Monday, February 27, 2023

क्याल्भिनवाद र यसकाे त्रुटिहरू

 



क्याल्भिनवाद (Calvinism) भनेको सोह्रौं शताब्दीका स्वीस प्रोटेस्टेन्ट सुधारक जोन क्याल्भिनको धर्मशास्त्रीय सिद्धान्तमा विश्वास गर्नेहरूको समुह हो। क्याल्भिनवादमा मुख्य पाँचवटा सिद्धान्तहरू छन, जसको जगमा याे सम्प्रदाय खडा छ। क्याल्भिनवादका पाँच मुख्य सिद्धान्तहरू सामान्यतया T.U.L.I.P. अक्षरहरूद्वारा प्रतिनिधित्व गरिन्छ।

1. “T” - TOTAL DEPRAVITY (पुर्ण भ्रष्टता)
2. “U” - UNCONDITIONAL ELECTION (बिना शर्त चुनाव)
3. “L” - LIMITED ATONEMENT (सीमित प्रायश्चित)
4. “I” - IRRESISTIBLE GRACE (अप्रत्याशित अनुग्रह)
5. “P” - PERSEVERANCE OF THE SAINTS (सन्तहरूको अनन्त सुरक्षा)

1. “T” - TOTAL DEPRAVITY (पुर्ण भ्रष्टता)

मानिस आदमको पतनको परिणाम स्वरूप यति भ्रष्ट छ कि उसले आफ्नो पापी अवस्था देख्न र मुक्तिको लागि परमेश्वरलाई पुकार्न पनि सक्दैन, यो गलत सिद्धान्त हो। यो सत्य हो कि सबै मानिसहरु जन्मजात पापी हुन (रोमी 3:23; 5:12; भजन 51:5), तर यो पनि सत्य हो कि परमेश्वरले सबै मानिसहरूलाई पश्चात्ताप गर्न र ख्रीष्टलाई ग्रहण गर्न आज्ञा गर्नुहुन्छ (प्रेरित 17:30-31; 1 यूहन्ना 2:23; लुका 13:3)। मानिस साँच्चै भ्रष्ट छ, तर ऊ यति भ्रष्ट पनि छैन कि उसको आफ्नै स्वतन्त्र इच्छा नै छैन (2 पत्रुस 3:9; यूहन्ना 1:12; 3:16; यहाेशू 24:15; प्रस्थान 35:5, 21, 22, 29)। यसकारण पुर्ण भ्रष्टता गलत र अपुर्ण शिक्षा हो। यदि मानिससँग स्वतन्त्र इच्छा नै छैन भने परमेश्वर मानिससँग खेल खेल्दै हुनुहुन्छ, साथमा मानिस र किर्तिम मानिस (Robot) काे बिचमा कुनै फरक रहनेछैन।

2. “U” - UNCONDITIONAL ELECTION (बिना शर्त चुनाव)

जुन एफेसी 1:4-5 र रोमी 8:29 ईत्यादि पदहरूलाई मात्रै लिएरू गलत अर्थकाे साथ निर्माण गरिएको गलत शिक्षा हो। क्याल्भिनवादीहरू विश्वास गर्छन कि परमेश्वरले सबैलाई उत्पत्ति  1:1 भन्दा पहिले नै पूर्वनिर्धारित गर्नुभएको थियो, तिनीहरूको स्वतन्त्र इच्छालाई पूर्ण रूपमा बेवास्ता गर्दै तिनीहरूको लागि छनौट गर्न, अर्थात कसैको जन्म हुनुभन्दा धेरै अघि नै उहाँले को स्वर्गमा जाने र को नर्कमा जाने भन्ने निर्णय गर्नुभएको थियो। तपाईंले रोमी 8:29 र 1 पत्रुस 1:1-2 पढ्नुहुन्छ भने तपाईंले देख्नुहुनेछ कि परमेश्वरको चुनाव पूर्वज्ञानमा आधारित छ। तर उहाँले नै मानिसको स्वतन्त्र इच्छा विरुद्ध कसैलाई बचाउन वा धिक्कार्ने छनौट गर्नुभएन। कसले ख्रीष्टलाई रोज्ने र कसले नगर्ने सबै कुरा परमेश्वरलाई थाहा थियो, र उहाँले त्यस जानकारीको आधारमा आफ्नो “चुनाव” गर्नुभयो।

3. “L” - LIMITED ATONEMENT (सीमित प्रायश्चित)

यो विश्वास हो कि केवल सीमित संख्यामा मानिसहरू ख्रीष्टको बहुमूल्य रगतमा तिनीहरूका पापहरूबाट पखाल्न सकिन्छ, किनभने “चुनिएकाहरू” मात्र जसरी पनि बच्नेछन। विचार यो हो कि ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको लागि आफूलाई अर्पण गर्नुभयो (एफिसी 5:25); त्यसैले ख्रीष्टको रगत मण्डलीको लागि मात्र बगाइएको थियो, यो मुर्खता हो। 1 तिमोथी 2:6 ले बताउँछ कि ख्रीष्टले आफूलाई चुनिएकाहरू मात्र होइन, तर सबैका लागि छुटकाराकाे माेल दिनुभयो। सबैले पाप गरेका छन (रोमी 3:23); त्यसैले उहाँ सबैका लागि मर्नुभयो, र उहाँले उहाँलाई ग्रहण गर्ने “जतिलाई” बचाउनु हुन्छ (यूहन्ना 1:12)।
क्याल्भिनवादीहरूले प्रायश्चित असीमित छ भनी विश्वास गर्छन, तर उहाँको बचनले त येशू चुनिएकाहरूका पापहरूको लागि मात्र होइन, सम्पूर्ण संसारका पापहरूको लागि मर्नुभयो भनी भन्दछ।
“उहाँ हाम्रा पापका निम्‍ति प्रायश्‍चित हुनुहुन्‍छ, र हाम्रा निम्‍ति मात्र होइन, तर सारा संसारका पापका निम्‍ति पनि।” (१ यूहन्ना 2:2)

साथै यी बाइबलका पदहरूले पनि क्याल्भिनवादकाे याे सीमित प्रायश्चितकाे सिद्धान्त (शिक्षा) गलत छ भनी प्रमाणित गर्दछ। (युहन्ना 1:29, 3:16, 1 तिमाेथी 2:6, 2 पत्रुस 2:1)

4. “I” - IRRESISTIBLE GRACE (अप्रत्याशित अनुग्रह)

जुन गलत सिद्धान्त पनि हो। यो शिक्षाले बताउँछ कि परमेश्वर पवित्र आत्माले पापीलाई शक्ति दिनुहुन्छ र उसको अधीनता वा सकारात्मक प्रतिक्रिया बिना उसलाई नयाँ जन्म प्रदान गर्नुहुन्छ। हामीले पहिले नै देखेका छौं, मानिससँग स्वतन्त्र इच्छा छ र ख्रीष्टलाई प्रभु र मुक्तिदाताको रूपमा विश्वास गर्ने छनौट नगरी कसैले पनि मुक्ति पाउन सक्दैन। अपरिवर्तनीय अनुग्रह जस्तो कुनै चीज छैन। परमेश्वरले हामीलाई जुनसुकै वा हामीले रोजेको कुनै पनि कुराको प्रतिरोध गर्ने क्षमता दिनुभएको छ (प्रेरित 7:51; 2 तिमोथी 3:8; याकूब 4:7)। त्यहाँ समयहरू छन जब पवित्र आत्माको दोषी ठहराउने शक्ति यति बलियो र वास्तविक छ कि पापीले परमेश्वरमा समर्पण गर्नु र ख्रीष्टलाई मुक्तिदाताको रूपमा ग्रहण गर्नुबाहेक कुनै विकल्प देख्दैन, तर पापीसँग सधैं विकल्प हुन्छ। कोही पनि तिनीहरूको इच्छाको विरुद्धमा मुक्ति प्राप्त हुँदैन, र ख्रीष्टलाई ग्रहण गर्ने पहिलो छनौट नगरी कसैले पनि मुक्ति पाउन सक्दैन।

5. “P” - PERSEVERANCE OF THE SAINTS (सन्तहरूको अनन्त सुरक्षा)

यसले याे सिकाउँछ कि परमेश्वरले चुन्नुभएको र पवित्र आत्माद्वारा आफूतिर तान्नुभएको केही व्यक्तिहरू विश्वासमा दृढ रहन्छन। परमेश्वरले चुन्नुभएको कोही पनि हराउनेछैन, र तिनीहरू अनन्त सुरक्षित छन।

याे सत्यता एक सिक्काको एक पाटा मात्रै हाे र त्याे सिक्काको अर्काे पाटामा त्याे उद्दार पाएकाे व्यक्तिको पनि केही कर्तव्य र जिम्मेवारीहरू छन, जसलाई मुक्तिकाे तीन चरण (१. धर्मीकरण २. पवित्रीकरण ३. महिमीकरण) भनिन्छ। मुक्तिकाे यी तीन चरणलाई बुझ्न सकिएन भने मुक्तिकाे गलत परिभाषा निस्कनेछ। यदि हामी मुक्तिकाे यी तीन चरणमा अगाडि बढिरहेका छाैँ भने मात्रै मुक्ति गुम्ने छैन भनी निश्चयता हुनेछ।

यदि हामी धर्मी ठहरिएर पवित्रता तर्फ अगाडि बढ्दैनाैँ, परमेश्वर वचन, इच्छा र याेजना अनुसार जीवन बिताउँदैनाैँ, र पाप, शरीर, संसार र शैतानमाथि जय प्राप्त गर्दै अगाडि बढ्दैनाैँ, तापनि मुक्ति सुनिश्चित छ भनी भन्छाैँ भने त्याे हाम्रो मुर्खता मात्रै हुनेछ। जसको कुनै उपचार छैन। याे सत्य हाे कि परमेश्वर तर्फबाट मुक्ति कहिल्यै गुम्दैन, तर मानिस तर्फबाट भने मुक्ति गुम्न सक्छ। यसरी क्याल्भिनवादकाे जग नै अनगिन्ती त्रुटिहरूमाथि खडा भएको छ, भने त्यसका फलहरू कस्ता हाेलान!

क्याल्भिनवादका सैद्धान्तिक र व्यहारिक त्रुटिहरू :

* यदि कुनै व्यक्ति चुनिएको छैन, भने मैले किन नरक जानेहरूलाई प्रेम गर्ने ? किनकि क्याल्भिनवाद अनुसार तिनीहरू त त्यसैको निम्ति बनाईएका हुन।

* क्याल्भिनवाद नै सत्य हाे भने त्यहाँ रक्षाशास्त्रकाे कुनै आवश्यकता नै छैन, सुसमाचार सुनाउनुपनि कुनै आवश्यकता छैन। किनकि चुनिएकाहरू त जसरी भए पनि मुक्ति पाई हाल्छन नी!

* नयाँ जन्म पनि किन पाउनुपर्‍यो, बप्तिष्मा किन लिनु पर्याे, मण्डलीकाे विधिहरू किन पालन गर्नुपर्याे ? किनकि चुनिएकाहरू त ती नगरे पनि पहिल्यै अनन्त सुरक्षित छन।

* येशू सबैकाे लागि मर्नु भएको हाेईन, भने सुसमाचार सबै लागि हाेईन भनेर बुझ्नुपर्छ कि पर्दैन ?

* मानिसको स्व-इच्छा विना नै परमेश्वरले चुनेकाहरूलाई स्वर्ग र नचुनेकाहरूलाई नरकमा हाल्नुहुन्छ भने के परमेश्वर धर्मी र न्यायी कसरी बन्न सक्नुहुन्छ ? तब के परमेश्वर मानिसहरूसँग खेल मात्रै खेलिरहनु छैन र ?

* यदि क्याल्भिनवाद साँचो हाे भने मण्डलीमा बढिरहेको झुठो शिक्षासँग किन डराउने या चिन्ता गर्ने ? किन त्यसको प्रतिरक्षा गर्ने ? किनकि चुनिएकाहरूकाे कसैगरि पनि मुक्ति गुम्दैन !

* मण्डलीमा नैतिकता किन सिकाउनु पर्याे ? जे मन लाग्याे त्यही गर्न किन नपाउने ? यदि नपाउने हाे भने के यसले मानिससँग पनि स्वतन्त्र इच्छा छ भन्ने प्रमाणित हुँदैन र ?

* Once Saved, Always Saved पनि भन्ने र मत्ती २४:१३ वचन पनि प्रचार गर्दा विराेधाभाष देखिदैन र ?
“तर जसले अन्तसम्म सहन्छ, उसैको उद्धार हुनेछ।” (मत्ती २४:१३) KJV

* फिलिप्पी 2:12 मा “डर र कम्‍पसाथ तिमीहरूको आफ्‍नो मुक्तिको काम पूरा गर्न परिश्रम गर।” भन्नुको अर्थ के हाे? एकपटक मुक्ति पाईसकेपछि पनि फेरि परिश्रम गरेर पाउनुपर्ने याे मुक्ति कुन हाे?

* क्याल्भिनवादीहरू आफ्नाे सिद्धान्त विपरीतका यी वचनहरूलाई (हिब्रू 10:26-2, 6:3-6, 2 पत्रुस 2:20-22, कलस्सी 3:6, राेमी 11:17-22) किन टाेडमाेड गरेर गलत अर्थकाे लगाउँछन ?

* क्याल्भिनवादीहरूले यस बचनलाई किन देख्दैनन ?
“तर धर्मी मानिसले आफ्‍नो धार्मिकतालाई त्‍यागेर पाप गर्छ, र दुष्‍ट मानिसले गरेका घिनलाग्‍दा कामहरू गर्छ भने, के त्‍यो बाँच्‍नेछ र? त्‍यसले अघि गरेको कुनै पनि धर्मको कामको सम्‍झना हुनेछैन। त्‍यसको अविश्‍वास र त्‍यसले गरेका पापको कारणले त्‍यो मर्नेछ।” (इजकिएल 18:24)

यसकारण धेरै पहिले एकजना प्रचारकले भन्नुभएको थियो, “Once Saved, Always Saved(OSAS ) सिद्धान्त(शिक्षा) अधाेलाेकदेखि आएको सिद्धान्त हाे।”

“OSAS Doctrine comes from buttonless pit.”

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...