यो केही वर्ष अघिको कुरा हो - बाटोको छेउमा म बसको लागि पर्खिरहेको थिएँ, त्यसबेला तीन जना मानिसहरू मेरो नजिकै आइपुगे, र मेरो ध्यान केही समय उनीहरूतिर गयो। मैले यहाँ एउटा अचम्मको कुरा देख्न पाएँ, यो घटना बिर्सन सकिन र आज तपाईंलाई बताउन चाहन्छु।
यी तीन जना मानिसहरूमा एक जना पियक्कड रहेछ। त्यसले रक्सीको गन्ध थाहा पाएर अरू दुई जनालाई एउटा सानो घरतिर डोऱ्याइरहेको थियो। त्यो घर रक्सीको भट्टी रहेछ। त्यस पियक्कडले अरुलाई त्यही भट्टीभित्र पस्न कर लाएको मैले देखें। तर त्यस पियक्कडका दुई जना साथीहरूले मानेनन, किनभने एक जना कहिलेकाँही मात्र मद्यपान गर्ने र अर्कोचाहिँ कहिल्यै नगर्ने व्यक्ति थिए।
पियक्कडलाई पिऊँ, पिऊँ भइरहेको थियो, र त्यसले कहिलेकाँही मात्र अलि अलि पिउनेलाई तान्दै भट्टीभित्र लग्यो। यसरी तेस्रो मानिस पनि तिनीहरूको पछि लाग्यो।
भट्टीको ढोका खुला भएकोले यी तीन जनाले के के गर्दारहेछन सो चाल पाउन म इच्छुक भएँ र हेर्नलाई अलि नजिक गएँ। पियक्कड आफ्नो राज्यमा पुगेजस्तै एकदम खुशी थियो, किनभने त्यसले आफुलाई चारैतिर रक्सी, बियर र रमका बोतलहरूले घेरिएको महसुस गर्यो। तुरुन्तै त्यसले भट्टीवालासँग एक बोतल रक्सी र तीनवटा गिलास मागिहाल्यो। त्यो बोतल पाउनसाथ त्यसले तीनवटा गिलासमा रक्सी हाल्यो र पिउन थाल्यो। त्यसका दुई जना साथीहरूले पिउन ढिलो गरेकोमा त्यसले अचम्म मान्यो र “लेओ” भनेर तिनीहरूलाई पिउने साहस दियो। एक जनाले त्यसको कुरा मान्यो र त्यसलाई खुशी पार्नको निम्ति अलिकति पियो। त्यो देखेर पियक्कड खुशी भयो र त्यस साथीको काँधमा धाप मार्दै त्यसलाई स्यावासी दियो। अर्को साथीतिर हेर्दै त्यसले पनि यसै गर्ला भन्ने आशा गर्ने पियक्कडले के सुन्नुपर्यो? त्यस साथीले, माफ मागेर “म पिउँदिन, मैले कहिल्यै पिएको छैन, र पिउन पनि चाहँदिन”, भन्यो । तब पियक्कडले त्यसलाई जबरजस्ती कर लगाउँदै “तिमीले पिउनैपर्छ नत्र तिमी मेरो साथी होइनौ”, भनी भन्न थाल्यो। त्यो नपिउने साथीले फेरि मानेन र हात जोडेर त्यसलाई बिन्ती गर्यो। तब पियक्कड रिसायो र त्यस साथीलाई गाली गरेर त्यसलाई बल्ल आफ्नो इच्छामा छोडिदियो। त्यसपछि त्ससैले रक्सीको बोतल रित्तो नपारुन्जेल अर्को साथीसँग रक्सी पिउँदै बस्यो।
यो घटना मेरो निम्ति अति अचम्मको थियो। अनि मैले यहाँबाट एउटा कुरा सिके, कि मद्यपान अति दुष्ट, खतरा र विनाशकारी चीज रहेछ। यस चीजले कति परिवारहरूमा ठूलो दुःख ल्याएको छ, अनि कति धेरैलाई कङ्गाल तुल्याएको छ। यसले असंख्य मानिसहरूबाट सम्पूर्ण धन-सम्पत्ति मात्र खोसेको होइन, तर तिनीहरूको स्वास्थ्य, होश र प्राणसमेत नष्ट गरेको छ। यसैले म आज तपाईंको सामु यस ज्यादै खराब विषको विरोधमा, साथै यस्तै नशा बेच्ने वा सेवन गर्नेहरूका विरोधमा मेरो स्वर उठाउन र यसको खराबीको बारेमा परमेश्वरको वचनबाट सबैलाई चेतावनी दिन चाहन्छु। यस सम्बन्धमा हामी पवित्र बाइबलमा यसरी लेखिएको पाउँछौ,
“दाखमद्य उपहास गर्ने हो, र मदिराचाहिँ कचिङ्गल मच्चाउने हो, यी कुराहरूका लतमा रुमलिनेहरू बुद्धिमान हुँदैनन।” (हितोपदेश २०:१)
रक्सी खतरा चीज हो भन्ने कुरा पिउनेहरू स्वीकार गर्न तयार छैनन। तर यी मानिसहरू ठगिइसकेका छन। मदिराले तिनीहरूसित ठट्टा गरेको छ र तिनीहरूलाई कुबाटोतिर लगिसकेको छ, तर पनि तिनीहरुलाई रमाइलो लाग्छ, झन तिनीहरूलाई रोक्न चाहनेसँग तिनीहरूले झगडा गर्न आउँछन।
“सुख-विलासको प्रेम गर्ने दरिद्र हुनेछ, दाखमद्य र तेललाई प्रेम गर्ने कहिल्यै धनी हुनेछैन।” (हितोपदेश २१:१७)
मद्यले तिनीहरूलाई गरिब तुल्याउँछ भन्ने कुरा पिउनेहरूले बुझ्दैनन, किनभने तिनीहरूले यस विषलाई धेरै माया गर्छन। तिनीहरू घर, जग्गा-जमीन, र सारा सम्पत्तिसमेत रक्सीको लागि दिन तयार छन। यो हो, तिनीहरूको पाप।
“बेसरी दाखमद्य पिउनेहरू, अथवा सकेसम्म मासु हसुर्नेहरूसँग सङ्गत नगर, किनभने मतवाला र खन्चुवाहरू दरिद्र बन्छन, र यस्तो लट्ठयाइले तिनीहरू झुत्रे बन्छन।” (हितोपदेश २३:२०-२१)
मतवाला र घिचुवाहरूको साथी गरीब हुन्छ र थाङ्ना ओढ्नैपर्छ भन्ने कुरा नपिउनेले मात्र बुझ्छ। पियक्कडले त्यो अनुभव आफै गर्नुपर्छ। त्यसले आफ्नो घर परिवारलाई अनेकौं दुःख दिन्छ। आफ्ना छोराछोरीहरू र आफ्नी पत्नीले खाए लाएका छन कि छैनन भनी त्यसलाई कुनै फिक्री हुँदैन। निकम्मा मानिसहरूसित लागेर त्यसले मद्य खोजिहिँड्छ र आफ्नो परिवारलाई रुवाउँछ र शोकमा डुबाउँछ।
“कष्ट कसलाई हुन्छ? शोक कसलाई हुन्छ? कलह कसलाई हुन्छ? गुनासो कसलाई हुन्छ? कसलाई अनावश्यक चोटपटक लाग्छ? कसका आँखाहरू रगतजस्ता राता हुन्छन? तिनीहरूकै जो मद्यमै भुलिरहन्छन, जुनहरू मिश्रित मद्यको प्याला चाख्न जान्छन।” (हतोपदेश २३:२८-३०)
मद्यले हामीहरूलाई के गर्छ? त्यसले हामीलाई कष्ट दिन्छ, आपसमा झगडा उत्पन्न गराउँछ र हामीलाई व्यर्थ कुरा बक्न लाउँछ। त्यसले हाम्रो दिमाग विगार्छ, हामीलाई बन्धनमा पार्छ र हामीलाई आफ्नो कब्जाबाट निस्केर जान दिँदै दिँदैन।
“रातो दाखमद्यमा एकटक लगाएर नहेर, जब त्यो कचौरामा राख्दा फौंज उठ्छ, जब त्यो सहजै उँधो जान्छ। अन्त्यमा त्यसले सर्पलेझै डस्छ, र गोमनलेझै विष हालिदिन्छ। तेरा आँखाले अनौठा दृश्यहरू देख्नेछन, र तेरो मनले अलमल्याउने कुराहरू विचार गर्नेछ। महासमुद्रमा सुतिरहेझै तँलाई हुनेछ, मस्तूलका डोरीको मास्तिर झुण्डिरहेझै तँ हुनेछस। तैले भन्नेछस, 'तिनीहरूले मलाई हिर्काउँछन, तर मलाई चोट लाग्दैन! तिनीहरू मलाई पिट्छन, तर मलाई थाहै हुँदैन! म कहिले ब्यूझुँला, र म अझ पिउन सक्नेछु'?” (हितोपदेश २३:३१-३५)
जाँड-रक्सी कसै-कसैलाई मीठो लाग्ला, तर अन्त्यमा यो सर्पको विषजस्तै हुन्छ। नशाको विष लागेको मानिस लठ्ठिएको हुन्छ। त्यो सजिलैसँग व्यभिचारीणी स्त्रीहरूको हातमा पर्छ। नचाहिँदा र फोस्रा कुराहरू बोलेर त्यसले आफ्नो बढाइ-चढाइ गर्छ तर त्यो आफैं मद्यको कैदी भएको छ, भनी महसुस गर्दैन। यसो गर्दा त्यसले पापमाथि पाप थप्दै जान्छ, आफ्नो अमूल्य आत्मालाई अनन्त नरकको आगोमा पुऱ्याएर त्यसलाई सदाको लागि गुमाउनुपर्छ।
“तिनीहरूलाई मदिरा देऊ जो नष्ट भइरहेका छन, दाखमद्य त्यस्ताहरूलाई देऊ, जसलाई विरह चलेको छ। तिनीहरूले पिऊन र आफ्नो दरिद्रता भुलून, र आफ्नो वेदना फेरि नसम्भून।” (हितोपदेश ३१:६-७)
मनको पीरले गर्दा र आफ्नो घरका दुःखहरू खप्न नसकेका हुनाले धेरै मानिसहरूले मद्य-मदिराको सहारा लिन्छन। थोरै समय भए पनि तिनीहरूले आफ्नो समस्या विर्सन चाहन्छन। गरीब, दुःखीहरूबाट सारा संसारले नाफा उठाएको छ, कसरी ? तिनीहरूलाई मद्यपान बेचेर र खुवाएर नै। कसको पसल वा होटेलमा बियर र रक्सी छैन? अरु सबै सामानहरू भन्दा बियर र रक्सी नै बढी बिक्छ भनी सबैले भन्छन।
“धिक्कार तिनीहरूलाई, जो मद्य पिउन बिहानै उठ्छन, जो मातेर चूर हुन राती अबेरसम्म बस्छन।” (यशैया ५ः११)
“धिक्कार त्यसलाई, जसले आफ्ना छिमेकीहरूको नाङ्गो शरीर एकटक लगाएर हेर्न आफ्नो मशकबाट तिनीहरूलाई मद्यपान गराई टिल्ल पार्छन।” (हबकूक २:१५)
“धिक्कार तिनीहरूलाई, जो दाखमद्य पिउनलाई वीर, र मद्य मिसाउनलाई निपुण छन।” (यशैया ५:२२)
धिक्कार! धिक्कार !! धिक्कार !!! तीनपल्ट तिनीहरूलाई धिक्कार, जो मदिराको खोजमा हिँड्दछन, जो मद्य बनाउने, बेच्ने वा पियाउने काम गर्दछन। के त्यो श्राप र दोष तपाईंलाई पनि लाग्छ? तब होशियार हुनुहोस, किनभने तपाईंले ठूलो पाप गर्नुभएको छ। यसको लेखा तपाईंले एक दिन एकमात्र सत्य परमेश्वर हाम्रो सृष्टिकर्तालाई दिनुपर्छ।
“पुरानो दाखमद्य र नयाँ दाखमद्यतिर तिनीहरू लागेका छन, जसले मेरा प्रजाको समझलाई नष्ट गर्दछन।” (होशे ४:११)
व्यभिचारमा फँसेर धेरै मानिसहरू नाश भए, तर रक्सी-जाँडले गदा झन बढी मानिसहरूको समझ बिग्रन गएको छ। तिनीहरू के गरिरहेका छन, सो जान्दैनन र बुझ्दैनन, किनभने तिनीहरूको होस रहेन। अब यस्ताहरूको हालत के हुनेछ त?
“पापमय स्वभावका कामहरू प्रत्यक्ष छन, जो यी नै हुन- व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैझगडा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी, डाह, पियक्कडपन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेतवानी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन, परमेश्वरका राज्यका हकदार बन्नेछैनन।” (गलाती ५:१८-२१)
मतवालाहरू परमेश्वरको राज्यको हकदार हुँदैनन। तब तिनीहरूको भाग के हो त? तिनीहरूको भाग कहिल्यै ननिभ्ने नरकको आगो हुनेछ। तब के हामीलाई आफ्नो विषयमा होशियार हुनु खाँचो छैन? के हामीले आफ्नो आत्माको निम्ति फिक्री गर्नु पर्दैन र? नरकमा पर्नुभन्दा अघि नै परमेश्वरको डर मानेर हामीले मद्यपान गर्ने बानी सधैका लागि छाड्नुपर्छ।
“तर तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता भोग-विलास, मतवालापन र जीवनको फिक्रीले तिमीहरूको मन दविएला, र तिमीहरूमाथि एक्कासि त्यो दिन पासोम्हें आईपर्ला। किनकि यसरी नै सारा पृथ्वीमा वास गर्ने सबैमाथि यो आईपर्नेछ। तर आईपर्ने यी सबै कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामुन्ने खड़ा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो।” (लूका २१:३४-३६)
हामी सबै एकदिन प्रभु येशूको सामु उभिनुपर्छ र आफ्नो जीवनको लेखा दिनुपर्छ। के उहाँको दृष्टिमा तपाईं योग्य ठहरिनु हुन्छ? मात्तिइरहनेहरू सबैमाथि त्यो दिन एक्कासि आईपर्नेछ। परमेश्वरको सामु न्यायमा उभिनको लागि तिनीहरूले आफूलाई तयार गरेनन भने तिनीहरुका दुष्ट कामका फल तिनीहरुले अवश्य भोग्नु पर्नेछ।
“बितेका दिनमा अन्यजातिहरूले गरेझै तिमीहरूले व्यभिचार, कुवासना, मद्यपान, मोजमज्जा, पियक्कडपन र घृणित मूर्तिपूजामा प्रशस्त समय बितायौ। तिमीहरू तिनीहरूसँग भ्रष्टताको बाटोमा नहिँडेका देखेर तिनीहरू छक्क पर्छन, र तिमीहरूको बदख्वाइँ गर्छन। तर जीवित र मृतकहरूका न्याय गर्न तत्पर हुनुहुनेलाई तिनीहरूले लेखा दिनुपर्नेछ।” (१ पत्रुस ४:३-५)
बितेका समयमा हामीले मद्यपान गरेर जीवन बितायौं, मोजमज्जा गर्यो होला तर अब पुग्यो। अब हामी यी पापहरूबाट साँचो गरी पश्चाताप गरौ र यस्ता घिनलाग्दा पापहरू सधैंको लागि त्यागौं। विनाशको बाटो छोडेर तपाईं जिउँदो प्रभु येशूकहाँ आउनुहोस। उहाँले तपाईंलाई सबै पापहरूका बन्धनबाट र मद्यपान गर्ने पापबाट पनि छुटकारा दिनुहुन्छ।
“दिउँसोजस्तै गरी हामी ठीकसँग चलौं। मोजमज्जामा, पियक्कडपनमा, व्यभिचारमा, भ्रष्टाचारमा, झगडामा र डाहमा होइन। तर प्रभू येशू खीष्टलाई धारण गर, र पापमय स्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेओ।” (रोमी १३:१३-१४)
परमेश्वरको सामु इमान्दारी बन्नलाई हामीले मात्ने र मोजमज्जा गर्ने बानी र अरु पापहरू फाल्नुपर्छ। प्रभु येशूमाथि विश्वास राखेर हामीले उहाँलाई मुक्तिदाताको रूपमा आफ्नो हृदयमा ग्रहण गर्नुपर्छ। उहाँको पवित्र गुण हामीले धारण गर्नुपर्छ। धेरै मानिसहरूले प्रभु येशूमाथि विश्वास गरेर मद्यपान गर्ने बन्धनबाट छुटकारा पाए। तपाईले पनि छुटकारा पाउनुपर्छ। प्रभु येशू पापको बन्धनमा परेका सबैको मुक्तिदाता हुनुहुन्छ। उहाँको नाम पुकारी उहाँमा शरण लिनुहोस र सबै पापबाट मुक्त हुनुहोस।
“अधर्मीहरू परमेश्वरका राज्यको हकदार हुँदैनन भन्ने के तिमीहरूलाई थाहा छैन? धोखा नखाओ-अनैतिकहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू परमेश्वरको राज्यको हकदार हुनेछैनन। तिमीहरू कोही यस्तै थियौ, तर तिमीहरू धोइयौ, पवित्र पारियौ, प्रभू येशू ख्रीष्टको नाउँमा हाम्रा परमेश्वरका आत्माद्वारा निर्दोष ठहराइयौ।” (१ कोरिन्थी ६ः१-११)
हो, अरू अधर्मीहरू जस्तै मतवालाहरू पनि परमेश्वरको राज्यका हकदार हुन सक्दैनन। तर खुशीको कुरा के हो भने यस्ता पापीहरूलाई बचाउन प्रभु येशू यस संसारमा आउनुभयो। हामीलाई सबै पापहरूको बन्धनबाट छुटाउनको निम्ति उहाँले क्रूसमा आफ्नो प्राण पाप-बलिको रूपमा दिनुभयो र आफ्नो निर्दोष, अमूल्य रगत बगाउनुभयो। यसरी ने प्रभु येशूले हामी सबैको लागि छुटकाराको दाम तिरिदिनु भयो। हामीलाई अति प्रेम गरी उहाँ हाम्रो निम्ति मर्नुभयो र मुक्तिको प्रबन्ध तयार गर्नुभयो, त्यसपछि मरेको तेस्रो दिनमा उहाँ पुनरूत्थान र उहाँका चेलाहरूकहाँ देखापर्नु भयो। उहाँ मृत्युमाथि विजयी हुनुभयो। प्रभु येशू जिउंदो प्रभु हुनुहुन्छ। उहाँले तपाईलाई पापको क्षमा र पवित्र आत्मा दिनुहुन्छ।
यसकारण येशुको नाम पुकारी आफ्ना पाप उहाँको सामु प्रार्थनामा मानिलिनुहोस। आफ्नो जीवन उहाँको शक्तिशाली, प्रेमपूर्ण हातमा मुम्पिदिनुहोस। प्रभु येशुले तपाईलाई अवश्य बचाउनुहुनेछ।
“दाखमद्यले नमात्तिओ, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण होओ।” (एफिसी ५:१८)
हाम्रो निम्ति परमेश्वरको इच्छा स्पष्ट छः मद्यपान गरी हामी मात्तिनुहुँदैन, किनभने त्यसले हामीलाई चरित्रहीन बनाउँछ। तर जब हामी पवित्र आत्माले भरपूर हुन्छौं, तब हाम्रो जीवनबाट परमेश्वर प्रशन्न हुनुहुन्छ, किनभने त्यही पवित्र आत्माले हामीमा प्रेम, आनन्द, शान्ति र मिलापजस्ता राम्रा राम्रा गुणहरु पैदा गर्नुहुन्छ। यसकारण, आफ्नो जीवन विश्वाससाथ प्रभु येशूको अधीनतामा सुम्पनुहोस। तब तपाईं मतवाला हुनु पर्दैन। तर प्रभु येशूमाथि विश्वास राखेको हुनाले तपाईं मद्यपानको बन्धनबाट, साथै अरु सबै पापहरुबाट पनि छुटकारा पाउनुहुनेछ, र पवित्र आत्माले तपाईंलाई भर्नुहुनेछ। यसरी नै तपाईंको जीवनबाट परमेश्वरको महिमा हुनेछ।
Source :
सुसमाचार पर्चा : मदिरा क्या मीठो ! त्यसको नतिजा क्या तीतो !!

No comments:
Post a Comment