कुनै एकजना परदेशी जङ्गलको यात्रा गर्दागर्दै भोक र प्यासले थकित भएछ । उसले कुनै गाउँ भेटिन्छ कि भन्दै अगाडि यात्रा गरिरहेछ । धेरै लामो यात्रापछि पनि कुनै गाउँ नभेटेपछि ऊ निकै निराश भइसकेको रहेछ ।
साँझ पर्ने बेलामा बाटाको छेउमा एउटा सानो झुपडी देखेर यात्री धेरै खुसी भयो । उसले त्यस घरको ढोका ढकढक्यायो । तर भित्रबाट कुनै प्रतिक्रिया आएन । उसले घर धनीलाई बोलायो तर कुनै आवाज आएन । अनि उसले घरको ढोका खोलेर भित्र पस्यो ।
घरभित्र हेर्दा अँगेनामा आगो बलिरहेको रहेछ । अँगेनामाथि पानीको भाँडो बसालिएको रहेछ । अँगेनाको छेउमा खाट रहेछ । खाटमाथि ओछ्यान मिलाएर राखिएको रहेछ । घरभित्रको भुइँ सफा पनि रहेछ । तर पनि त्यस परदेशीले त्यस घरमा कुनै मानिसलाई देखेनछ।
अब भन्नुहोस - त्यस परदेशीले के सोच्यो होला ? के त्यस घरमा कुनै मानिस बस्दैन ? यदि बस्दैन भने अँगेनामा आगो कसले बाल्यो होला ? कसले घर सफा राख्यो होला ? कसले ओछ्यान मिलाएर राख्यो होला ?
त्यस घरको वातावरणले नै त्यहाँ पक्कै कुनै मानिस बस्छ भनेर प्रमाणित गर्दैन र ?
यसरी घाम, जून, तारा, खोला नाला, पहाड-पर्वत, हावापानी, मौसम, ऋतुहरू, ऋतुअनुसारका फलफूलहरू, अन्नबालीहरू, आकाशमा उड्ने पंक्षीहरू, जमिनमा रहेका पशु-प्राणीहरू र पानीमा रहेका जीवित प्राणीहरू देख्ता के यसलाई सृष्टि गर्ने सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्दैन र ?
यसैले हाम्रो आकाश-मण्डलको रचनालाई हेरी दङ्ग पर्दै प्रसिद्ध वैज्ञानिक तथा विश्वसृष्टिविद एड हेरिसन लेख्छन,
“पालेको प्रज्ञावान तर्क र विश्वको उत्पत्तिसम्बन्धी तर्कले परमेश्वरको अस्तित्वलाई प्रमाणित गर्छन र यो रचना परमेश्वरले गर्नुभएको हो भन्नका लागि विश्वको व्यवस्थितपनाले दरिलो साक्षी जुटाउँछ।”
नासाका खगोलविद जोन ओकिफे भन्छन,
“यदि सारा विश्व व्यवस्थित तरिकाले नबनाइएको भए, हामी अस्तित्वमा हुने थिएनौं । मेरो विचारमा विश्व मानवजाति बाँच्नका लागि बनाइएको हो मनी यी परिस्थितिहरूले अङ्कित गर्छन ।”
सन १९८१ मा भौतिकशास्त्रमा नोबेल पुरस्कार विजेता आर्थर एल. स्काओ भन्छन,
“आकाश-मण्डल साथै मेरो जीवनमा म परमेश्वरको आवश्यकता देख्दछु।”
यसकारण लेखिएको छ -
“आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ। र तारा-मण्डलले उहाँका हातको सीपको घोषणा गर्छ।
हरेक दिन तिनीहरूले वार्तालाप गर्छन, र हरेक रात तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन।
कुनै बोली छैन, न भाषा छ, जहाँ तिनीहरूको सोर सुनिँदैन।
तिनीहरूको सोरले सारा पृथ्वी गुञ्जायमान छ, तिनीहरूका शब्द पृथ्वीको सीमान्तसम्मै पुगेका छन।”
[ भजनसंग्रह 19:1-4]
“परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनुभएको छ।
उहाँको अदृश्य गुण, अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन।”
[रोमी 1:19-20]
#BackToTheCreator #God

No comments:
Post a Comment