Monday, November 4, 2024

सेतो र रातो कुकुरको कथा

 

 घोप्टे माइलाको एउटा सेतो र रातो कुकुर थियो। दुवै कुकुर फुर्तिला, छरिता र निकै भयावह देखिन्थे। उसले गाउँको हाटबजारमा कहिलेकाहीँ दुवै कुकुर लैजान्थ्यो र मानिसहरूको मनोरञ्जनको लागि जुध्न लगाउँथ्यो। उसले भन्थ्यो, “ल भन्नुहोस, सेतोले जित्छ कि रातो कुकुरले जित्छ?”


मानिसहरूले ती कुकुरलाई हेरेर कतिले सेतोले जित्छ भन्थे त कतिले रातोले जित्छ भन्थे। यसपालि प्रायः सवैले भने, “सेतोले जित्छ।”


सबै उत्तेजित मानिसहरूलाई हेर्दै घोप्टे माइलाले भन्यो, “होइन, रातोले जित्छ।”


दुई कुकुरको बीचमा भिडन्त भयो। मानिसहरूलाई रमाइलो भयो र अन्त्यमा रातो कुकुर विजयी भयो।


अर्को पटक पनि सो बजारमा ती दुई कुकुरहरू लिएर घोप्टे माइला पुग्यो। मानिसहरूको धुइरो जम्मा भयो। भिडन्त हेर्न, अरू मानिसहरू पनि थपिए। ती दुवै कुकुर एकअर्कामा लड्न तयार भए।


तव घोप्टे माइलाले भन्यो, “लौ भन्नुहोस, यसपटक सेतोले जित्छ कि रातोले जित्छ?”


यस पटक सवैले एउटै स्वरमा वोले, “रातोले जित्छ।” तर सेतो कुकुर सुम्सुम्याउँदै घोप्टे माइलाले भन्यो, “होइन यसपाली सेतो कुकुरले जित्छ।”


दुई वटा कुकुरहरू केही बेरसम्म लडिरहे। आखिरमा सेतोले रातोलाई हरायो। सबै छक्क परे, के कुकुरले घोप्टे माइलाको कुरा बुझ्छ भनेर। उसले जसलाई भन्यो, त्यसैले जित्छ। यो खेल घोप्टे माइलाले खेलाइरह्यो र उसले भनेअनुसार नै प्रतिफल भयो। पछि कसैले यो जित र हारको रहस्य घोप्टे माइलासँग सोध्यो।


तब उसले भन्यो, “म जुन कुकुरलाई जिताउन चाहन्छु, सो कुकरलाई त्यो हप्ता वा महिना मासु हड्डी र अरू खाने कुरा खान दिन्छु, त्यसले जित्छ। जुनलाई म त्यस्तो खाना दिन्नँ, त्यो हार्छ।”


मान्छेको आत्मिक जीवन हामीले खाने आत्मिक भोजनमा निर्भर हुन्छ।


* तपाईंले शरीरलाई बढी भाेजन खुवाउँदै हुनुहुन्छ या आत्मालाई बढी भाेजन खुवाउँदै हुनुहुन्छ?


Source :

२०० दृष्टान्त चित्रहरू, सलोन कार्यक, प्रकाशक : वरदान प्रकाशन, दोस्रो संस्करण, जुन, २०१३, मुद्रणः किशोर अफसेट प्रेस (प्रा.) लि. गल्कोपाखा, काठमाडौं, पृष्ठ नम्बर १०५-१०७


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...