सधैँ सबै मानिसहरूका मनमा उठिरहने एउटै पुरानो र कठिन प्रश्न हो, “परमेश्वर को हुनुहुन्छ ?”
यो प्रश्नको सही उत्तर दिनलाई धेरै ज्ञानी मानिसहरूले आफ्नो टाउको दुखाएका छन । महान व्यक्तिहरूले आफ्नो समय, धन र सर्वस्व नै अपेका छन । तिनीहरूले आ-आफ्नै प्रकारले परमेश्वर यस्तो र त्यस्तो भनी सिकाउने कोशिश गरिरहेका छन । संसारभरि नै परमेश्वरबारे बिभिन्न प्रकारले चर्चा गरेको पाइन्छ । परमेश्वरबारे ठूल-ठूला पुस्तकहरूले विभिन्न प्रकारले व्याख्या गरेतापनि बाइबल भनिने पुस्तकले बताएका सत्य कुराहरू नै यहाँ बताउने कोशिश गरिएको छ ।
बाइबलले परमेश्वर सदैव हुनुभएको कुरा बताउँछ । परमेश्वरको उत्पत्ति कहाँ र कसरी भयो भन्ने कुरामा कतै संकेत दिएको पाइँदैन । परमेश्वर हुनुहुन्थ्यो, हुनुहन्छ र सदैव हुनुहुनेछ भन्ने कुरा बाइबलले बताउँछ ।
बाइबलको पहिलो वाक्य यस्तो छ,
“आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो ।”
[उत्पत्ति 1:1]
यो वाक्यलाई गहिरो रूपमा अध्ययन गर्दा हामीलाई धेरै प्रश्नहरूको उत्तर मिल्दछ । धेरैले परमेश्वर छँदैछैन भनी तर्क गर्छन । अरू कतिले चाहिँ एउटाभन्दा धेरै परमेश्वरहरू छन भनी जिकिर गर्दछन । यस्ता मानिसहरूका निम्ति बाइबलको यो पहिलो वाक्यमा परेका मूल नाम अथवा शब्द “परमेश्वर” ले परमेश्वर हुनुहुन्छ र एकमात्र हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्दछ ।
धेरै पढे लेखेका व्यक्ति र कति अन्धाधुन्दमा बोल्नेहरूले के भन्दछन भने संसारमा भएका मानिस जाति र अरू जीवित प्राणी जगतको सुरूमा यस्तो नभएर अर्कै स्वरूपमा थिए र पछिबाट विकास हुँदै यस्तो रूप लिएको हो भन्छन, कतिले चाहि संयोगवश अथवा आकस्मिक रूपमा यो संसार बनेको हो भनी भन्दछन । तर बाइबलको सुरुको वाक्यले भन्छ “परमेश्वरले सृष्टि गर्नुभयो” अर्थात जे जति भूमण्डलमा छन, ती सबैको सृष्टिकर्ता परमेश्वर नै हुनुहुन्छ । परमेश्वरबिना कुनै थोकको पनि सृष्टि भएको छैन ।
साथै कति मानिसहरू रूपियाँ पैसा, धन-सम्पत्ति नै सबै थोक हो भन्छन । तिनीहरूको सपना, जपना धन-सम्पत्ति हुन्छ । तिनीहरूको उद्देश्य नै प्रशस्त कमाएर मोज गर्नु हो । “खाई सार कि लाई सार मरेपछि लम्पसार” भन्ने कुरा तिनीहरूले गर्दछन । तर बाइबलले सुरूमा नै स्वर्गको बारेमा बताउँछ । स्वर्ग मानिसको पुग्नुपर्ने गन्तव्य हो भनी सिकाउँछ ।
यस्तो परमेश्वरलाई कसरी जान्ने ?
परमेश्वरलाई जान्न सकिने एउटा उपाय प्रकृति हो भनी बाइबलले सिकाएको छ । प्रकृतिमा परमेश्वरको हातका काम पाउन सकिन्छ । प्रकृतिद्वारा परमेश्वरले हामीलाई उहाँको महानताबारे सिकाउनुहुन्छ । तर प्रकृति आफैँ त परमेश्वर होइन भनी बाइबलले स्पष्ट पारेको छ ।
अर्कोतिर, परमेश्वर छैन भन्ने कट्टर मानिस किन नहोस । जस्तै दुष्ट र अपराधी सबै नै परमेश्वरको स्वरूपमा बनिएका हुन र प्रत्येक मानिसमा परमेश्वर हुनुहुन्छ भन्ने अन्तर्ज्ञान अवश्य नै हुन्छ । यस्ता धेरै परमेश्वर नमान्नेहरू मृत्युको शैय्यामा परमेश्वरको नाम लिदै सास फेर्छन । यही अन्तर्ज्ञानद्वारा हामी प्रत्येकले परमेश्वरलाई खोज्न सक्छौ र भेटाउन पनि सक्छौं । यो शिक्षा बाइबलको हो ।
यस्तो परमेश्वरलाई जान्न सकिने अर्को मुख्य उपाय येशू ख्रीष्टलाई जान्नु, विश्वास गर्नु र ग्रहण गर्नु हो भनी बाइबलले सिकाउँछ । बाइबलको एउटा अति प्रिय वाक्य यस्तो छ,
“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस, तर त्यसले अनन्त जीवन पाओस ।” येशू ख्रीष्टद्वारा परमेश्वर संसारमा सम्पूर्ण र सिद्ध रूपमा प्रकट हुनुभयो ।
यस्तो परमेश्वर आफैमा कस्तो हुनुहुन्छ ?
बाइबलले परमेश्वरको शारीरिक रूपबारे बताएको छैन । परमेश्वरलाई हाम्रो आँखाले देख्न पनि सक्तैन । जसरी हावालाई हामी देख्न सक्तैनौ, उसरी नै हामी परमेश्वरलाई पनि देख्न सक्दैनौं । छोटकरीमा भनौं परमेश्वर शरीरमा नहुनु भएर आत्मामा हुनुहुन्छ, तरै पनि उहाँ व्यक्ति हुनुहुन्छ । धेरै मानिसहरूले परमेश्वरलाई एउटा व्यक्तिको रूपमा नहेरेर आफ्नै ज्ञान बुद्धिबाट हेर्छन । यसो हुँदा कतिको निम्ति परमेश्वर डरलाग्दो, बिचित्रकारी, अनौठो हुनुभएको छ । तर बाइबलले परमेश्वर आफैमा एउटा व्यक्ति र हामी उहाँकै स्वरूपमा सृजिएका हौं भनी स्पष्ट बताउँछ ।
अर्को कुरो, परमेश्वरमा कुनै खोट अथवा दाग छैन । उहाँ सदैव सिद्ध, पवित्र, चोखो हुनुहुन्छ । उहाँलाई केही कुराको आवश्यकता कहिल्यै पर्दैन र उहाँलाई कसैको गोहार चाहिदैन । तर उहाँबाट नै सम्पूर्ण थोकहरू भएर आउँछन । उहाँ सबै थोकहरूको स्रोत हुनुहुन्छ भनी बाइबलले बताउँछ ।
यस्तो परमेश्वरको चरित्र अथवा गुणहरु कस्ता छन ?
बाइबलले बताउँछ, परमेश्वर स्वतन्त्र हुनुहुन्छ । उहाँलाई कसको आवश्यकता पर्दैन । जहाँ जेसुकै होस, परमेश्वर अपरिवर्तनीय हुनुहुन्छ । उहाँका प्रतिज्ञाहरू सधैँ एकनासका छन । उहाँले बितेका दिनहरूमा जे गर्नुभयो – आज पनि गर्न सक्नुहुन्छ । उहाँलाई समयभित्र थुनेर राख्न सकिन्नँ । परमेश्वर सर्वव्यापी हुनुहुन्छ । साथै परमेश्वर आफ्ना सृष्टिहरूप्रति असल र भलो हुनुहुन्छ । एउटी आमाले बालक-बालिकालाई त्याग्न सक्छे, तर परमेश्वरले आफना प्रियहरूलाई कहिल्यै त्याग्नुहुन्न भनी बाइबलले बताउँछ ।
मानिस स्वाभावले नै विरोधी र घमण्डी छ। विरोधी र घमण्डी मानिसहरूले त्यसको प्रतिफलमा दण्ड भोग्नु पर्छ । तर परमेश्वरले सबैको न्याय उचितरूपले गर्नुहुन्छ । उहाँले येशू ख्रीष्टमा भरोसा र विश्वास गर्नेहरूलाई जोगाएर राख्नुहुन्छ । बाइबलमा बताइएका परमेश्वर सत्य हुनुहुन्छ । उहाँमा अलिकता पनि असत्यता छैन ।
#BackToTheCreator #God

No comments:
Post a Comment