येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो,
“साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन।
किनभने जीवनमा पुर्याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ, र त्यो भेट्टाउने थोरै नै हुन्छन।” [मत्ती 7:13-14]
येशूको यो भनाइले सायद, साँघुरो र फराकिलो ढोका शीर्षकको चित्रकलाको जन्म दियो। यस पेन्टिङको प्रिन्ट संसारभरका धेरै घरहरूमा टाँसिएको छ।
फराकिलो ढोका :
पेन्टिङको बायाँपट्टि एउटा ठूलो गेट छ, जसमा “स्वागत” शब्द लेखिएको छ। यसबाट फराकिलो बाटो छ। यस बाटोमा पेय पदार्थको मजा लिन सकिने ठाउँ, बलरूम र क्यासिनो छ।
हामी फराकिलो बाटो रोज्न सक्छौं। त्यहाँ हामीसँग धेरै साथीहरू हुनेछन। यो सडक एकदम फराकिलो र सबैलाई मिल्ने, आरामदायी र रमाइलो छ। यो चिल्लो सडकमा कुनै अवरोधहरू छैनन। यो लोकप्रिय तरिका हो र त्यहाँ कुनै बलिदानकाे आवश्यक छैन।
तपाईं आफ्नो घमण्ड, तपाईंले मन पराउने पापहरू, र तपाईं वरपर संसार अनुरूप जीउन सक्नुहुन्छ। घृणा, स्वार्थ, बेइमानी र अनैतिक जीवन शैली यहाँ छ। यो समावेशी र निषेध मुक्त देखिन्छ, तर यी सबै चीजहरू शैतानबाटकाे झूट हुन। यसले विनाशमा पुर्याउँछ। जहाँ नरकको ज्वाला दन्किन्छ, त्यहीँ यस यात्राकाे अन्त्य हुन्छ।
साँघुरो ढोका :
पेन्टिङमा दायाँपट्टिको साँघुरो गेटमा प्रचारकले कोही मानिसहरूलाई पर्खिरहेका छन।
येशूले साँघुरो ढोका के हो भनेर व्याख्या गर्नुभयो। उहाँले भन्नुभयो, “ढोका म हुँ। यदि कोही मबाट प्रवेश गर्छ भने, उसले उद्धार पाउनेछ।” (यूहन्ना १०:९) येशू बाटो हुनुहुन्छ, “म बाटो, सत्य र जीवन हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ जाँदैन।” (यूहन्ना १४:६) हामी आफ्नै योग्यतामा साँघुरो ढोकाबाट जान सक्दैनौं, तर केवल येशू हाम्रा पापहरूको लागि मर्नुभयो र त्यसपछि बौरी उठ्नुभयो भन्ने विश्वासद्वारा जान सक्छौं।
ढोकाबाट भित्र पस्ने गन्तव्य होइन, तर ख्रीष्टियन जीवनको बाटोको प्रवेशद्वार हो, कठिन बाटोकाे यात्रा अझै बाँकी छ। किन येशूले यसलाई गाह्रो र थोरैले मात्र यसलाई भेट्टाउन सक्षम छन भनेर वर्णन गर्नुभयो? किनकि साँघुरो ढोकाबाट बाटो पछ्याउन ठूलो कुराको माग छ। साँघुरो सडकमा अबरोधहरू धेरै छन, जसले यसलाई गाह्रो बनाउन सक्छ। येशूले हाम्रो समय र बलिदान मात्र होइन, हाम्रो हृदय, हाम्रो जीवनको माग गर्नुहुन्छ। “जसले मेरो लागि आफ्नो जीवन गुमाउँछ उसले त्यो भेट्टाउनेछ।” (मत्ती १०:३९) हामी अब आफ्नो होइनौं किनभने हामी येशूको रगतले मोल गरेर किनिएका छौं। (१ कोरिन्थी ६:२०)
साँघुरो ढाेकाबाट प्रवेश गरेपछि बाटो सानो र कठिन हुन सक्छ, तर यो सबैको लागि खुला छ। जब येशूले भन्नुभयो थोरै प्रवेश गर्नेछन, उहाँले केबल एक निजी वा विशेष समूहको भागको रूपमा भन्नुभएन। याे अनन्त जीवनको बाटो येशूमा विश्वास गर्ने जो कोहीको लागि खुला छ।
यो सडक एउटा चर्च र क्रसको छेउमा, केही सिँढीहरूसँगै र चर्च हेरचाह केन्द्रको छेउमा जान्छ। धेरै अवरोध र कठिन बाटोकाे यात्रापछि त्यो सुनौलो शहर, स्वर्ग वा नयाँ जेरुसेलम पुग्छ।
तपाईं अनन्त जीवनको बाटोमा हुनुहुन्छ, वा तपाईं विनाशको बाटोमा हुनुहुन्छ। त्यो बाहेक बीचको बाटो छैन।
२ वटा ढोका, २ बाटो र २ गन्तव्य मात्र छन।
छनोट तपाईंकाे हो।


No comments:
Post a Comment