुरुवात कहिले र कसले गर्यो ?
* मानिसको सृष्टि कसरी भयो ?
* मानिसको जीवनको उद्देश्य के हो ?
* मानिसको नैतिक स्तर कस्तो हुनुपर्दछ ?
* मानिसको जीवनमा दु:ख-कष्ट र रोगहरु किन आउँछन ?
* मानिस किन मर्नु पर्दछ ?
* मृत्युपछि जीवन छ कि छैन ?
* संसारमा विभिन्न भाषाहरुको शुरूवात कसरी भयो ?
* संसारका ठूला-ठूला साम्राज्यहरुको शुरुवात र पतन कसरी भयो ?
* भविष्यमा कसको साम्राज्य आउँदैछ ?
* यो वर्तमान संसारको अन्त्य कसरी हुनेछ ?
यस्तै-यस्तै अनगिन्ती जीवन सम्बन्धी प्रश्नहरूको चित्तबुझ्दो जवाफहरु केवल बाइबलले मात्र दिनसक्छ । यी शिक्षाहरू कुनै मानिसको कल्पना या विचारमा आधारित छैनन, तर याे त कहिल्यै गल्ती नगर्नुहुने पवित्र र सिद्ध परमेश्वरकाे जीवित वचन हाे । यसकारण बाइबल शिक्षा दिने कुरामा अरु पुस्तकहरुभन्दा अद्धितिय छ ।
2. मानिसको जीवन परिवर्तन गर्नमा बाइबल अद्वितीय छ ।
बाइबललाई पढेर या बाइबलको शिक्षाहरू सुनेर मानिसहरूले पाप क्षमा पाएका छन, बिरामीहरू निको भएका छन, अन्धाहरू देख्ने भएका छन, बहिराहरु सुन्ने भएका छन, भुतात्मा लागेकाहरुले छुटकारा पाएका छन, तुना-मुनाकाे बन्धनदेखि मुक्त भएका छन, मरेकाहरू पनि जीवित भएका छन, माफियाहरू, चोरहरु, गुण्डाहरु अब गलत काम गर्दैनन, झगडालुहरु अब झगडा गर्दैनन, धुम्रपान र मध्यपान गर्नेहरू नशामुक्त भएका छन, यस्ता अनगिन्ती उदाहरणहरू हामीले हाम्रो समाज र विश्वव्यापी रुपमा स्पष्ट देख्न र अनुभव गर्न सक्छौँ ।
बाइबल एउटा यस्तो पुस्तक हाे, जसले विश्वव्यापीरुपमा लाखौं र करोडौं मानिसहरुकाे जीवनलाई परिवर्तन गर्न सफल भएको छ । यसले अनेकौं राज्य र देशहरूलाई पनि परिवर्तन गरिदिएको छ, यसको मुख्य कारण याे हाे कि याे पुस्तक परमेश्वरकाे आत्माकाे प्रेरणाबाट लेखिएको परमेश्वरकाे सर्वाधिकार वचन हाे ।
आज पापले मानिसकाे जीवनलाई भ्रष्ट पारे तापनि अझै परमेश्वरको वचन जीवित र क्रियाशील भएको कारण यसले एक पापी मानिसलाई पुन: नयाँ सृष्टि बनाएर परमेश्वरको स्वरुपमा बदल्न सक्छ । “...किनकि यो जीवित र क्रियाशील छ ।” (हिब्रू 4:12)
आज संसारमा असल शिक्षा र ज्ञान दिने पुस्तकहरु प्रशस्तै पाउन सक्छौं, तर बाइबलले मात्रै पापले भ्रष्ट पारेको जीवनलाई परिवर्तन गर्न सफल भएको छ । यी कुराहरु हामीले विश्व इतिहास र हाम्रो समाजमा घटिरहेका परिवर्तनहरूले स्पष्ट पारिरहेको छ । केही उदाहरणहरू -
युरोप : एक समय युरोपेली मानिसहरु नरभक्षी, धुम्रपान-मध्यपान, लडाईं-झगडा र मुर्तिपुजामा सबैभन्दा अगाडि भएका असभ्य समुदाय कसरी तिनीहरूको हातमा बाइबल आएपछि संसारकै सभ्य, समृद्ध, बुद्धिजीवी र उच्चस्तरीय जीवनमा परिवर्तन भए । त्यो हामीले भनिरहनु पर्दैन तर तिनीहरु आफैं भन्छन ।
इङ्गल्याण्ड : मूर्तिपूजा गर्ने इङ्गल्याण्ड देशले आफ्नो मूर्ति पूजा त्यागी सभ्यताको बाटाेमा हिँड्न लगाउने प्रेरणा बाइबलले नै दिएको थियो । एकपटक अफ्रिकी राजदूतले भिक्टोरिया महारानी सामु एउटा प्रश्न राखे, “संसारभरी नै तपाईंको राष्ट्रकाे शक्ति र सफलताको रहस्य के हो ?”
तब आफ्नो तेबुलमाथि भएको बाइबललाई उठाउँदै उनले उत्तर दिईन, “इङ्गल्याण्डको सफलताको रहस्य यही पुस्तक हो ।”(2)
जर्मन : आदिकवि गोठेद्वारा जर्मनीले पनि भनेको थियो, “जर्मनीको स्वतन्त्रता र जर्मनीको महानताको कारण बाइबल नै हो । जर्मनी भाषाको सारा शक्ति, देशका सबै महान पुरुषहरु र राजकीय वृद्धि जर्मनी देशकाे जनताले हातमा बाइबल पाएको देखि नै शुरु भयो ।”(3)
अमेरिका : प्रजातन्त्रको गढी भनेर चिनिने “संयुक्त राज्य अमेरिकाको उन्नतिको जग र स्रोत बाइबल नै हो”(4) भनी हामीले भनिरहनु पर्दैन तर तिनीहरु आफैले बारम्बार भन्ने गर्दछन ।
दक्षिण कोरिया : हाम्रै एशिया महादेशको एउटा देश दक्षिण कोरिया पनि एक समय गरिबी, गृहयुद्ध, भोकमरी र अनिकालमा गुज्रिरहेको थियोे । तब तिनिहरूकाे निम्ति कुनै आशा नै थिएन । जब तिनीहरूकाे हातमा बाइबल आयाे, तब तिनीहरूको जीवन परिवर्तन हुन थाल्यो । याे अद्भुत परिवर्तनको बारेमा पनि हामीले भनिरहनु पर्दैन तर तिनीहरू आफै भन्ने गर्दछन । अहिले त्यो देश विकासमा तीव्र गतिमा अघि बढिरहेको छ । अहिले हाम्रो देश नेपालबाट हजारौं युवाहरुलाई उच्चस्तरीय तलबमा रोजगारीकाे निम्ति त्यहाँ लगिरहेकाे छ । आज नेपालमा डिग्री पढेका युवाहरूको लागि पनि त्यो देश आकर्षणको केन्द्रविन्दु बनेको छ ।
नागाल्यान्ड : छिमेकी देश भारतको नागाल्यान्ड राज्यका नागाहरु, जो एक समय अति असभ्य साथै नरभक्षी (मान्छेको मासु खाने जाति) थिए । तर पछि तिनिहरूले पनि बाइबलले देखाएको जीवन जीउन थालेपछि सभ्य जीवन जिउन थाले । यो तिनीहरूको इतिहास पढ्दै गर्दा थाहा लाग्नेछ । अहिले नागाल्यान्ड 80% साक्षर प्रदेशको रुपमा स्थापित भएको छ ।
बाइबलका घाेर बिराेधीहरू, नास्तिकहरु, कम्युनिष्टहरु, अज्ञयतावादीहरु, वैज्ञानिकहरु, कट्टर जीहादिहरु, कट्टर पन्थीहरू, अतिवादीहरु, कुलतमा फसेकाहरु, गलत काम गर्नेहरु, शैतानका आराधना गर्नेहरु, समलिङ्गीहरू, माफियाहरु, गुन्डाहरु र तिनीहरूको नाइकेहरु साथै संसारमा विभिन्न धर्म मान्ने अनुयायीहरूको जीवन पनि बाइबलले नै परिवर्तन गरिरहेको छ ।
बाइबलले मानिसको जीवन नै परिवर्तन गर्ने हुनाले ती परिवर्तित मानिसहरूले मात्र देशलाइ पूर्ण रुपमा परिवर्तन गरी सुन्दर बनाउन सक्छन । आज व्यक्ति, परिवार, समाज, प्रान्त र राष्ट्रलाई गलत मार्गबाट फर्काई, असल मार्गमा डोर्याउने काम बाइबलले नै गरेको छ ।
सरकार बदल्दैमा, पैसाको खोलो बगाउँदैमा साँचो विकास हुन सक्दैन । साँचो विकासको लागि मानिसहरूको जीवन परिवर्तन हुनैपर्छ । बाइबलको प्रत्येक वचनमा जीवन र शक्तिसँग छ । यी बचनले विश्वासद्वारा हृदयमा ठाउँ पाए भने त्यस व्यक्तिको जीवन बदलि हुनेछ । परमेश्वरको वचन बाइबलद्वारा परिवर्तित भए नैतिक र सुधार आउनु नै उन्नतिको चाबी हो । यसकारण बाइबल जीवन परिवर्तन गर्ने काममा अरु पुस्तकहरुभन्दा अद्वितीय छ ।
3. वैज्ञानिक सत्यतामा बाइबल अद्धितीय छ ।
आजको यो वैज्ञानिक युगमा मानिसहरुले वैज्ञानिक तवरले प्रमाणित तथ्यहरुमा मात्र आफ्नो विश्वास राख्न खोज्दछन । एक समयमा विज्ञानले भन्थ्याे कि बाइबलमा धेरै अवैज्ञानिक र बेठीक कुराहरु छन, तर वास्तवमा बाइबलमा विज्ञानसँग बेमेल हुने कुनै कुराहरु छैनन । यदि कुनै कुराहरु विज्ञानसँग नमिले जस्तो देखिन्छ भने पनि त्यसको कारण मानिसको उपयुक्त ज्ञानको कमिले नै हो ।
बाइबल अरु पुस्तकहरुभन्दा फरक छ, र यो नै एकमात्र परमेश्वरको प्रेरणाबाट लेखिएको हो भन्ने विषयमा दह्रा प्रमाणहरु मध्ये एक प्रमाण चाहिँ बाइबलका पृष्ठहरू भित्र हजारौं वर्षदेखि लुकेर रहेका वैज्ञानिक तथ्यहरू हुन, जुन हालैका शताब्दीहरुमा वैज्ञानिकहरुद्वारा पत्ता लगाईदैछन । उदाहरणको लागि :
* सम्पूर्ण विश्वको शुरुवात छ । (उत्पत्ति 1:1)
* पृथ्वी विना सहारा शुन्यतामा झुण्डिएको छ । (अय्युव 26:7)
* पृथ्वीकाे आकार गोलो छ । (यशैया 40:22)
* हावाको पनि तौल हुन्छ । (अय्युव 28:25)
* जीवले उही प्रकारको जीवलाई मात्र जन्म दिन्छ । (उत्पत्ति 1:24)
* मानिसकाे शरीर पृथ्वीको माटोबाट बनाइएको छ । (उत्पत्ति 2:7)
* शरिरकाे प्राण रगतमा हुन्छ । (लेबी 17:11)
* पानीको एउटा चक्र हुन्छ । (अय्युव 36:27-28, 26:8)
* हरेक जीवित प्राणीको कोष अलग-अलग हुन्छन । (1 काेरिन्थि 15:41)
* याे सृष्टि अदृश्य तत्वहरूबाट बनेको छ । (हिब्रू 11:3)
यी माथिका वैज्ञानिक सत्यताहरु र खाेजहरू परमेश्वरकाे आत्माले आफ्ना सेवकहरूद्वारा बाइबल पृष्ठहरूमा हजारौं बर्ष पहिले नै लेखिदिनुभएको थियाे । आज वैज्ञानिकहरूले त्यसलाई खाेजेर, अनुसन्धान गरेर बाइबलका वचनहरू सत्य रहेछ भनी मानिलिएका छन ।
यसकारण बाइबल एकमात्र पुस्तक हो, जुन आधुनिक वैज्ञानिक र चिकित्सा अनुसन्धानको साथमा छ । बिज्ञानकाे विकास हुँदैछ, बदलिँदैछ तर बाइबल कहिल्यै नबदलिने र अचुक छ । यसकारण बाइबल परमेश्वरकाे प्रेरणाबाट लेखिएको अचुक र सत्य परमेश्वरकाे वचन हाे । यसैले बाइबल वैज्ञानिक सत्यतामा अरु पुस्तकहरूभन्दा अद्वितीय छ ।
4. अवशेषमा बाइबल अद्धितीय छ ।
बाइबल एउटा यस्तो पुस्तक हाे, जसले निकै सतावट र विराेध भाेगेकाे छ, तर याे इतिहासमा नष्ट नभई आज हाम्रो हातसम्म आइपुगेको छ । यो परमेश्वरको सुरक्षाको प्रष्ट साक्षी हो । इतिहासमा बाइबलले जुन सतावट भोग्यो, यदि त्यो अरु पुस्तकहरूले भोगेर भए कुनै पनि पुस्तक आज अस्तित्वमा हुने थिएन ।
बाइबल समय, सतावट र आलाेचना गरि मुख्यतः तीनवटा परिस्थितिबाट गुज्रिएको छ । शैतानले त्यसका सारा युक्तिहरू बचनकाे विनाशकाे निम्ति खन्याईएकाे छ ।
संसारका थुप्रै धर्म ग्रन्थहरू पुर्ण रूपमा नष्ट भईसके, तर बाइबल एउटा यस्तो पुस्तक हाे, जाे युगहरू बितेर गए तापनि नश्त भएको छैन । बाइबल संसारकै सबैभन्दा पुरानो पुस्तक भएको कारणले यसलाई पहिले ढुङ्गामा, त्यसपछि रूखको बोक्रामा, जनावरको छालामा, त्यसपछि बल्ल छापाखानामा लेख्न थालियाे । यतिका युगहरू बितेर गए पनि परमेश्वरकाे वचन अहिलेसम्म अस्तित्वमा रहिरहेकाे छ र यसमा कुनै परिवर्तन पनि भएको छैन । समयले पनि बाइबललाई नष्ट गर्न सकेन ।
बाइबल आफ्नाे शत्रुहरूकाे दाेषपुर्ण आक्रमणहरूबाट पनि आजसम्म स्थिर रहेको छ । धेरैले यसलाई जलाएर यसको अस्तित्वलाई नश्त गर्न खाेजे, यसलाई अध्ययन गर्न कडा प्रतिबन्ध लगाईयाे । राेमी साम्राज्यकाे समयमा पनि यसलाई पुर्णतया नाश गर्ने प्रयास गरियो । कम्युनिस्ट देशहरूमा यसलाई बहिष्कृत साथै गैरकानुनी घाेषणा गरियो ।
रोमी साम्राज्यको बेलामा पनि एकपटक पुरै बाइबल नष्ट भैसकेको भनेर सम्राटलाई रिपोर्ट दिईएको थियो । तर तीन सय वर्षको लामो र कठोर सतावट र विराेधपछि सम्पूर्ण रोमी साम्राज्य नै बाइबलमाथि विश्वास गर्ने साम्राज्य बन्यो ।
नास्तिकहरूले लगभग 2000 बर्षसम्म बाइबलकाे खण्डन गरिरहे र यसको अस्तित्वलाई मेटाउन आफ्नाे प्रयास लगाई रहे तर आज पनि बाइबल चट्टान झैँ खडा छ । यसकाे अस्तित्व समाप्त भएको छैन तर यसको प्रचार दिन प्रतिदिन फैलिरहेकाे छ, सबैभन्दा बढि पढिन्छ र सबैकाे हृदयमा बसिरहेको छ ।
अठारौं शताब्दीमा प्रसिद्ध फ्रान्सेली नास्तिक, क्रान्तीकारी भाेल्टाएरले भबिस्यबाणी गरेर भनेका थिए कि “उनको बेलादेखि सय बर्षमा ख्रीस्टियन विश्वास लाेप भएर जानेछ र याे केवल इतिहासको पानामा मात्रै सिमित रहनेछ तर उनको मृत्युको पचास बर्षपछि मात्रै 'जेनेभा बाइबल साेसाइटी' ले बाइबल छाप्न भाेल्टाएरकै घर र उनको छापाखाना प्रयोग गर्याे । आज त्यहाँबाट हजारौं-लाखौं बाइबल सम्पूर्ण युरोपभरि बाँडिन्छ ।”(5)
बाइबलको विरुद्धमा राजाहरु, राजकुमारहरु, रोमी सम्राटहरू, पाेपहरू, पुजारीहरू, लेखकहरू, व्यांग्यकारहरु, कम्युनिष्टहरु, तानाशाहहरु, आधुनिक नास्तिकहरू, अज्ञयतावादीहरु, आधुनिक विद्वानहरू, अतिवादीहरू, मानवीय दर्शन शास्त्रहरु, विज्ञानवादहरु, कट्टरवादीहरू, शक्तिहरू, घृणाहरु गर्नेहरू खडा भए, तापनि यो सगरमाथा जत्तिकै उच्च स्थानमा शिर ठाडो गरि उभिएको छ र आजसम्म बाइबल संसारमा सबैभन्दा बढी बिक्री वितरण हुने पुस्तकको रूपमा उभिन सफल भएको छ । ती सबै विरोधीहरु पृथ्वीको धूलोमा मिसिएर गए, तर बाइबल आजसम्म स्थिर र अविनाशी छ ।
संसारमा परमेश्वरकाे बचन बाइबललाई कतिपय मानिसहरूले अज्ञानताको कारण घृणा गर्दछन भने प्राय: मानिसहरूकाे गल्तीहरू र पापहरूलाई यसले प्रकट गरिदिएकाे कारण र याे मात्रै परमेश्वरको वचन हो भन्ने कुराकाे दाबी गरेको कारण इतिहासमा अरु कुनै पुस्तकहरुले भन्दा बाइबलले बढी आक्रमण सामना गर्नुपर्यो ।
तिनिहरूकाे मुख्य उद्देश्य परमेश्वरकाे बचनलाई पुर्णतया नश्त गर्नु थियोे, तर तिनिहरूले याे कुरा भुले कि याे पुस्तक परमेश्वरकाे जीवित वचन हाे । सर्वशक्तिमान परमेश्वरले आजसम्म आफ्नाे वचन सुरक्षित राख्नुभएको छ ।
बाइबलको सुरक्षाको निम्ति कुनै राजाहरु, सैनिकहरु र समुहहरू खडा भएनन तर पनि आजको दिनसम्म अस्तित्वमा रहनु र सबै पुस्तकहरु भन्दा बढी प्रिय र प्रसिद्ध हुनु एक आश्चार्य नै मान्न सकिन्छ । बाइबलकाे याे वचन आजसम्म पूरा भएको छ र अनन्तसम्म भई नै रहनेछ । “स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरो बचन बितेर जाने छैन ।” (मत्ती 24:35) यसकारण अवशेषमा बाइबल अरू पुस्तकहरूभन्दा अद्धितीय छ ।
5. भविष्यवाणीमा बाइबल अद्धितीय छ ।
बाइबल एकमात्र यस्तो पुस्तक हो, जसले अधिकांश भाग भविष्यवाणीहरुले भरिएको छ । बाइबलले मुख्य रूपमा एक राष्ट्रको बारेमा, इस्राएल देशको बारेमा, यहुदी जातीकाे बारेमा, पृथ्वीका सबै मानिसहरूको बारेमा, निश्चित शहरहरूकाे बारेमा, आउनेवाला मसिहको बारेमा र भविष्यका साम्राज्यहरूकाे बारेमा भबिस्यबाणीहरू गरेको छ ।
भबिस्यबाणीको अर्थ “भविष्यको बारेमा बढाउनु” हो । परमेश्वरमात्रै सर्वज्ञानी हुनुहुन्छ । यसकारण परमेश्वरले मात्र हरेक कुराको भूत, वर्तमान र भविष्य स्पष्टसँग जान्नुहुन्छ । मानिस सर्वज्ञानी छैन, यसकारण उसले भविष्यकाे बारेमा केवल अनुमान र अडकल मात्रै गर्न सक्छ ।
पुरा भएको भविष्यवाणीहरू नै बाइबल परमेश्वरको लिखित बचन हो भन्ने कुराको मुख्य प्रमाण हो । यसले हजारौं भविष्यवाणीहरु गर्दछ, जुन पुरा हुनुभन्दा अत्यन्त धेरै समय पहिले गरिएका थिए, त्यसैले त्यहाँ संयोगको कुनै मौका हुनै सक्दैन । भविष्यवाणीहरू धेरैजसाे अक्षरशः पुरा भइसकेका छन र बाँकी भविष्यमा अवश्य पूरा हुनेछन । ती पूरा भइसकेका भविष्यवाणीहरू संयोगवस पुरा हुने सम्भाबना गणितीय रुपमा, तथ्याङ्क शास्त्रीय रूपमा र वैज्ञानिक रूपमा असम्भव हुन्छन । यसकारण बाइबलले आफू जीवित परमेश्वरको वचन भएको कुरा बताउँदा, त्यसले वैज्ञानिक सत्यता, गणितीय र तथ्यांकशास्त्रीय निश्चयता सहित बोलिरहेको हुन्छ ।
बाइबलका भबिस्यबाणीहरु अनुमान, अडकल, हुनसक्छ या होला भनी गरिएका थिएनन, तर ती विस्तृत रुपमा विवरण पनि गरेका थिए ।
प्रभु येशू ख्रीष्टको व्यक्तित्व र कामको सम्बन्धमा कुरा गर्नुपर्दा, बाइबलले उहाँको जन्म हुनुभन्दा सयाैं वर्ष पहिला नै उहाँको जीवनका बारेमा सयौं भविष्यवाणीहरू गरेको थियो र त्यसपछि ती अक्षरशः पुरा भएकाे कुरा देखाउँदछ र बाँकी पनि भविष्यमा अवश्य पूरा हुनेछ । उदाहरणकाे लागि :
येशू ख्रीष्टको विषयमा गरिएको भविष्यवाणीहरु
(उत्पत्ति 3:15, मत्ती 25:31-32, 2 थेसलाेनिकी 1:7-9)
* उहाँको जन्मको विषयमा भविष्यवाणीहरु
(मीका 5:2, यशैया 7:14, मत्ती 1:18-22)
* उहाँको जीवनको विषयमा भविष्यवाणीहरू
(यशैया 35:5-6, 61:1, 53:2-3, मत्ती 13:54-58, जकरिया 9:9)
* उहाँको मृत्युको विषयमा भविष्यवाणीहरू
(भजनसंग्रह 41:9, मत्ती 26:14-16, 36, 47-49, यशैया 53:7-8, मत्ती 26:57, 59-60, 27:11-14, भजनसंग्रह 22: 14-16, युहन्ना 19:16-18, भजनसंग्रह 34:20, युहन्ना 19:31-33)
* उहाँको बाैरि उठाईको विषयमा भविष्यवाणीहरू
(भजनसंग्रह 16:10, मर्कूस 8:31, लुका 24:1-7)
* उहाँ फेरि संसारमा आउनुभन्दा अघि सबै मानिसहरुमाथि आईपर्ने महासङ्कटको विषयमा भविष्यवाणीहरु
(यशैया 13:9-13, मत्ती 24:21-22, 1 थेसलाेनिकी 5:2-3, प्रकाश 13:3-8, 13-17)
* उहाँ फेरि आउनुहुनेछ भन्ने विषयमा भविष्यवाणीहरु
(मत्ती 24:35-42, 1 थेसलाेनिकी 4:15-17, 1:9, मत्ती 13:41-42)
यहुदी जाती र इस्राएल देशको बिषयमा पनि जुन भबिस्यबाणीहरू बाइबलमा गरिएका थिए, ती सबै नै अक्षरश: पूरा भए । याे सत्यतालाई जान्न तपाईंले विश्व इतिहास र इस्राएल देशकाे इतिहास अध्ययन गर्न सक्नुहुन्छ ।
* पृथ्वीकाे कुना-कुनामा छरिदिनेछु ।
(व्यवस्था 28:15, 64-66, यर्मिया 30:11-24, इजकिएल 36:18-21)
* ती पृथ्वीकाे राज्य-राज्यमा भड्कि हिँड्नेछन, अनि दुःख भाेग्नेछन ।
(यशैया 63:3-14)
* पृथ्वीकाे चारैतिरबाट फेरि बटुलेर ल्याउनेछु ।
(यशैया 43:5-7, यर्मिया 29:14, 30:3-5, 31:10, इजकिएल 11:17, 36:6-14)
* इस्राएल देश उजाड र बाँझो बन्नेछ ।
(इजकिएल 36:28-36)
* यहुदी फर्केपछि फेरि त्यस देशलाई परमेश्वरकाे बगैंचा झैं सुन्दर र शहरले सजिएको देश बनाउनेछु ।
(इजकिएल 37:14, यशैया 27:6, 35:1-2, अामाेस 9:14-15)
यति धेरै र विस्तृत व्याख्या सहितको भविष्यवाणीहरू संसारको कुनै पनि धर्मशास्त्रहरूमा दिईएको छैन, किनभने एउटामात्रै भविष्यवाणी पूरा नहुनु नै त्यो धर्मशास्त्र असत्य रहेछ भनी प्रमाणित गर्ने आधार हो । शास्त्रहरू, वेदहरु र बुद्धका शिक्षाहरूले यस्ता अनुमानहरु गर्ने खतरा मोल्ने साहस गर्दैनन । अनि यस सम्बन्धमा बाइबलसँग तुलना गर्दा कुरान त सगरमाथाकाे सामु कमिलाको माटोको माटे-ढिस्को जस्तो देखिन्छ । वर्तमान युगका भगवानहरु पनि भविष्यवाणी गरेर आफूलाई जोखिममा हाल्न चाहँदैनन । यसकारण बाइबल भविष्यवाणीमा अरू पुस्तकहरूभन्दा अद्धितीय छ ।
6. एउटै सन्देश दिनेमा बाइबल अद्धितीय छ ।
लगभग 40 जना लेखकहरुद्वारा बाइबल 1500 वर्षको बीचमा तैयार भयो । यसमा 66 वटा पुस्तकहरु, 1189 वटा अध्यायहरू र 31,173 वटा पदहरु छन, तर पनि यिनीहरू एक आपसमा जोडिएका छन । एउटै सन्देशलाई बहावमा लगेका छन ।
बाइबलको सबै पुस्तकहरु, अध्यायहरू र पदहरुमा येशू ख्रीष्ट नै केन्द्रविन्दु हुनुहुन्छ । जब हामी बाइबलको पहिलो पुस्तक उत्पत्तिदेखि अन्तिम पुस्तक प्रकाशसम्म पढ्छाैँ, तब आश्चार्य रुपमा त्यहाँ येशू ख्रीष्टलाई नै पाउँछौ । सबै पुस्तकहरुले येशू ख्रीष्टको जन्म, मृत्यु, पुनरुत्थान र उहाँको आगमनको बारेमा बताउँछ । जस्तै ;
पुरानो करार :
(उत्पत्ति) सृष्टिकर्ता परमेश्वर, (प्रस्थान) निस्तार चाडको थुमा, (लेवी) पुजारी, (गन्ती) पथ प्रदर्शक, (व्यवस्था) शरणस्थान, (न्यायकर्ता) न्यायाधीश, (यहाेशू) मुक्तिको कप्तान, (रूथ) छुडाउनेवाला नातेदार, (१ र २ शमूएल) विश्वासयाेग्य भविष्यवक्ता, (१ र २ राजा र १ र २ इतिहास) राजाहरूका राजा र प्रभुहरूका प्रभु, (एज्रा, नहेम्याह) भट्किएका सबै चीजहरूको पुनर्निर्माणकर्ता, (एस्तर) सल्लाहकार, (अय्यूब) छुटकारा दिनेवाला, (भजनसंग्रह) हाम्रो गीत र गाउने कारण हुनुहुन्छ, (हितोपदेश) हाम्रो ज्ञान, (उपदेशक) हाम्रो सन्तुष्टिको आशा, (श्रेष्ठगीत) हाम्रो असल प्रेमी, (यशैया) शक्तिशाली परामर्शदाता, शान्तिका राजकुमार, अनन्त पिता, हामीलाई चाहिने सबै थोक हुनुहुन्छ, (यर्मिया) धर्मी शाखा, (विलाप) अाफ्नाे जनहरूकाे निम्ति रूनेवाला भविष्यवक्ता, (इजकिएल) चार-पक्षीय मानिस, (दानियल) नरककाे अागाेदेखि बचाउनेवाला, (होशे) उहाँलाई छाेडेर गए तापनि सधैं अनन्तकाे पति हुनुहुन्छ, (याेएल) पवित्र आत्माको बप्तिस्मा दिनेवाला, (आमोस) बोझ बोक्ने र आफ्ना मानिसहरूलाई पुनर्स्थापना गर्नुहुने, (ओबदिया) उहाँ न्यायाधीश र इस्राएलको मुक्तिदाता, (याेना) परमेश्वरको वचनलाई सारा संसारमा पुर्याउने एक महान मिसनरी, (मीका) बेथलेहेममा जन्मनुहुने अनन्तका परमेश्वर, (नहूम) क्रोधको दिनमा हाम्रो शरणस्थान, (हबककुक) जागृति ल्याउनुहुने प्रचारक, (सपन्याह) जलन राख्नेवाला प्रभु, (हाग्गै) सम्पूर्ण देशको अभिलाषा, (जकरिया) हिर्काइएको गाेठालाे, (मलाकी) धार्मिकताको पुत्र हुनुहुन्छ ।
नयाँ करार :
(मत्ती) राजा, (मर्कूस) सेवा गर्ने दास, (लूका) मानिसको पुत्र, (यूहन्ना) परमेश्वर, (प्रेरित) सारा संसारकाे मुक्तिदाता, (रोमी) न्यायकर्ता, (१-२ कोरिन्थी) पुनरुत्थान, (गलाती) व्यवस्थाबाट उद्धार गर्नुभयो, (एफेसी) बहुमुल्य धन र मण्डलीको प्रमुख, (फिलिप्पी) दैनिक आवश्यकताहरूलाई आपूर्ति गर्नुहुने, (१ र २ थिस्सलोनिकी) चाँडै आउनुहुने राजा, (१ र २ तिमोथी) परमेश्वर र मानिस बिचको मध्यस्थकर्ता, (तीतस) धन्य आशा, (फिलेमोन) दमनमा परेका, (हिब्रू) हाम्रो अनन्त करार, (याकुब) बिरामीहरूलाई निको पार्नुहुने प्रभु, (१ र २ पत्रुस) मुख्य गोठालो, (१ यूहन्ना) हाम्रो जीवन हुनुहुन्छ, (२ यूहन्ना) ढाँचा, (३ यूहन्ना) प्रेरणा, (यहूदा) न्याय गर्न आउनुहुने, (प्रकाश) राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ ।
बाइबलमा अरू पनि थुप्रै विषयहरू छ, जाे एउटै सन्देशलाई बहावमा लगेकाे छ । तिनीहरू एकआपसमा विराेधाभास छैनन । यदि हामीलाई कुनै कुरा विराेधाभास लाग्छ भने त्याे हाम्रै उपयुक्त ज्ञानको कमिले गर्दा नै हाे । बाइबललाई थुप्रै लेखक, अलगअलग परिस्थिति र अलगअलग स्थानहरूमा लेखे तापनि एउटै विषयमा केन्द्रीत हुुनु र ती लेखेका वचन एकआपसमा विराेधाभास नहुनु एक आश्चार्य नै हाे । यस्तो किसिमको पुस्तक आजसम्म संसारमा सृजना नै भएको छैन भन्दा सायद गलत नहाेला । सम्पूर्ण बाइबल पढ्दा यस्तो लाग्छ कि यो त एउटै व्यक्तिले लेखेको हो र किनकि यसको लेखक परमेश्वर स्वयं हुनुहुन्छ । यसकारण एउटै सन्देश दिनेमा बाइबल अरू सबै पुस्तकहरू भन्दा अद्वितीय छ ।
7. विश्वव्यापी प्रभावमा बाइबल अद्वितीय छ ।
आज संसारमा प्राय: करोडौं पुस्तकहरु छन, तर ती पुस्तकहरुले जति प्रभावमा मानिसहरूकाे जीवनमा पारे, त्यसको तुलनामा एउटा यस्तो पुस्तक पनि छ, जसको प्रभाव सारा संसारको राष्ट्रहरू, समाज, जाति, धर्म, वर्ग, लिङ्गमाथि तीव्र रूपले पारेको थियो, छ र भविष्यमा पनि पारिरहनेछ । त्यस पुस्तकको नाम हो, बाइबल !
विश्व इतिहासलाई फर्केर हेर्दा, बाइबलले संसारको हरेक क्षेत्रमा जति प्रभाव पारेको छ, त्यति प्रभाव अरू कुनै पुस्तकले पार्न सकेकाे छैन । विश्वको हरेक क्षेत्रहरू जस्तै: साहित्य, विज्ञान, सभ्यता, पराेपकारी अभ्यास, भाषण, कानुन, राजनीति, कला, संगीत, शिक्षा इत्यादिमा बाइबलको अद्भूत प्रभाव देख्न पाइन्छ । उदाहरणकाे लागि :
* आज प्राय: सबै देशहरूले आफ्नो कानून बाइबलको पुस्तक प्रस्थान 20 अध्यायमा दिईएको दस आज्ञामा आधारित छ ।
* पाश्चात्य विचारमा, संस्कृतिमा, साहित्यिक पाठ्य-पुस्तकहरूमा, संगितमा बाइबलले जति प्रभाव पारेको छ, अरु कुनै पुस्तकले पार्न सकेको छैन ।
* बाइबलकाे कारणले आज हामीले पढ्न सक्ने पुस्तकहरु तयार हुन सम्भव भयो । इस्वी संवत 1454 मा जाेहन्स गुटेनवर्गले विश्वमा पहिलोपटक छापाखानाकाे आविस्कार गरे, जसमा सबैभन्दा पहिलोपटक बाइबल नै छापिएको थियोे ।
* संसारका चर्चित कलाकारहरुले विभिन्न क्षेत्रमा आफ्नो कलाको सम्पादनमा बाइबललाई आधार बनाएका छन । जस्तै : लियोनार्दाे दा भिन्ची, रेम्ब्रान्ट, राफेलर, मिखाएल एङ्गेलाे ।
* संसारका धेरै भाषाहरू लिपिबद्ध गर्नेहरू बाइबलबाट प्रेरणा पाएका ख्रीष्टियन मिसनरीहरु नै थिए ।
* संसारको पात्रो र यसमा प्राय: बिदाका दिनहरु बाइबलबाट नै लिईएका छन ।
* संसारकाे सबैभन्दा बढी पराेपकारी संस्थाहरू, जस्तैः बाल गृहहरू, बृद्धाश्रमहरू, अनाथालयहरू, बचाउ मिसनहरू, अस्पतालहरू ईत्यादीकाे स्थापना गर्ने सबै बाइबलकाे शिक्षा पाएर आफ्नाे जीवन मानवीय सेवामा समर्पण गरेका व्यक्तिहरूद्दारा नै सम्भव भएको हाे । उदाहरण : रेडक्रसलाई स्थापना गर्ने हेनरी ड्युना, आधुनिक स्टाफ नर्स पेशाकाे संस्थापक फ्लाेरेन्स नाइटिङ्गेल, संसारभरि अनाथालय स्थापना गर्ने मदर टेरेसा इत्यादि !
* संसारका प्रायः गुणस्तरीय शिक्षा दिने स्कुल, कलेज र विश्व विद्यालयहरू बाइबलकाे शिक्षा पाएका ख्रीष्टियनहरूद्वारा नै स्थापना भएका छन ।
* बाइबलले नै अनगिन्ती नैतिक पतन भएकाहरू, असभ्य र नरभक्षी जाती, समाज र देशका मानिसहरूकाे जीवनलाई परिवर्तन गरेर संसारकै सबैभन्दा सभ्य, शिक्षित, बाैद्दिक र समृद्धिमा सबैभन्दा अगाडि पुर्याएकाे छ ।
* आधुनिक विज्ञानका संस्थापकहरू प्रायः ख्रीष्टियन बैज्ञानिकहरू थिए । जस्तै : व्लेस पास्कल, जाेहनन केप्लर, राेवर्ट बाेएले, लुईस पाश्चर, आइज्याक न्युटन, केल्भिन, निकाेलस काेपर्निकस आदि बाइबलमा बिश्वास गर्ने ख्रीष्टियनहरू थिए । बाइबलकाे शिक्षाको प्रभावकाे कारणले नै ती बैज्ञानिकहरूलाई नयाँ-नयाँ खाेज र अनुसन्धानहरू गर्ने प्रेरणा मिलेको थियोे ।
केही समयअघि गरिएको एक सर्वेक्षण अनुसार, “1901 देखि 2000 सम्म सबैभन्दा बढी नाेवेल पुरस्कार जीत्ने बैज्ञानिकहरू मध्ये ख्रीष्टियन बैज्ञानिकहरूकाे संख्या 65% छ, जसकाे तुलनामा अरू काेहि आउन सकेकाे छैन ।” (6)
* बाइबलले सामाजिक सुधारमा पनि व्यापक प्रभाव पार्न सफल भएको छ । दासदासीहरूकाे व्यापारकाे विरूद्दमा खडा हुने व्यक्तिहरू जाेन वेस्ली, विलियम विल्बरफाेर्स, थाेमस क्लार्कसन, अब्राहम लिङ्कन आदि जस्ता विश्व चर्चित मानिसहरू थिए । रङ्गभेद आन्दाेलनलाई सफलतामा पुर्याउने व्यक्तिहरू मार्टिन लुथर किङ्ग, नेल्सन मण्डेला आदि थिए ।
छिमेकी देश भारतमा शिशु हत्या, किशोरी वेश्यागमनकाे खराे बिराेध गरि सती प्रथालाई कानुनबाट हटाउन हिन्दु सुधारवादीहरूलाई सहयोग गर्ने व्यक्ति आधुनिक मिसनका पिता भनेर चिनिने विलियम केरी नै थिए । जसकाे प्रभावद्दारा हाम्रो देश नेपालमा पनि दास प्रथा, सती प्रथा, बालबिवाह, अनमेल विवाह, बहुविवाह हटेका छन । यी सबै महान मानिसहरू परमेश्वरकाे लिखित वचन बाइबलका सच्चा विश्वासी थिए ।
यसरी बाइबलले विश्वव्यापी रूपमा जुन प्रभाव पारेकाे छ, त्यसकाे बारेमा लेख्ने हाे भने हाम्रो पुस्तकालयहरू पनि कम हुनेछन । यसैले बाइबल विश्वव्यापी रूपमा प्रभाव पार्ने पुस्तकहरू मध्ये अद्वितीय छ ।
8. सबैभन्दा बढी छापिने, पढिने र बिक्रीवितरण हुने पुस्तककाे रुपमा अद्वितीय छ ।
बाइबलकाे बारेमा गिनिज वल्र्ड रेकर्डमा यसरी लेखिएको छ, “वास्तविक तथ्याङ्क प्राप्त गर्न असम्भव भए तापनि बाइबल संसारमा सबैभन्दा बढी बिक्री भएको र सबैभन्दा व्यापक रुपमा वितरण भएको पुस्तक हो भन्ने कुरामा थोरैमा मात्र आशंका छ । बाइबल सोसाइटीले गरेको सर्वेक्षणको निष्कर्ष निकालेको थियो कि इस्वी संवत 1815-1975 सम्ममा साढे दुई अर्ब प्रति बाइबल छापिएको थियो, तर हालैको अनुमानले त्यो संख्या पाँच अरब पुर्याएको छ ।”(7)
युनाइटेड बाइबल सोसाइटीले इस्वी संवत 1998 सम्ममा बाइबल साथै अरु अंशलाई जोड्दा 5 अरब 85 करोड बाइबल प्रतिहरुलाई वितरण गरेको थियो । गिदाेन इन्टरनेसनल नामक संस्थाले मात्रै हालसम्म 2 अरब बाइबल वितरण गरिसकेको छ ।
एक अध्ययन अनुसार हरेक वर्ष 10 करोड बाइबल छापिन्छ । यो तथ्यांकलाई आधार मान्ने हो भने प्रतिदिन 2,73,972 वटा, प्रति घण्टा 11,415 वटा र प्रतिमिनेट 190 वटा र प्रतिसेकेन्ड 3 वटा बाइबल छापिन्छ ।
बाइबलले छपाईकाे संख्या, पढ्ने मानिसहरूको संख्या र विक्रिवितरण गर्ने मात्रै इतिहास कायम गरेको छैन तर बाइबल एप्स पनि लाखौं करोडाैँ एप्स डाउनलोड गरिएका छन । युभर्नसकाे बाइबल एप्सलाई मात्रै 2017 काे अन्त्यसम्म 30 करोड पटक डाउनलोड गरिएको थियो ।
हालसम्म पुरै बाइबल, नयाँ करार र बाइबलका अंशहरू लगभग 7 अर्बभन्दा बढी बिक्री-वितरण भएको छ ।
इतिहासमा अरू कुनैपनि पुस्तक बाइबलकाे तुलनामा अाएकाे छैन । यसकारण बाइबल संसारमा सबैभन्दा बढी छापिने, पढिने र बिक्रीवितरण हुने पुस्तककाे रुपमा अद्वितीय छ ।
9. सबैभन्दा बढी भाषामा अनुवाद भएको पुस्तकको रुपमा अद्वितीय छ ।
बाइबल एउटा पुस्तक हाे, जसलाई थुप्रै भाषामा अनुवाद गरिएको छ । बाइबलकाे पुरानो करारलाई प्रायः हिब्रू भाषामा र केही अंश आरमेइक भाषामा लेखिएको थियोे, तर 250 BC मा यसलाई पहिलोपटक ग्रिक भाषामा अनुवाद गरियो । यसलाई सेप्टीयुजेन्ट (Septuagint) नाम राखियो । सेप्टीयुजेन्टकाे अर्थ सत्तरी हाे । यसको नाम सेप्टीयुजेन्ट राख्नुकाे कारण यसलाई बहत्तर विद्वानहरूले मिलेर ग्रिक भाषामा अनुवाद गरेका थिए ।
संसारकाे सबै धर्म ग्रन्थहरू भन्दा बाइबल सबैभन्दा बढी अन्य भाषाहरूमा अनुवाद गरिएको छ । यति धेरै भाषाहरूमा अनुवाद हुनु पनि बाइबलकाे एक अद्वितीयता नै हाे ।
धेरैजसो पुस्तकहरु अनुवाद नै गरिदैँनन । अनुवाद गरिए तापनि दुई वा तीन भाषामा मुस्किलले छापिन्छन । ज्यादै थाेरै पुस्तकहरु मात्रै 10 नाघ्न सक्छ तर बाइबलको हकमा भने हामी आश्चार्यपूर्ण तथ्यांक पाउँछाैं ।
बाइबल मुलत: हिब्रू, आरमेइक र ग्रिक भाषामा लेखियो । त्यसपछि अंग्रेजीमा उल्था गरियो, त्यसपछि त यसलाई अन्य भाषाहरूमा अनुवाद गर्ने लहर नै चल्यो भन्ने कुरा यस तथ्यांकले देखाउँछ ।
विकिपिडिया अनुसार, “अक्टोबर 2018 सम्ममा पुरै बाइबललाई 683 वटा भाषामा, नयाँ करारलाई थप 1,534 वटा भाषामा र यसका अंशहरुलाई 1,133 वटा भाषामा बाइबल अनुवाद गरिएकाे छ । यसरी हिसाब गर्दा संसारको 3,350 वटा भाषामा बाइबल अनुवाद भइसकेको छ । जसको बराबर र छेउसम्म पनि कुनै पुस्तक पुग्न सकेको छैन ।”(8)
सृष्टिकर्ता परमेश्वरकाे एकमात्र सत्य वचन सबै मानिसहरूले आफ्नै भाषामा पढ्न पाउनुपर्छ भन्ने उत्कट चाहना राखेको कारण यो नतिजा आएको हो । यसकारण बाइबल संसारमै सबैभन्दा बढी भाषामा अनुवाद भएको पुस्तकको रुपमा अद्वितीय छ ।
10. विश्वासनियतामा बाइबल अद्वितीय छ ।
बाइबल एकमात्र यस्तो पुस्तक हाे, जाे हरेक तरिकाले जाँचिएकाे छ । यसलाई वैज्ञानिक, पुरातत्विक, गणितीय, तथ्यांकशास्त्रीय र अरू थुप्रै प्रमाणहरूद्दारा जाँचियाे, तर याे हरेक जाँचमा बाइबल सत्य प्रमाणित भयो । यसकारण बाइबल एकमात्र विश्वासयाेग्य पुस्तक हाे ।
यसकारण आज संसारका अधिकांश वैज्ञानिकहरूले यस कुरालाई मान्दछन कि बाइबलमा लेखिएको हरेक कुरा सत्य छ । बाइबलमा लेखिएको एउटा पनि कुरा गलत नभएको कारण हामीलाई याे पक्का विश्वास छ कि याे परमेश्वरकाेय भएकोले यसलाई विश्वास गर्न सकिन्छ, किनकि विज्ञानकाे खाेज र पुरातत्त्व विज्ञान आदिकाे अध्ययनले बाइबलकाे विश्वासनियता अझै बढिरहेको छ ।
पुरातत्त्विक विज्ञानकाे प्रमाणहरू
बाइबलमा लेखिएको थुप्रै इतिहास र स्थानहरूलाई पुरातत्विक वैज्ञानिकहरूले हालैमात्र पत्ता लगाएका छन । जस्तैः
* नाेआले बनाएको जहाज केही साल पहिले टुर्की देशमा पाईएकाे छ ।
* इस्राएलीहरू समुन्द्र दुईभाग भई तरेकाे लाल समुन्द्र अहिले पत्ता लागेको छ ।
* जमिनमुनि भासिएकाे यरिहाे शहरकाे पर्खालपनि अहिले बैज्ञानिकहरूले पत्ता लगाएका छन ।
* बाबेलकाे धरहरा, जहाँ संसारकाे भाषाहरूकाे शुरूवात भएको थियोे । याे धरहराकाे अवशेष अहिले वर्तमान इराक देशमा पाईएकाे छ ।
* सदाेम र गमाेरा नाश भएको स्थान पनि हालैका दिनहरूका पत्ता लागेको छ ।
यी खाेजहरूले परमेश्वर छैन र बाइबल झुठो छ भन्ने नास्तिकहरू, विरोधीहरू र अविश्वासीहरूकाे तर्कहरूलाई गलत प्रमाणित गरिदिएको छ ।
बाइबल विश्वासनिय छ, किनकि बाइबलमा हजारौं भविष्यवाणीहरू, हजारौं एतिहासिक प्रमाणहरू र हजारौं वैज्ञानिक सत्यताहरू लेखिएका छन । यसमा लेखिएको हजारौं भविष्यवाणीहरू अक्षरंश परा भएका छन र बाँकी पनि अवश्य पूरा हुनेछन । आजकाे दिनसम्म बाइबलमा लेखिएका एउटा पनि वचनहरूमा भाैगाेलिक, एतिहासिक र वैज्ञानिक हिसाबले कुनै एउटा त्रुटि पनि पाईएका छैन । यी सबै कुराहरू र प्रमाणहरूले बाइबलकाे विश्वासनियता प्रकट गर्दछ । एकपटक प्रतिष्ठित यहुदी पुरातत्त्वविद नेल्सन ग्लूकले दाबी गरे, “कुनै पुरातत्त्विक खाेज बाइबलीय सन्दर्भकाे विरूद्दमा छैन ।”(9) यसकारण बाइबललाई विश्वास गर्न सकिन्छ, किनकि यसका थाेरै पनि भुल या गल्ती पाउन मुस्किल छ । यसैले बाइबल विश्वासनियतामा अद्वितीय छ ।
स्रोतहरू :
(1) कमल अधिकारी, बाइबल, विज्ञान र परमेश्वर, Publisher By : GFA Books, Second Impression (2016), पृष्ठ नं. 21
(2) कमल अधिकारी, प्राचिन बाइबलका लागि अाधुनिक साक्षीहरू, Published by : Samdan Publishers, Second Edition (2016) पृष्ठ नं. 106
(3) दानिएल राई, हिमाल झैं अचल-सत्य याे अपार, प्रकाशक : जीवन मार्ग प्रकाशन, दशम संस्करण (2004) पृष्ठ नं. 65
(4) दानिएल राई, हिमाल झैं अचल-सत्य याे अपार, प्रकाशक : जीवन मार्ग प्रकाशन, दशम संस्करण (2004) पृष्ठ नं. 65
(5) विवेकशील विश्वास (A Reasonable Faith), Traslated and Published by : Good News Publisher (2006), पृष्ठ नं. 44
(6)
https://commons.m.wikimedia.org/wiki/File:Religion_of_Nobel_Prize_winners.png
(7)
https://web.archive.org/web/20150315025558/http://www.guinnessworldrecords.com/world-records/best-selling-book-of-non-fiction
(8)
https://kamaladhikari.com.np/219/
(9) कमल अधिकारी, प्राचिन बाइबलका लागि अाधुनिक साक्षीहरू, Published by : Samdan Publishers, Second Edition (2016) पृष्ठ नं. 14

No comments:
Post a Comment