परमेश्वरका छोराछोरी हुनाको खातिर आफूले चाहेको कुनै पनि घडी ब्रम्हाण्डको सर्वशक्तिमान परमेश्वरकहाँ सम्पर्क राख्ने पूर्ण अधिकार तपाईंलाई दिइएको छ । उहाँ सधै स्वर्गमा विराजमान हुनुहुन्छ, तथापि उहाँको उपस्थितिमा प्रवेश गर्न स्वर्गदूतहरूको जति अधिकार छ, त्यति नै तपाईको पनि छ । तपाईं उहाँको निमन्त्रणाको लागि पर्खनु पर्दैन किनकि तपाईंको निमन्त्रणा अघि नै भइसकेको छ । उहाँ कहाँ पुग्नको लागि तपाईंले कुनै समय तोक्नु पर्दैन, तत्काल प्रवेश गर्ने अधिकार तपाईंलाई दिइएको छ । परमेश्वर तपाईंको कुरा सुन्न नसक्ने गरी व्यस्त कहिल्यै हुनुहुन्न, न ता तपाईंको प्रार्थनाको उत्तर दिन नै ढिलाई गर्नुहुन्छ ।
वेलायतकी रानी एलिजावेथलाई भेट्न अघि एकजना व्यक्तिलाई भनिएको थियो, “तिमी आफू पहिले कहिल्यै नबाेल्नु, तर तिमीलाई बोलाए पछि मात्र बोल्नु ।” तिम्राे प्रथम जवाफमा “हजुर सरकार” भन्नु ।
तर ब्रह्माण्डको प्रभुसंग बोल्दा यो ठीक विपरित हुन्छ । येशूले भन्नुभयो, “जब तिमीहरू प्रार्थना गर्छौ तब ‘पिता’ भनेर सम्बोधन गर्नु ।” [लुका ११:२] परमेश्वरलाई पुकारा गर्दा सम्बोधन गरिने कुनै त्यस्तो औपचारिक शब्द छैन, जसका प्रयोगद्वारा परमेश्वरको अनादर हुन्छ, नता कुनै खास शब्दहरू नै छन, जसको प्रयोगद्वारा तपाईंको प्रार्थना शुद्ध मानिन्छ वा प्रार्थनाको उत्तर निश्चित ठहराइन्छ । प्रार्थना गर्दा सम्बोधन गर्नु पर्ने खास त्यस्तो कुनै औपचारिक शब्द छैन, जुन कुराको प्रयोग गर्न तपाईं वाध्य हुनुहुन्छ ।
रानी एलिजावेथको भारत भ्रमण हुँदा एउटी सानी केटीलाई फूलमाला लगाउन अह्नाइएको थियो । रानीलाई फूलको गुच्छा दिन कसरी अघि बढ्नु पर्छ र दिइसकेपछि पीठ नफर्काइकन कसरी पछि सर्नु पर्छ भनि त्यो केटीलाई हप्तौंसम्म अभ्यास गराइएको थियो । तर रानीका छोराछोरीहरूलाई भने आपनो आमालाई त्यसरी सम्बोधन गर्नु पर्ने कुनै खास नियम लागु हुँदैन ।
प्रार्थनामा तपाईं परमेश्वरकहाँ उहाँको छोराछोरीको रूपमा आउनुहुन्छ । तपाईंलाई कुनै स्वर्गदूतले परिचय गराइदिनु पर्दैन । त्यसको लागि तपाईं आफूलाई बढी ग्रहणयोग्यको बनाउनु पनि पर्दैन, नता उहाँलाई के भन्नु पर्ने हो भनि होशियारसाथ पूर्व तयारी नै गर्नुपर्छ । उहाँकहाँ आउँदा तपाईं जस्तो हुनुहुन्छ, त्यस्तै आउनुहोस । आपनो हृदय खोलेर तपाईं कस्तो अनुभव गर्दै हुनुहुन्छ र के चाहनुहुन्छ सो उहाँलाई नहिच्किचाई बताउनुहोस । त्यहाँ कुनै यस्तो प्रार्थना मन्त्र छैन, जो एक भन्दा अर्को बढी पवित्र मानिन्छ । तपाईं परमेश्वरका छोराछोरी हुनुहन्छ र उहाँ तपाईंलाई भेट्न अति उत्सूक हुनुहुन्छ ।
यसकारण लेखिएको छ,
“तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो।” [यूहन्ना १:१२]
“तिमीहरू पुत्र भएका हुनाले परमेश्वरले आफ्ना पुत्रको आत्मा हाम्रा हृदयमा पठाइदिनुभयो, जसले ‘हे अब्बा, पिता!’ भनेर पुकार्नुहुन्छ।
यसैकारण, परमेश्वरद्वारा तिमी अब उप्रान्त दास होइनौ, तर पुत्र हौ, र पुत्र हौ भनेता उत्तराधिकारी पनि हौ।” [गलाती ४:६-७]
“यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौं।” हिब्रू ४:१६
“तर तिमीहरू त सियोन पर्वतमा आएका छौ, जीवित परमेश्वरको सहर, स्वर्गीय यरूशलेममा, र असंख्य स्वर्गदूतहरूको आनन्द-उत्सवमा आएका छौ।
स्वर्गमा नाउँ दर्ता भएका पहिला जन्मेकाहरूका सभामा तिमीहरू आएका छौ। तिमीहरू सबका न्यायकर्ता परमेश्वरकहाँ, सिद्ध पारिएका धार्मिक मानिसहरूका आत्माका बीचमा, र नयाँ करारका मध्यस्थ येशूको सम्मुख तथा छर्किएको त्यस रगतको सामु आएका छौ, जसले हाबिलको रगतभन्दा अझ उत्तम वचन बोल्दछ।” [हिब्रू १२:२२-२४]
“यसकारण भाइ हो, येशूको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ।
हाम्रा निम्ति एउटा नयाँ र जीवित मार्ग उहाँले खोलिदिनुभयो, जसको कारण पर्दाद्वारा, अर्थात उहाँको शरीरद्वारा भएर हामी भित्र पस्न सक्छौं।
परमेश्वरको घरानामा हाम्रा एक जना महान पूजाहारी हुनुभएको हुनाले, हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्याइएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीप जाऔं।” [हिब्रू १०:१९-२२]
Source :
पुस्तक : प्रार्थनाद्वारा विश्व स्पर्श, लेखक : वेस्ली एल डुवेल, अनुवाद : पिटर थापा, Reprint 2012, पृ.सं. २१-२२

No comments:
Post a Comment