Saturday, January 14, 2023

के यहाेवाका साक्षीहरू झुठो शिक्षा हुन ?

 


यहाेवाका साक्षीहरूकाे पृष्ठभूमि :

चार्ल्स राेसेल (Charles Taze Russell) नाम गरेका ब्यक्तिले यहाेवाका साक्षी नामक सम्प्रदायको शुरूवात गरेका थिए । तिनी मण्डली पास्टर बन्न एउटा बाइबल कलेजमा अध्ययन गरिरहेका थिए, तर त्यहाँ तिनले परमेश्वरकाे अनन्तकाे दण्डकाे शिक्षालाई स्विकार गरेनन । त्यसपछि तिनले बाइबल कलेजकाे अध्ययन छाेडे र 1873 मा आफै बाइबल अध्ययन गर्न शुरू गरे । 6 बर्षकाे ब्यक्तिगत बाइबल अध्ययन गरेपछि एउटा नयाँ संस्था खाेले, जसको नाम Watch Tower Society राखे । अहिले पनि नेपाली भाषामा याे “Watch Tower” काे पत्रिका नेपाली संस्करण “प्रहरी धरहरा” काे नाममा हरेक महिना आउने गर्दछ ।


यहाेवाका साक्षीका संस्थापक चार्ल्स राेसेलले 1884 मा पहिलोपटक (प्रकाश 16 अध्याय) मा उल्लेख गरिएको आरमागेडाेन युद्ध 1914 मा हुनेछ भनी भबिस्यबाणी गरे । त्यस बर्षमा येशूकाे दाेस्राे आगमन हुने र शैतान र सबै शत्रुहरूसँग लडाइँ लड्नुहुने, र त्यसै समयमा पृथ्वीकाे पनि अन्त हुने बताए । 1915 पनि आयाे तर न येशूकाे आगमन भयाे, न पृथ्वीकाे अन्त नै भयाे । तिनले आफ्नाे भविष्यवाणीलाई सुधार्न आफुले एउटा नयाँ प्रकाश पाएकाे भनी भने । अझै तिनले येशू साँच्चै आउनुभएकाे थियो, तर शारीरिक रूपमा हाेईन, आत्मिक रूपमा आउनुभएको थियो पनि भने ।


बाइबलमा झुठा भविष्यबक्ताहरूलाई कसरी चिन्ने भन्ने बारेमा स्पष्ट रूपमा लेखेर दिनुभएको छ :

“कुनै अगमवक्ताले परमप्रभुको नाउँमा बोलेको कुरा पूरा भएन वा सत्‍य ठहरेन भने, त्‍यो परमप्रभुले भन्‍नुभएको वचन होइन। सो त्‍यही अगमवक्ताको मनगढ़न्‍त कुरा हो।” [व्यवस्था 18:22]

“तर मैले आज्ञा नै नगरेको वचन मेरो नाउँमा बोल्‍ने वा अन्‍य देवताको नाउँमा बोल्‍ने अगमवक्ता मारिनुपर्छ।” [व्यवस्था 18:20]


अब, तपाईंले चार्ल्स राेसेललाई झुठा भविष्यबक्ता मान्ने कि नमान्ने ? निर्णय तपाईंको... !


1916 मा चार्ल्स राेसेलकाे मृत्युपछि अर्काे एउटा अगुवा खडा भए । जसकाे नाम हाे, जाेसेफ राेथरफाेल्ड । तिनले पनि 1920 मा एउटा भविष्यवाणी गरेर भने कि अब 1925 मा येशूकाे शारीरिक रूपमा दाेस्राे आगमन हुनेछ । तर याे पनि पूरा भएन, र 1926 मा फेरि तिनले नयाँ प्रकाश पाएकाे भनी भने “येशू आएर बस्ने ठाउँ भएन, त्यसैले आउनु भएन । त्यसैले हामीले उहाँको निम्ति एउटा भव्य भवन बनाउनुपर्छ ।” भनी घाेषणा गरे । त्यसकाे लागि तिनिहरूले क्यालिफोर्नियाकाे दक्षिणी भागमा एउटा विशाल, सुन्दर र सुविधा युक्त भवन बनाए, तर दु:खकाे कुरा त्यहाँ येशू आउनु भएनँ । त्यस भवनमा तिनी मात्रै बसे, र 1942 मा तिनी त्यही भवनमा मरे ।


1975 मा फेरि एकजना Malton G. Henschel नाम गरेका पाँचौ अगुवा आए, जसले 1975 मा नै येशूकाे आगमन हुनेछ, भनी भविष्यवाणी गरे । त्यसैले विश्वासीहरूले घर-जग्गा बेच्न थाले, काम गर्न छाडे र स्कुल पनि जान छाडे । साँच्चिकै, अब त येशूकाे आगमन हुनेछ भनी तिनीहरूले विश्वास गरेका थिए । 1976 पनि आयाे, तर येशू आउनुभएन । त्यस समयमा तिनिहरूले झुठो भविष्यवाणी गरेको कारणले आफ्नाे एक तिहाई सदस्य गुमाउनु पर्याे ।


तिनिहरूले किन एक तिहाई सदस्य मात्रै गुमाए ? कारण तिनिहरूकाे अगुवाले फेरि पनि त्यही कुरा भने कि हामीले एउटा नयाँ प्रकाश पाएका छाैँ ! “याे त हामीले विश्वास गर्छाैं कि गर्दैनौं भनेर एउटा जाँच मात्रै थियाे !” भनी तिनीहरूले भने । हाय ! याे कस्ताे धाेखा र छल हाेला ? मानिसहरूकाे कस्तो अन्धभक्ती ?


येशू स्वयंले आफ्नाे दाेस्राे आगमनकाे बिषयमा पहिल्यै भनिसक्नु भएको थियो :

“तर त्‍यस दिन र घड़ीको विषयमा पिता बाहेक कसैले जान्‍दैन, न त स्‍वर्गका दूतहरूले, न पुत्रले।” [मत्ती 24:36]


यहाेवाका साक्षीहरूकाे बिश्वास र पवित्र बाइबलकाे बिचमा भन्नताहरू :


1. परमेश्वरकाे बिषयमा यहाेवाका साक्षीहरूकाे बिश्वास

* यहाेवा परमेश्वर त्रिएक हुनुहुन्न तर एक हुनुहुन्छ भन्छन, र त्रिएककाे शिक्षा शैतानकाे हाे भन्छन ।

* यहाेवा परमेश्वरकाे हाम्राे जस्तै एउटा शरिर छ भन्छन, त्यसैले उहाँको निम्ति एउटा भव्य भवन पनि बनाए ।

* यहाेवा परमेश्वर सर्वव्यापी हुनुहुन्न, किनकि उहाँको एक शरिर छ र अहिले एउटा ग्रहमा आराम गरिरहनुभएको छ भन्छन । येशू यहाेवा परमेश्वर हुनुहुन्न, तर येशूले सारा संसारलाई नियन्त्रण गर्नुहुन्छ भन्छन ।


बाइबलकाे साँचो शिक्षा र हाम्रो बिश्वास

* मत्ती 28:19 अनुसार परमेश्वर त्रिएक हुनुहुन्छ, नत्रभने हामीले येशूकाे महान आज्ञा अनुसार पिता, पुत्र, पवित्र आत्माकाे नाममा बप्तिस्मा लिन जरुरी थिएन ।

स्मरण रहाेस : त्रिएक भन्नाले तीन परमेश्वर हाेईन, तर एउटै परमेश्वरमा तीन ब्यक्तित्व (पिता, पुत्र र पवित्र आत्मा) हाे ।

उदाहरण : म एक ब्यक्ति हुँ, तर मेराे थुप्रै ब्यक्तित्वहरू छ । जस्तै, म मेराे आमाकाे लागि छाेरा, भाईकाे लागि दाई र साथीकाे लागि मित्र हुन सक्छु ।

यहाँ म एउटै छु, तर मेराे ब्यक्तित्व(छाेरा, दाइ र मित्र) तीन छन ।


* युहन्ना 4:24 अनुसार परमेश्वर शरीरमा हाेईन, तर आत्मा हुनुहुन्छ भन्ने कुरा स्पष्ट छ (1 तिमाेथी 1:17)।

* परमेश्वर सर्वव्यापी हुनुहुन्छ (भजनसंग्रह 139:5-10, 1 राजा 8:27)।

* येशू ख्रीष्ट नै यहाेवा परमेश्वर हुनुहुन्छ (हिब्रू 1:3,8)। त्यसैले थाेमाले पनि येशूलाई मेराे परमेश्वर भनी सम्वाेधन गरे (युहन्ना 20:28)।


2. पवित्र आत्माकाे बिषयमा यहाेवाका साक्षीहरूकाे बिश्वास 

यहाेवाका साक्षीहरूकाे भनाई अनुसार, “पवित्र आत्मा एउटा ब्यक्ति हाेईन र त्रिएक परमेश्वरकाे एक भाग पनि हाेईन, तर पवित्र आत्मा यहाेवा परमेश्वरकाे एउटा सक्रिय शक्ति मात्रै हाे, जसले परमेश्वरकाे इच्छालाई यस पृथ्वीमा पूरा गर्नुहुन्छ ।”

उदाहरण : पवित्र आत्मा विजुली (करेन्ट) जस्तै एउटा शक्ति मात्रै हुनुहुन्छ, भन्छन ।


यहाेवाका साक्षीहरूले 2000 बर्षदेखि चलि आएकाे बाइबलकाे साँचो शिक्षालाई आफ्नाे शिक्षासँग मिलाउनकाे लागि पवित्र आत्माकाे बिषयलाई पनि टाेडमाेड गरिरहेका छन । र पवित्र आत्मा यहाेवा परमेश्वर हाेईन, पनि भन्छन ।


बाइबलकाे साँचो शिक्षा र हाम्रो बिश्वास

* पवित्र आत्मा परमेश्वर हुनुहुन्छ, र उहाँ त्रिएक परमेश्वरकाे एक व्यक्तित्व हुनुहुन्छ । बाइबलमा पनि पवित्र आत्मामा ईश्वरत्व छ भनी वर्णन गरिएको छ (भजनसंग्रह 139:7-10, अय्युव 33:4) ।

मत्ती 12:31-32 अनुसार के कुनै शक्तिकाे  विरूद्द पाप हुँदछ र ?

प्रेरित 5:3 अनुसार के कुनै बस्तुकाे विरूद्द झुठ बाेलिन्छ र ?

यी खण्डहरूद्वारा स्पष्ट हुँदछ कि पवित्र आत्मा कुनै शक्ति हाेईन, तर ब्यक्ति हुनुहुन्छ । (त्रिएककाे एक ब्यक्तित्व !)


3. येशू ख्रीष्टकाे विषयमा यहाेवाका साक्षीहरूकाे बिश्वास

यहाेवाका साक्षीहरूले तीन प्रकारका येशूलाई मान्दछन -

१) जन्मनुभन्दा पहिलेको येशू (मिखाएल स्वर्गदूत थिए)।

२) मरियमकाे काेखमा गर्भधारण भएर जन्मेको येशू।

३) पुनरूत्थानपछि आत्मिक शरीर धारण गरेपछिकाे येशू।


* येशू यहाेवा परमेश्वर हाेईन, तर यहाेवा परमेश्वरकाे एउटा सानाे अंश मात्रै हाे, भन्छन ।

* येशू मानिसभन्दा शक्तिशाली, तर यहाेवा परमेश्वरभन्दा मुनि हुनुहुन्छ, भन्छन ।

* येशू संसारमा आउनुभन्दा पहिले मिखाएल स्वर्गदूत हुनुहुन्थ्यो । जब मिखाएलले आफैलाई भस्म पार्याे, तब आफुमा भएको सानाे प्राण मरियमकाे गर्भमा आएर वास गर्याे, त्यसपछि येशू बनेर जन्मनुभयाे । त्यसैले येशू अनन्तकालदेखि अस्तित्वमा हुनुहुन्नथ्यो भनी भन्छन ।

* येशूलाई वास्तवमा उहाँको क्रुसमा मार्नेछन भनी थाहा थिएन, तर विस्तारै-विस्तारै प्रकाश पाएपछि मात्रै अन्तमा थाहा पाउनुभयाे, भन्छन ।

* येशूसँग आफैमा कुनै शक्ति थिएन, तर परमेश्वरकाे शक्तिद्वारा ती आश्चार्य कामहरू गर्नुभयो, भन्छन ।


बाइबलकाे साँचो शिक्षा र हाम्रो बिश्वास

* येशू परमेश्वरकाे र मिखाएलकाे सानाे अंश हाेईन तर स्वयं सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ (फिलिप्पी 2:5-10, युहन्ना 1:1,3,14)।

* येशू त्रिएक परमेश्वरकाे एउटा व्यक्तित्व हुनुहुन्छ, उहाँ नै परमेश्वर हुनुहुन्छ (कलस्सी 2:9)।

* वचन देहधारी हुनुभयो, उहाँ परमेश्वर येशू हुनुहुन्छ (युहन्ना 1:1-3, 14)।

* येशूले “पिता र म एक हाैँ” भन्नुभयो (युहन्ना 10:30)।

* पुरानो नियममा यहाेवा परमेश्वरले पनि “म हुँ जाे म हुँ” भन्नुभएकाे थियोे (प्रस्थान 3:14)।

* नयाँ नियममा पनि येशूले “म नै हुँ” भन्नुभयो (युहन्ना 8:58)।

बाइबलका यी खण्डहरूद्दारा स्पष्ट हुन्छ कि येशू नै परमेश्वर हुनुहुन्छ ।


प्रश्न : किन यहाेवाका साक्षीहरूले यी कतैबाट पनि नमिल्ने शिक्षा ल्याए ? कारण तिनिहरूले येशूकाे ईश्वरत्वलाई इन्कार गरेकाेले हाे । त्यसैले एउटा झुठलाई ढाक्न अरू थुप्रै झुठ कुराहरू र कथाहरू पनि थप्नु पर्याे !


4. येशूकाे मृत्युमाथिकाे बिषयमा यहाेवाका साक्षीहरूकाे विश्वास 

* येशू साँचो रूपमा क्रस जस्तो क्रुसमा मर्नुभएकाे थिएन, तर एउटा काठमा टाउकाे माथि दुवै हात एकसाथ राखेर काँटी ठाेकिएकाे थियोे, भन्छन !

* येशूले हाम्रो सबै पापहरू माफ गर्नु भएन, तर आदम सम्बन्धित पाप मात्रै माफ गर्नुभयो, भन्छन ! त्यसैले यहाेवाका साक्षीहरूले कहिल्यै पनि येशू हाम्रो पापकाे निम्ति मर्नुभयाे भनि भन्दैनन, र प्रचार पनि गर्दैनन !

* तिनिहरूकाे विश्वास अनुसार मानिसको पाप तब मात्रै पुर्णतया क्षमा हुँदछ, जब हामी Watch Tower संस्था प्रति आज्ञाकारी हुनेछाैँ !

* Watch Tower संस्था प्रति आज्ञाकारी हुनु भनेको परमेश्वर प्रति आज्ञाकारी हुनु हाे, भन्छन !

* Watch Tower यहाेवाका साक्षीहरूकाे अर्काे नाम हाे, जसकाे नाममा हरेक महिना एउटा पत्रिका पनि प्रकाशन गर्छन, जसलाई नेपालीमा “प्रहरी धरहरा” राखेका छन ।


बाइबलकाे साँचो शिक्षा र हाम्रो बिश्वास

* येशू हाम्रो सबै पापहरूकाे निम्ति क्रुसमा मारिनुभएको थियो, अब जसले उहाँकाे बलिदान माथि बिश्वास गर्दछ, त्यसकाे आदमदेखिकाे पाप र वर्तमान पापहरू पनि माफ हुनेछ (युहन्ना 3:16, 1 तिमाेथी 1:15, 1 काेरिन्थी 15:3 ) ।

* यसकारण परमेश्वरले कुनै संस्था र ब्यक्तिलाई पाप क्षमा गर्ने, स्वर्ग लाने र नरक हाल्ने अधिकार दिनुभएको छैन ।


5. येशूकाे पुनरूत्थानकाे बिषयमा विश्वास

* येशू शरीरमा हाेईन, तर आत्मिक रूपमा बाैरि उठ्नुभयाे, भन्छन !

* शरीर बाैरि उठेकाे भए, हाम्रो पाप क्षमा हुन सक्दैनथ्याे, भन्छन !


बाइबलकाे साँचो शिक्षा र हाम्रो बिश्वास

* 1 काेरिन्थी 15:44 र युहन्ना 20:24-20 मा येशू शरिरमा नै बाैरि उठ्नुभयाे भनी स्पष्ट बताईएको छ ।

के आत्मामा बाैरि उठेकाे भए उहाँलाई छुन सकिन्थ्यो र ? तर थाेमाले त येशूलाई छाेएका छन ।


6. बाैरि उठेकाे येशूमाथिकाे बिषयमा यहाेवाका साक्षीहरूकाे विश्वास

* परमेश्वरकाे शक्ति (पवित्र आत्मा) द्वारा मिखाएलकाे अंशद्दारा मरियममा गर्भाधारण भएर येशू जन्मनुभयाे, त्यसपछि जब येशु मारिनुभयाे तब येशु पुर्णरूपमा नाश हुनुभएकाे छ ।

* अब येशू आफ्नाे प्राणकाे सानाे शक्तिमा बाैरि उठ्नुभयाे र स्वर्ग जानुभयो, त्यसपछि परमेश्वरले उहाँलाई एउटा आत्मिक शरीर दिनुभयो, र अहिले त्याे येशू नै मिखाएल हाे, भन्छन !

* अहिले येशू भनेकाे मिखाएल हाे, जसले अहिले सारा पृथ्वीमा अधिकार गरिरहेकाे छ । जब येशू फर्किनु हुनेछ, त्यस समयमा 1,44,000 जना यहाेवाका साक्षीका मानिसहरूले मात्रै त्यस संसारमा राज्य गर्नेछन, भन्छन !

* 1000 बर्षकाे राज्य समाप्त भएपछि येशूले यहाेवा परमेश्वरलाई याे संसारलाई सधै राज्य गर्न दिनेछन, भन्छन !

[यहाेवाका साक्षीहरूले यी मनगढन्टे कुराहरूकाे लागि बाइबलका कुनै ठाेस पदहरू दिदैनन।]


बाइबलकाे साँचो शिक्षा र हाम्रो बिश्वास

* बाइबलमा स्पष्ट लेखिएको छ कि येशू शरिरमा नै बाैरि उठ्नु भएको थियोे, र उहाँको चिहान रित्तो थियाे । कारण, येशू साँच्चिकै शरीरमा पुनरूत्थान हुनुभएको थियाे (प्रेरित 1:9-12, लूका 24:33-35) । येशू त्यही शरीरमा नै स्वर्ग पनि जानुभयो  ।

* 1,44,000 जना भनेको एउटा पुर्ण संख्या मात्रै हाे, न कि यहाेवाका साक्षीहरू । र यिनी केबल इस्राएलका 12 गाेत्रबाटका यहुदीहरू हुन भनेर स्पष्ट लेखिएको छ (प्रकाश 7:4-9)।

* 1000 बर्षकाे राज्यमा त्यसैले राज्य गर्नेछ, जसले पाप, शरीरका माेह इच्छाहरू, संसारका अभिलाषाहरू  र शैतानमाथि जय पाउँदछन (प्रकाश 3:21) याे माैका आज सबै विश्वासीहरूलाई पनि छ ।

* बाइबलमा कहिँ पनि राज्य गर्नेहरू यहाेवाका साक्षीहरू (Watch Tower) नै हुनेछन, भनी लेखिएको छैन !


7. सृष्टिको बिषयमा यहाेवाका साक्षीहरूकाे विश्वास

* येशू सृष्टि गर्ने वेला हुनुहुनन्थ्यो, भन्छन !

* यहाेवा परमेश्वरले मात्रै सृष्टि गर्नुभयाे, र त्याे सृष्टिलाई शासन गर्न भनी येशूलाई दिनुभयो, भन्छन !

* अहिले यहाेवा परमेश्वर एउटा ग्रहमा विश्राम गरिरहनुभएको छ, र 1000 बर्षकाे राज्य समाप्त भएपछि येशूले यहाेवा परमेश्वरलाई पुनः यस संसारलाई दिनुहुनेछ, पनि भन्छन !


बाइबलकाे साँचो शिक्षा र हाम्रो बिश्वास

* त्रिएक परमेश्वर (पिता, पुत्र र पवित्र आत्मा) शुरूदेखि नै हुनुहुन्छ । उत्पत्ति 1:1-2, 26 मा हामी (शब्दकाे अर्थ) - पिता, पुत्र र पवित्र आत्मा परमेश्वर हुनुहुन्छ । कलस्सी 1:15-16 मा येशू नै सृष्टिकर्ता परमेश्वर पनि हुनुहुन्छ, भनी उल्लेख गरिएको छ । युहन्ना 1:1-3,14 अनुसार येशू आदिदेखि हुनुहुन्थ्यो र पछि देहमा आउनुभयाे ।


8. मुक्ति/उद्दारकाे विषयमा यहाेवाका साक्षीहरूकाे विश्वास

* हरेक मानिसले आफ्नाे पाप क्षमा(उद्दार) पाउनकाे लागि दाेस्राे माैका पाउनेछन, भन्छन !

* 1000 बर्षकाे राज्यमा मानिसहरू जीवित हुनेछन, त्यस समयमा मानिसहरूले आफ्ना पापहरूकाे क्षमाकाे निम्ति पश्चात्ताप गर्न सक्छन, भन्छन !

* यहाेवाका साक्षीहरूकाे विश्वास अनुसार उद्दार भनेको Watch Tower प्रती आज्ञाकारीता र परमेश्वरकाे इच्छा बुझ्ने एउटा प्रक्रिया हो ।

* Watch Tower पत्रिका पढ्नु नै परमेश्वरकाे इच्छा बुझ्नु हाे । मानिसले आफ्नाे उद्दारकाे लागि Watch Tower भित्र रहेर परिश्रम गर्नु पर्दछ ।


# तिनिहरूकाे बिश्वास अनुसार उद्दारकाे तीन तह छ :

१) Publisher Salvation  (पव्लिसर उद्दार : जसकाे लागि हरेक महिना 10 घण्टा घर-घरमा गएर प्रचार गर्नु पर्दछ ।)

२) Pioneer Salvation (पायाेनियर उद्दार : जसकाे लागि हरेक महिना 90 घण्टा घर-घरमा गएर प्रचार गर्नु पर्दछ ।)

३) Special Pioneer Salvation ( स्पेशल पायाेनियर उद्दार : जसकाे लागि हरेक महिना 140 घण्टा घर-घरमा गएर प्रचार गर्नु पर्दछ ।)


यसको अर्थ याे हुन्छ कि तपाईं जति धेरै प्रचार गर्न जानुहुन्छ, त्यति नै धेरै उद्दारकाे निश्चयता हुँदछ । त्यसैले तिनिहरूले हरेक समयकाे हिसाब राखेका हुन्छन, र याे रेकर्ड हरेक हप्ता Watch Tower मा पठाउँछन, त्यसपछि त्यहाँबाट पाप क्षमाकाे एउटा प्रमाण-पत्र पनि पाउँछन !

* जब काेहि ब्यक्ति Watch Tower देखि बाहिर निस्कन्छ, तब तिनिहरूकाे सबै रेकर्डहरू नष्ट पारिन्छ र मुक्ति पनि गुमाउनेछ, र आफ्नाे परिवार, छाेरा-छाेरीहरू पनि गुमाउनेछन । त्यसैले यहाेवाका साक्षीहरूलाई Watch Tower देखि अलग हुन निकै कठिन हुन्छ ! यसरी त्यहाँ बिश्वासीहरूलाई यी बन्धनहरूले बाँधेर राखिएकाे हुन्छ । त्यसैले तिनिहरूलाई आफ्नाे उद्दार कहिले गुम्ने हाे, त्याे पनि थाहा हुँदैन !


बाइबलकाे साँचो शिक्षा र हाम्रो बिश्वास

* मृत्युपछि दाेस्राे माैका छैन, तर न्याय मात्रै छ (हिब्रू 9:27) ।

* युहन्ना 14:6 अनुसार येशू मात्रै स्वर्ग जाने एउटा बाटाे हुनुहुन्छ । यहाँ धेरै बाटोहरूमध्ये एउटा बाटो भनिएको छैन !

यस खण्डमा यहाेवाका साक्षीहरूले आफ्नाे बाइबलमा The Way लाई A Way मा उल्था गरेका छन !

* उद्दार परमेश्वरकाे बहुमुल्य उपहार हाे ।

* हामी आफ्नाे उद्दारकाे निम्ति केही पनि परिश्रम गर्न सक्दैनौं ।

* याे एक सित्तैकाे परमेश्वरकाे उपहार हाे, र याे सबैलाई बराबर छ, जसले येशूकाे वलिदानमाथि बिश्वास गर्दछ (युहन्ना 3:16, 2 तिमाेथी 2:5-6, राेमी 6:23)। त्यसैले येशू मात्रै हाम्रो उद्दारकाे निम्ति आशा र भराेसा हुनुहुन्छ ।

* मर्कुस 16:16 र रोमी 10:9,13 अनुसार "यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्‍नो मुखले स्‍वीकार गर्‍यौ, र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्‍नो हृदयमा विश्‍वास गर्‍यौ भने तिम्रो उद्धार हुनेछ।" भनिएको छ, तर बाइबलमा कतै पनि Watch Tower माथि विश्वास गरेपछि पाप क्षमा पाइन्छ, भनी लेखिएको छैन । यी सबै तिनीहरूको एउटा ठूलो भ्रम मात्रै हाे !


“ढाँटेकाे कुरा, काटेर पनि मिल्दैन” भन्ने एक नेपाली प्रसिद्ध उखान आज Watch Tower सँग ठ्याक्कै मिलेको छ । युहन्ना 10:10 अनुसार चाेर त चाेर्न र नाश गर्न मात्रै आउँछ, तर येशूले त प्रशस्तको जीवन दिन आउनुभयाे । आज शैतानले यी झुठा शिक्षकहरूलाई प्रयोग गरेर असली विश्वासीहरूलाई तानेर अनन्तकाे विनाश तिर लगिरहेकाे छ ।


9. पापकाे विषयमा यहाेवाका साक्षीहरूकाे विश्वास

* मानिसमा पापमय स्वभाव छैन, भन्छन ।

* जब येशू मर्नुभयाे, तब सबै पापहरू रद्द भयाे, भन्छन ।

* मानिसमा पापमय स्वभाव छैन, तर जब उसले पाप गर्दछ, त्यसले पापकाे ज्याला तिर्नुपर्छ, भन्छन ।

* ती पापहरूकाे क्षमाकाे लागि Watch Tower मा विश्वास गर्नु पर्दछ, भन्छन (येशूमाथि हाेईन !) ।

* हामीले पाप गर्दछौं, किनकि परमेश्वरकाे ईच्छा के हाे भन्ने कुरा हामीलाई थाहा हुँदैन । Watch Tower ले मात्रै तपाईंकाे पापहरूकाे क्षमा गर्न सक्छ, र परमेश्वरकाे ईच्छा बताउन सक्छ, भन्छन ।


बाइबलकाे साँचो शिक्षा र हाम्रो बिश्वास

* हामी परमेश्वरकाे स्वरूप र समानतामा, साथै स्वतन्त्रतामा सृष्टि गरिएका थियौं, तर मानिसले त्याे स्वतन्त्रतालाई गलत रूपमा प्रयोग गर्‍यो, जसकाे परिणाम हामी पापकाे प्रभावमा पर्याैँ ।

* पाप भनेकाे परमेश्वरकाे इच्छा विरूद्द हुने हरेक कुरा हाे ।

* हामी पापदेखि कुनै रीतिले भाग्न सक्दैनौं ।

* भजनसंग्रह 51:5, उत्पत्ति 8:21 अनुसार मानिस जन्मदेखि नै पापी छ ।

* राेमी 3:23 अनुसार सबैले पाप गरेका छन ।

* यशैया 53:6 अनुसार सुसमाचार याे छ कि परमेश्वरले हाम्रो पाप उठाउनु भयाे ।

* हामी आफ्नाे पापकाे लागि आफै मुल्य चुकाउन सक्दैनौं । त्यसको लागि एक सिद्ध ब्यक्तिकाे खाँचो छ, जाे येशू हुनुहुन्छ ।

* हिब्रू 9:27-28 अनुसार येशू हाम्रो पापकाे निम्ति मारिनु भयाे । अब जसले उहाँमाथि विश्वास गर्दछ, त्यसकाे सबै पापहरू क्षमा हुनेछ भनी परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ (यशैया 1:18, 1 युहन्ना 1:8-9) । बाइबलमा कतैपनि Watch Tower काे उल्लेख गरिएको छैन । तर यहाेवाका साक्षीहरूले मात्रै उल्लेख गरेका छन ।


10. बाइबलकाे विषयमा यहाेवाका साक्षीहरूकाे विश्वास

* यहाेवाका साक्षीहरूले पनि सम्पूर्ण बाइबल परमेश्वरकाे प्रेरणाबाट लेखिएको हाे भन्छन, तर भित्र भने आर्कै विश्वास छ ।* बाइबलका वचनहरू केवल साराशं मात्रै हुन, भन्छन ।

* Watch Tower बाट मात्रै त्यसकाे विषयमा व्याख्या गर्न सक्छ, भन्छन । प्रश्न : तिनिहरूले किन यस्तो भन्छन ? कारण Watch Tower काे कमिटीमा रहेकाहरू परमेश्वरबाट विशेष प्रकारबाट छानिएका प्रेरितहरू हुन, भन्छन ।

* 1919 मा परमेश्वरले अरू सबै धर्म र संस्थाहरूलाई हेर्दा Watch Tower लाई मात्र विश्वासयाेग्य ठान्नु भयाे, रे ! त्यसैले तिनिहरूले मात्रै मानिसहरूकाे जीवनमा परमेश्वरकाे इच्छा के हाे भन्न सक्छन रे ! यसकारण Watch Tower का पास्टरहरूले बाइबल धेरै पढ्दैनन, तर Watch Tower का पत्रिका र शिक्षा मात्रै धेरै अध्ययन गर्दछन ।


यसकारणले गर्दा 1950 मा यहाेवाका साक्षीहरूले आफैले उल्था गरेको बाइबल (New World Translation) छापे, र त्यसैलाई बाँड्न लागे । किनकि त्याे बाइबल त शैतानकाे हाे रे ! तिनिहरूले छापेकाे बाइबल चाहिँ पुरै ठिक र कुनै गल्ती नभएको बाइबल हाे रे ! यहाेवाका साक्षीहरूले प्राचीनकालदेखि चल्दै आएकाे बाइबललाई ताेडमाेड गरेर आफ्नाे शिक्षासँग मेल खाने गरि बनाएका छन, जसको बिषयमा हामीले पहिले नै चर्चा गरिसक्याैँ ।


बाइबलकाे साँचो शिक्षा र हाम्रो बिश्वास

* सम्पूर्ण बाइबल परमेश्वरकाे प्रेरणाबाट लेखिएको हाे (1 तिमाेथी 3:16)।

* यहाँ कुनै गुप्त कुरा, जादु, नयाँ प्रकाश छ भनी हामी बिश्वास गर्दैनौं ।

* यसका लेखक पवित्र आत्माले हामी सबैलाई सत्यता के हाे भनी सिकाउनुहुन्छ भनी हामी बिश्वास गर्छाैं (युहन्ना 16:13) । नकि कुनै विशेष संस्था या व्यक्तिलाई मात्रै छ ।


याे झुठो शिक्षाको दलदलमा आज थुप्रै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू पनि फसेका हुन सक्छन, जसलाई यी सत्यताहरूको बारेमा थाहा नै छैन । त्यसैले यस Post लाई सक्दाे शेयर गर्नुहाेला, ताकि एउटा आत्मा भएपनि बाँच्न सकाेस !


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...