Saturday, April 22, 2023

शैतानकाे गोप्य महासभा !

 



सुनसान जंगलको बाटो जाँदै थिए। अचानक अनौठो किसिमको हो-हल्ला सुनें। केको हल्ला हो हेर्नुपर्यो भन्ने मनसायले म त्यहीँ आवाजलाई पछ्याउँदै आफ्नो पाइला लम्काए। अलिकति अघि बढेपछि म झस्किए, किनकि मैले अचम्मको कुरा देखे, त्यहाँ त शैतान र उसको सेनाहरुको गोप्य महासभा पो चल्दै रहेछ। अरु के-के हुँदाे रहेछ भनेर लुकेर नियाली बसें, त्यो महासभाको प्रमुख चाहिँ स्वयं शैतान रहेछ। अनि लाखौं घिनलाग्दा भुतात्माले घेरिएर बसेको शैतान अलिक निराश देखिन्थ्याे। महासभामा विभिन्न घिनलाग्दा फोहोरी रीस उठ्दा आत्माहरु उपस्थित थिए। झुटको आत्मा, ब्यभिचारको आत्मा, हत्यारा आत्मा, चोरीको आत्मा, निराशाको आत्मा, रोग बिराम फैलाउने आत्मा, आदि इत्यादि। महासभामा छलफल सुरु हुनभन्दा पहिला सानातिना भुतात्माहरुद्वारा शैतानको जयजयकार गरियो, “महाराज.. शैतानको जय...!”


शैतानले गर्जदैँ भन्यो, “समय अल्प छ, अन्त्य आइसक्यो, हाम्रो बिनाश निश्चित छ, तर हामीले धेरैलाई फसाउनु छ। त्यसैले तिमीहरूको केहि समस्या या सुझाव छ भने भन?”


त्यसै बिच एउटा मरन्च्यासे भुतात्मा रुनखोज्दै बोल्यो, “महाराज बिस्वासीहरु फसाउन एकदमै गार्‍हो भैरहेको छ। किनकि मण्डलीमा पहिला जस्तो सिधै आक्रमण गर्न गार्‍हो छ। ठुला- ठुला प्रचारकहरु जन्मिएका छन, तिनीहरूले प्रचार गर्दा त हाम्रो केहि लागेन, सतावटमा र जेलमा पर्दा पनि येशूबाट अलग हुँदैनन तर झन येशूको महिमा गर्दै आनन्द मनाउछन...।”


त्यसैमा अर्कोले थप्यो, “महाराज तिनीहरुलाई सिधै झुट बोल्नको निम्ति फसाउन गार्‍हो भयो। किनकि तिनीहरूले बाइबल धेरै पढ्न थालेका छन, अनि हामीलाई येशूको नाउँमा झुटको आत्मा दुर होइजा भन्दै भगाउँछन। के गर्ने होला अब, प्रार्थना गर्न पनि रोक्न सक्दैनौं। मण्डली जान पनि तिनीहरु जाेशिलाे भएका छन। मण्डली जान पनि रोक्न सकिन्न, बाइबल पनि जागर लगाएर पढ्न थालेका छन। महाराज हाम्रो त केहि नलाग्ने भयो।”


शैतान भुतात्माहरुको कुरा सुनेर एकछिन घोरिएर सोच्यो, अनि फेरि बोल्यो, “तिमीहरू किन चिन्ता गर्छौं? अहिलेसम्म त संसार मेरै हो, र म यो संसारको ईश्वर हुँ। तिमीहरूले आत्तिनु पर्ने कुनै कुरा छैन, बरु ध्यान दिएर मेरो 'युक्ति' सुन।”


“अब ख्रीष्टियनहरुलाई कसरी फसाएर येशूदेखि टाढा पार्नुपर्ने हो। त्यो कुरा म तिमीहरूलाई सिकाउँछु।” शैतानले त्यसोभन्दा न्याउरो अनुहार पारेर बसेका भुतात्माहरु पनि ठाडो नजरले मन्द मुस्कान र त्यो घिनलाग्दो अनुहारमा देखाए।


शैतानले सबैको ध्यान आफुतिर केन्द्रित गर्दै भन्यो, “हेर, अब तिमीहरूले ख्रीष्टियनहरुलाई मण्डली जान पनि नरोक्नु, प्रार्थना गर्न पनि नरोक, बाइबल पढ्न पनि नरोक, रोग बिरामले पनि नसताओ, सतावटमा पनि नपार तर यसो गर...


तिमीहरू पनि मण्डली भित्रै प्रवेश गर, जब प्रचारकले वचन प्रचार गर्न सुरु गर्छन, अरुलाई चाहिँ निन्द्रामा पार। आमा तथा दिदिबहिनीहरुलाई गफमा भुलाओ, त्यो देखेर प्रचारक निराश हुनेछ। अनि कसैले वचन बुझ्ने छैन र परमेश्वरको आज्ञा उलंघन गर्न सुरु हुनेछ, र त्यहीँबाट सबै सर्वनाशको सुरुवात हुनेछ। जब वचन नबुझेपछि मण्डलीमा कुरौटे आत्माले काम गर्नु अनि विशेष गरि महिलाहरुले एकले अर्काको विरुद्धमा खिल्ली उडाउदै परमेश्वरको आराधना बिटुलो पार्नेछ।


अगुवाहरुमा पनि प्रचुर मात्रामा घमण्ड हालिदेओ, ताकी तँ जान्ने कि म जान्ने भन्दै झगडा गरुन। बाइबल कलेज पढेको ज्ञानिहरुलाई झन बढि ज्ञानको घमण्ड हालिदेउ, ताकी तिनीहरुले अगुवाहरुको अनादर गर्दै मण्डली फुटाओस।


सुन्दर जवान-जवानीहरुमा रुपको, कलाको घमण्ड हालिदेओ, ताकि तिनीहरु येशूको भन्दा आफ्नो महिमा गरुन, र अन्त्यमा ब्यभिचारमा फसाओ। यसरी सबैको बचन सुन्नबाट ध्यान भंग गरेपछि तिनीहरुले परमेश्वरको सत्यता बुझ्ने छैनन, र मण्डलीमा झुटा शिक्षाको साथमा हामी राज गर्नेछौं।


अनि तिनीहरु मण्डली त जान्छन, बाइबल पनि पढ्छन, तर मन-मुटाबको साथमा एक अर्काको कुरा काटुन, अनि तिनिहरू घमण्डले फुलिन भेला हुनेछन।”


शैतानले त्यसो भनिसकेपछि सबै भुतात्माहरु खुशीले चिच्याउदै र शैतानको फेरि जयजयकार गरे। तिनिहरू शैतानको त्यो युक्ति शिराेपर गर्दै बिस्वासीहरुलाई फसाउन निस्किए...


ओहो... !

शैतानको कस्तो खतरनाक युक्ति...

कतै तपाईले सेवकाई गर्ने मण्डलीमा शैतानको युक्ति त प्रवेश गरिसकेको छैन?

कतै मण्डलीका आमा तथा दिदिबहिनीहरुमा ती कुरौटे आत्माले आक्रमण गरिसकेको त छैन?

कतै जवानहरुमा मन-मुटाब पो सुरु भै सकेको छन कि? 

अगुवाहरुमा घमण्डको नमुना देखा परिसकेको छन कि?

विश्वासीहरु बिच दुश्मनी, झगडा, ईर्ष्या, बदख्वाई र देखासिकीको आत्माले राज गरिसकेको पो छ कि?

बाइबलीय वचन लिएर विवाद भैरहेको छ कि? 

मण्डलीमा फुट हाल्ने आत्माले काम गरिसकेको पो छ कि? 

कतै तपाईलाई नै शैतानले ब्यस्त बनाइरहेको त छैन?


होस पुर्याउनुहोस... पक्कै पनि शैतानले तिब्ररूपमा हामीलाई फसाउन विभिन्न जाल रचिरहेको छ। माथिको एउटा दृष्टान्त कथा भएता पनि त्यसमा वास्तविकता लुकेको छ। अनि यसले हामीलाई सजग वा चनाखो रहन सिकाउँदछ। निक्कै पटक हामीले थाहा नै नपाई शैतानको पासोमा परिसकेका हुन्छौं। घमण्डले, अज्ञानताले, हामी भित्र शैतानले बास गरिसकेको हुन्छ। त्यसैले आजैबाट शैतानको युक्तिहरुलाई इन्कार गर्दै, सचेत र जागा हुँदै... उहाँको सेवामा व्यस्त हौँ।


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...