Friday, April 7, 2023

येशू ख्रीष्ट कहिले मारिनुभयाे ? बुधबार या शुक्रबार ?

 



प्राय: हरेक ख्रीष्टियनहरूलाई याे प्रश्न बारम्बार साेधिने गरिन्छ । केही मुस्लिम र नास्तिकहरूले येशू ख्रीष्टलाई गलत प्रमाणित गर्ने उद्देश्यकाे साथ याे प्रश्न साेधिने गरिन्छ । यहाँ दुईवटा पुस्तकबाट तुलनात्मक अध्ययन जस्तै गरि राखिएको छ । पहिलो “कठिन प्रश्नहरू, सरल जवाफहरू” र दाेस्राे “माथि हेर” नामक पुस्तकबाट येशू ख्रीष्टलाई  बुधबार मारियो या शुक्रबार मारियो भन्ने दुवै तर्क जस्ताको तस्तै प्रस्तुत गरिएको छ । दुवै तर्कहरू आफैमा निकै बलिया छन । निर्णय लिने अधिकार पाठकलाई दिईएकाे छ ।

बुझाई र तर्कहरू अलगअलग भएतापनि येशू ख्रीष्ट सारा मानव जातीकाे मुक्तिकाे निम्ति मारिनुभयाे, गाडिनुभयाे र तेस्रो दिनमा जीवित हुनुभयाे, याे धुर्व सत्य हाे ।


1. येशू ख्रीष्टलाई शुक्रबार मारियो भन्ने तर्क :


के येशू साँच्चै तीन दिन र तीन रात पृथ्वीको गर्भभित्र रहनुभयो (मत्ती १२:४० ) ?[१]

येशूको क्रुसारोहण शुक्रबार भयो भनी झन्डै विश्वव्यापी रूपमा विश्वास गरिन्छ। त्यसैले अन्य दिनमा नभई हामी शुक्रबारको दिनमा नै 'गुड फ्राइडे' अर्थात ‘असल शुक्रबार' मनाउँछौँ । यो परम्परागत दृष्टिकोणलाई समर्थन गर्ने थुप्रै कारण छन । क्रुसारोहणको पछिल्लो दिन शबाथ-दिन थियो भनी चारवटै सुसमाचारले बताउँछन (मत्ती २७:६२; २८:१; मर्कूस १५:४२; लूका २३:५६; यूहन्ना १९:३१) । सबै सुसमाचारअनुसार शबाथपछिको दिनमा स्त्रीहरू येशूको चिहानमा गए (मत्ती २८:१; मर्कूस १६:२; लूका २४:१; यूहन्ना २०:१) । शबाथपछिको दिन भनेको हप्ताको पहिलो दिन अर्थात आइतबार हो । यसरी येशू शुक्रबार क्रूसमा मर्नुभयो र आइतबार पुनरुत्थान हुनुभयो । तर मत्ती १२:४० मा अभिलिखित येशूको भनाइसित यो मेल खाएको जस्तो देखिँदैन जहाँ येशूले आफ्नै विषयमा भविष्यवाणी गर्नुभयो, “किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, उसरी नै मानिसको पुत्र पनि पृथ्वीको गर्भमा तीन दिन र तीन रात रहनेछ ।” येशू शुक्रबार क्रूसमा चढाइनुभयो र आइतबार पुनरुत्थान हुनुभएको हो भने कसरी तीन दिन र तीन रात उहाँ पृथ्वीको गर्भमा रहनुभएको हुन सक्छ ?



मत्ती, मर्कूस, लूका र यूहन्नाका विवरणहरूले बताउँछन कि येशू शुक्रबारको केही भाग, पूरै शनिबार र आइतबारको केही भाग मात्र चिहानमा रहनुभयो । अर्को शब्दमा भन्नुपर्दा, उहाँ पूरा दुई रात, पूरा एक दिन र दुई दिनको केही भाग मात्र चिहानमा रहनुभयो । निस्सन्देह, येशूले ४० घण्टाभन्दा बढी चिहानमा बिताउनुभएन ।

समयलाई गणना गर्ने यहूदी विधिअनुसार वाक्यांश “तीन दिन र तीन रात” लाई सही तरिकाले जान्नु महत्त्वपूर्ण हुन्छ । कुनै दिन वा रातको भागलाई पनि पूरै दिनको रूपमा उल्लेख गर्नु यहूदीहरूको सामान्य चलन थियो (उत्पत्ति ४२:१७-१८; १ शमूएल ३०:१२-१३; १ राजा २०:२९; २ इतिहास १०:५, १२; एस्तर ४:१६; ५:१) । यहूदी टिप्पणीकारहरूअनुसार एउटा अवधिको कुनै पनि भागलाई पूर्ण अवधिको रूपमा लिइन्थ्यो । एक दिनको कुनै पनि भागलाई पूरा दिनको रूपमा गनिन्थ्यो । यहूदीहरूको महत्त्वपूर्ण ग्रन्थ बेबिलोनी ताल्मुडले बताउँछ, “एक दिनको भाग यसको पूर्णताजस्तै हो ।”

येशूले शुक्रबार दिउँसो ३ बजे आफ्नो प्राण त्याग्नुभयो। यहूदी दिन साँझ ६ बजे सुरु हुन्छ। यहूदी व्यवस्थाअनुसार शनिबार कुनै काम गर्न नमिल्ने भएकोले शुक्रबार नै उहाँलाई दफन गरिनुपर्थ्यो। उहाँको मृत्युको ३ घण्टापछि शनिबारको आरम्भ हुन्थ्यो । तसर्थ ६ बज्नुभन्दा अगि नै उहाँलाई चिहानमा गाडिएको थियो । चिहानमा भएको येशूको अविधको सम्बन्धमा “तीन दिन र तीन रात” लाई यसरी गणना गर्न सकिन्छः येशूलाई शुक्रबार क्रूसमा टाँगियो र त्यही दिनमा नै चिहानमा दफन गरियो । शुक्रबारको साँझ ६ बजेअगिको कुनै पनि समयलाई एक दिन र एक रातको रूपमा लिइन्थ्यो । शुक्रबार साँझ ६ बजेदेखि शनिबार साँझ ६ बजेसम्मको समयलाई एक दिन र एक रात मानिन्थ्यो । शनिबार साँझ ६ बजेदेखि आइतबार साँझ ६ बजेसम्मको कुनै पनि भागलाई एक दिन र एक रातको रूपमा गनिन्थ्यो । यसरी यहूदीहरूको दृष्टिकोणबाट शुक्रबार मध्यान्हदेखि आइतबार बिहानसम्म “तीन दिन र तीन रात” हुन्छ । तसर्थ येशूको भविष्यवाणी शत प्रतिशत साँचो छ ।


2. येशू ख्रीष्टलाई  बुधबार मारियो भन्ने तर्क :


के ख्रीष्ट येशू शुक्रबार नै क्रूसमा टँगाइनुभयो त ?[२]

'गुड फ्राइडे' को समयमा मैले केही ता लेख्नैपर्ने भयो । तर के लेखुँ ? “गुड फ्राइडेचाहिँ सारा दुनियाँले बड़े-बड़े विद्वान वैज्ञानिक, बड़े-बड़े ख्रीष्टियान - स्कलरले मानेको चाड़ हो, सत्यता हो; यसैले हामीले पनि मान्नुपर्छ” भनी लेखुँ त ? हुन ता यही कुरा लेखेर सारा ख्रीष्टियान समाज र दुनियाँलाई खुशी तुल्याउन मलाई सजिलो पर्छ; तर यसो भन्नासाथ मैले मेरा उद्धारकर्ता परमेश्वरलाई परोक्षमा इन्कार गरेको हुनेछु, किनकि तर्क बढ्दै जाँदा मलाई यसो भन्न कर लाग्छ “हुन ता एक समय प्रभु येशू 'मसीह' हुनुहुन्छ भनी विश्वास नगर्ने दलले प्रमाणस्वरूप चिन्ह हेर्न माग्दा प्रभु येशूले यसो भन्नुभएको थियो- “यस दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्छ, तर योना भविष्यवक्ताको चिन्हबाहेक अरु कुनै चिन्ह यसलाई दिइनेछैन; जसरी योना ठूलो माछाको पेटभित्र ३ दिन र ३ रात थिए, उसरी नै म पनि ३ दिन र ३ रात पृथ्वीको पेटभित्र रहनेछु ।” (मत्ती १३:३९-४०) प्रभुको यस भनाइमुताबिक पृथ्वीको पेटभित्र ३ दिन र ३ रात रहनु नै 'उहाँ साँच्चै मसीही हुनुहुन्छ' भन्ने कुराको अकाट्य प्रमाण हो । तर के गर्ने, उहाँल त्यो वचन पूरा गर्न सक्नुभएन । उहाँलाई दुई रात र एक दिन चिहानबाट निस्कन कर लाग्यो ।”

मैले शुक्रबारदेखि गन्ती गरेपछि मलाई यसो भन्न करै लाग्छ; तर याे भन्नासाथ मैले बाइबल फ्याँकेर माला जपे पनि हुन्छ, किनकि यस भन्नासाथ (१) मेरा प्रभु सिधै भूत ठहरिनुहुन्छ, अनि (२) आफ्नो वचन पूरा गर्न नसक्ने लुरे पनि ठहरिनुहुन्छ ।

उहाँ यस्तै हुनुहुन्छ भने म किन झूट र आँतमरूवा हुइपालाई पछ्याउँ त ? आफूले भनेको वचन पूरा गर्न नसक्ने यस्तो 'आँतमरूवाले कसरी आकाश र पृथ्वी सृष्टि गर्नसक्छ र ? यस्तो लुतुरेले लेखेको बाइबल कसरी सत्य ठहर्न सक्छ र ? मैले ता मेरो अमर आत्मालाई परालजस्तो त्यान्द्रे पुलको जिम्मामा पो सुम्पेको हुनेरहेछु त !!

वास्तविकता यो भएको हुनाले मैले गुड फ्राइडेको विषयमा लेख्दा प्रभु येशू क्रूसमा शुक्रबार टँगाइनुभएको हो भनी लेख्न सकिनँ, अनि भविष्यमा पनि लेख्न सक्तिनँ ।

दुनियाँले मान्दै ल्याएको शुक्रबारलाई मानुँ कि प्रभुले चुनौतिस्वरूप दिनुभएको वचनलाई मानूँ ! यस द्विविधामा म मात्र परेको छैन, सम्पूर्ण ख्रीष्टियान समाज नै परेको छ । हरेक ख्रीष्टियानले सच्चा हृदयले यस द्विविधारूपी चुनौतीलाई सामना गर्नुपर्छ - कि ता (i) सारा भेलको सामना गर्दै ‘प्रभु येशू आफ्नो प्रतिज्ञामुताबिक पृथ्वीको पेटभित्र ३ दिन र ३ रात रहेर आफूलाई 'मसीह प्रभु' ठहर्याउनुभयो भनेर उहाँलाई पवित्र वचन बाइबलको आडमा ‘सत्य' र सामर्थी ठहरयाउनुपर्छ; कि ता (ii) दुनियाँ र Scholar लाई शिरमा चढ़ाएर 'येशू शुक्रबार नै क्रूसमा टँगाइनुभएको हो' भन्दै आफ्नो प्रभुलाई चाहिँ, 'झूट' र 'आँतमरूवा' ठहस्याउनुपर्छ ।

प्रभुलाई झूट र आँतमरुवा ठहरयाइसकेपछि बाइबल च्याप्ने काम पनि पर्यो र ? माला जप्न थालेर जस्तो भित्र छौं त्यस्तै बाहिर हुनु राम्रो होइन र ? किन ढोंगी (Hypocrite) बन्नु ?

ख्रीष्ट येशू शुक्रबार क्रूसमा टँगाइनुभएको होइन भनी लेख्दा पहरा गर्जेला भनी मैले कहिल्यै सोचेको थिइनँ, किनकि 'सो दिन शुक्रबार होइन' भनी बाइबलले खण्डन नै गर्न नसक्ने गरी प्रमाण दिन्छ भनी त्यही लेखमा दुईपल्ट जनाइसकेको थिएँ । ख्रीष्टियान समाजले बाइबलमा खोजेर त्यस तथ्यलाई पता लगाउनेछ भनी आशा गरेको थिएँ, तर मेरो आशाको विपरीत पहरा पो डगमगाएको थाहा गरें ।...




... “प्रभु येशू क्रूसमा शुक्रबार टाँगिनुभयो” भनी किन भनेका हुन ?


“त्यो दिन तयारीको दिन भएको हुनाले (शुरू हुन लागेको) विश्राम दिनमा ती शरीरहरू क्रूसमा नरहून भनेर, किनकि त्यो 'ठूलो विश्रामदिन' थियो, तिनीहरूका खुट्टाहरू भाँचेर तिनीहरू (क्रूसबाट) निकालिऊन भनी यहूदीहरूले पीलातसलाई बिन्ती गरे।” यूहन्ना १९:३१।

नेपालीको नयाँ दिन राती बाह्र बजेदेखि शुरु हुन्छ, तर यहूदीहरूको नयाँ दिन बेलुकी शुरू हुन्छ । नयाँ दिन अर्थात ठूलो विश्राम दिन शुरू हुन लागेको थियो । यस दिनमा कुनै मानिस क्रूसमा रहनुहुँदैन, यसैले क्रूसमा झुण्ड्याइएका मानिसहरू मरिजाऊन र क्रूसबाट निकालिऊन भनी चाँडै मर्ने बनाउनका निम्ति खुट्टा भाँचिदिनुपर्छ भन्ने सल्लाह लिई ती यहूदीहरू पिलातसकहाँ आए ।

शुरू हुन लागेको दिन विश्राम दिन हो भने त्यो शनिबार हो । अनि अघिल्लो दिन प्रभु क्रूसमा टाँगिनुभएको हो । यसैले त्यो शुक्रबार नै हो भनी सबैले बुझे; अनि प्रभु क्रूसमा शुक्रबार टाँगिइनुभयो भनी ठोकुवा दिए । अनि प्रभुलाई चाहिँ आफ्नो ३ दिन ३ रातको वचन पूरा गर्न नसक्ने तुल्याउँदै उहाँको “मसीहपन” को प्रमाणलाई पनि नाश पारिदिए । तर उनीहरूलाई यसको के चिन्ता ! तर यो ठूलो अपराध हो ।

तिनीहरूका खुट्टा किन भाँच्नु ?


शनिबारे विश्रामदिनमा कति हो कति मानिस क्रूसैमा रहेका थिए, तर यस विशेष विश्रामदिनमा चाहिँ रहनु नहुनेरहेछ; यही लेखिएको छ, किनकि त्यो विश्रामदिन चाहिँ 'ठूलो दिन' रहेछ। नेपाली बाइबलमा लेखिएको छ- “त्यो ठूलो विश्राम दिन थियो।” डार्बी (Darby) अनुवादमा “For the day of that Sabbath was great.” - (किनकि त्यस विश्रामको दिन ठूलो थियो । ) William को अनुवादमा - “For the Sabbath was very important one.” (त्यो विश्राम दिन साह्रै मुख्य थियो ।)

प्रभु क्रूसमा टाँगिनुभएको भोलिपल्टको त्यो विश्रामदिन चाहिँ शनिबारे विश्रामदिन थिएन; तर त्यो बिलकुलै अर्कै किसिमको, साथै ठूलो अर्थात स्पेशल विश्रामदिन थियो भनी बाइबलका यी वचनहरूले नै बताइरहेका छन ।

विश्राम (दिन) भनेको के हो ?


हिब्रू भाषामा Shabbath (शाब्बेइथ) भन्ने शब्दको अर्थ 'विश्राम' हो – केवल 'विश्राम' (Rest) हो, अर्थात 'कुनै परिश्रमको काम नगर्नु - हो । शाब्बेइथको अर्थ 'शनिबार' होइन। “६ दिनसम्म तिमीहरूले परिश्रम गर्नू र तिमीहरूका सबै काम गर्नू; सातौं दिनचाहिँ तिम्रा परमेश्वर यहोवाको 'विश्राम' हो; तिमीले कुनै काम नगर्नू ।” (व्यवस्था ५:१३-१४)

के यो 'विश्राम' बाहेक अर्को पनि विश्राम छ ?
निस्तार-चाड़को पाठाको रगतलाई दैलामा लगाएर सम्पूर्ण इस्राएलीहरूले मिस्रबाट छुटकारा पाएका थिए । त्यो पाठो अबीब भनिने महिनाको चौधौं दिनको बेलुकीपख मारिन्थ्यो । त्यसलाई निस्तार चाड़ भन्छ ।

“पहिलो (अबीब) महिनाको चौधौं दिनमा निस्तार-चाड़ हुनेछ । त्यही महिनाको पन्ध्रौं दिनदेखि एउटा चाड़ मनाउनु सात दिनसम्म...| पहिलो दिन (पन्ध्रौं दिन) मा पवित्र महासभा ( Holy Convocation) होस। त्यस दिन तिमीहरूले कुनै परिश्रमको काम नगर्नू ।” (गन्ती २८:१६-१८)

“प्रभु येशू हाम्रो निस्तार-चाड़को बलिदान हुनुहुन्छ।” (१ कोरिन्थी ५:७) उहाँ हजारौं वर्षअघि तोकिएको दिन अनुसार चौधौं दिनको बेलुकी बलि हुनुभयो । तुरून्तै शुरू हुने दिन पन्धौं दिन हो । त्यस दिन कुनै परिश्रमको काम नगर्नू भन्ने आज्ञा छ । यही परिश्रमको काम नगर्नू ने 'विश्राम' हो । यो 'विश्राम' शनिबार होइन, तर निस्तारको बलि चढ़ाइएपछि शुरू हुने विश्रामदिन हो, जुन दिन परिश्रमको कुनै काम गर्नुहुँदैन ।

यो 'विश्राम' र शनिबारे विश्राममा के भिन्नता छ ?


१) शनिबारे विश्राम शनिबार छोडेर अरु कुनै बारमा हुँदैन । तर यो विश्राम सातवटा बारहरूमा कुनै पनि बारमा पर्न सक्छ ।
२) शनिबारे विश्रामलाई कहिल्यै 'ठूलो' भनिएको छैन। तर यस विश्रामलाई 'ठूलो' भनेर चिनाइएको छ ।
३) शनिबारे विश्रामको अघिल्लो दिन तयारी (को दिन) होइन त्यस दिन राखिएको छैन। तर यस विश्रामको अघि तयारी (को दिन) राखिएको छ । “तयारी (को दिन) हुनाले, जो विश्रामको एक दिन अघि हो ।" (Because it was the Preparation Day, that is, the day before the Sabbath.) (मर्कूस १५:४२)
४) शनिबारे विश्राम घरमा काम नगरी बस्ने दिन हो (व्यवस्था ५:१४) तर यो 'विश्राम' यरूशलेममा मनाइन्छ । (व्यवस्था १६:१६) । यही विश्रामको चाड़ मनाउन अस्मिथियाका युसूफ पनि आएका थिए । (मर्कूस १५:४२-४३ )
(५) शनिबारे विश्राम चाड़ (Feast) पनि होइन, त्यस दिन पवित्र महासभा पनि हुँदैन ।
तर यो 'विश्राम' चाड़ हो, अनि यस दिनमा पवित्र महासभा (Holy convocation) पनि हुन्छ । (गन्ती २८ : १७-१८)
६) शनिबारे विश्रामको अघिल्लो दिन अबीब महिनाको चौधौं दिन होइन, त्यस दिन निस्तारको चाड़ पनि होइन ।

तर यस विश्रामको अघिल्लो दिन अबीबको चौधौं दिन हो अनि निस्तारको पाठा बलि हुन्छ । (गन्ती २८:१६-१७)


यस 'विश्राम' लाई किन 'ठूलो' (वा स्पेशल) भनेको ?


किनकि यो उत्सव मनाउने दिन हो, अनि पवित्र महासभा गरिने दिन पनि हो । (गन्ती २८:१७-१८)

त्यसो भए क्रूसमा टँगाइनुभएको दिन शुक्रबार होइन रहेछ। निश्चय नै होइन । क्रूसमा टँगाइनुभएको दिनको पछिल्लो दिन शनिबार होइन भनेर प्रशस्त प्रमाण दिइएका छन । त्यो विश्रामदिन शनिबार होइन भने प्रभु टाँगिनुभएको दिन पनि शुक्रबार होइन ।


क्रूसमा टाँगिनुभएको दिन शुक्रबार होइन भन्ने अरू पनि प्रमाण छन कि ?

पहिले प्रमाण :
यूहन्ना १२:१ मा लेखिएको छ - “निस्तार-चाड़को ६ दिनअघि प्रभु येशू बेथानीमा आउनुभयो ।” त्यो दिन उहाँ यरिहोमा जक्कैलाई भेटीवरी चेलाहरूका अघि-अघि हिँड्दै जाँदा बेथानीमा आइपुग्नुभएको हो । (लूका १९:१,२८,२९)

अब स्कलरको भनाइमुताबिक प्रभु शुक्रबार टाँगिनुभएको हो । प्रभु निस्तारको बलि (१ कोरिन्थी ५:७) भएर निस्तार चाड़कै दिन बलिदान हुनुभयो । त्यही निस्तार चाड़को ६ दिनअघि प्रभु यरिहोबाट बेथानी आउनुभयो । अब हेरौं बेथानी आउनुभएको दिन कुन बार पर्ने रहेछ-

एक दिनअघि, बिहिबार;
दुई दिनअघि, बुधबार;
तीन दिनअघि, मंगलबार;
चार दिनअघि, सोमबार;
पाँच दिनअघि, आइतबार;
छ दिनअघि, शनिबार ।

यस हिसाबमुताबिक प्रभु बेथानीमा शनिवार आउनुभएछ । तर शनिबार त विश्राम दिन हो । विश्रामको दिनमा यति लामो बाटो हिँड्नै हुँदैन । त्यसो भए प्रभु शनिबार निश्चय नै बेथानी आउनुभएको होइन; त्यसो भए क्रूसमा टाँगिनुभएको दिन पनि शुक्रबार होइन ।

दोस्रो प्रमाण :
क्रूसका घटनापछिका कुराहरूबारे हामीले मरियम मग्दलिनी, याकूबकी आमा मरियम र सलोमीहरूका कामहरूका विषयमा राम्ररी पढ्यौं भने त्यस हप्ता दुईवटा विश्राम दिन परेका रहेछन, अनि तिनीहरूले ती दुवै विश्राम दिनमा विश्राम लिएछन भन्ने कुरा बड़ो स्पष्ट रीतिले थाहा पाउनेछौं ।

लूका २३:५४ मा लेखिएको छ, “त्यो तयारीको दिन थियो, र विश्रामदिन शुरू हुनै लागेको थियो ।”

यहाँ विश्राम दिन शुरू हुनै लागेको रहेछ । तुरून्तै शुरू पनि भइगयो होला, र ती स्त्रीहरूले केही गर्ने पाएनन; यसैले त्यो 'विश्राम दिन' बितेपछि मात्र तिनीहरू बजारमा किन्न गए । मर्कूस १६:१- “अनि विश्रामदिन बितेपछि मरियम मग्दलिनी, याकूबकी आमा मरियम र सलोमीले आएर उहाँलाई घसिदिनालाई सुगन्धित मसलाहरू किने ।” तिनीहरूले बजारमा घुमीघुमी किन्नै पर्यौ, किनकि ती गालीलका स्त्रीहरूलाई कुन चीज कहाँ पाइन्छ के थाहा । ती सुगन्धित द्रव्यहरूलाई कुटी कुटी धूलो पारी प्रभुको शरीरमा घस्नालाई मिहिन मलमल बनाउनै पर्यो । लूका २३:५६ - “अनि फर्केर तिनीहरूले सुगन्धित मसला र मलहमहरू तयार पारे । अनि विश्रामदिनमा चाहिँ आज्ञाअनुसार तिनीहरूले विश्राम लिए ।”

अब तिनीहरूले यस हप्ता के-के गरेछन, हेरौं-

१) पहिलो दिन : प्रभुलाई चिहानमा राख्दा-राख्दै साँझबाट शुरू हुने 'विश्राम दिन' शुरू हुनै लागेको थियो, यसैले त्यस दिन विश्राम लिए । (मर्कूस १६:१)
२) दोस्रो दिन : विश्राम दिन बितेपछि (मर्कूस १६:१) दोस्रो दिन शुरू भयो; त्यस दिन तिनीहरूले सुगन्धित द्रव्य किने, कुटे र तयार पारे ।
३) तेस्रो दिन : तेस्रो दिन पनि विश्राम दिन नै रहेछ, र तिनीहरु आज्ञाअनुसार फेरि विश्राम लिए । (लूका २३:५६)
४) चौथो दिन : एकाबिहानै तिनीहरू मलहमहरू लिएर कबरस्थान पुगे । (लूका २४:१)

यहाँ राम्ररी हेर्दा दुईवटा विश्राम दिन देखिन्छन; अनि दुवैपल्ट विश्राम लिइएको देखिन्छ । अब गाँठी कुरा खुल्यो ।

(क) पहिलो विश्राम दिन - हामीले तर्क गरिसकेको मुताबिक याे विश्रामदिन चाहिँ ठूलो विश्राम दिन हो ।
(ख) दोस्रो विश्राम दिन - यो शनिबारे विश्राम दिन हो; यसैले यसकाे ठीक भोलिपल्ट आइतबार, प्रभु बौरिउठ्नुभएको दिन पर्यो ।

यो प्रभु येशू क्रूसमा शुक्रबार टाँगिनुभएको होइन भन्ने कुराको दोस्राे प्रमाण हो। ठीक भनुँ भने यो तेस्रो प्रमाण हो; अनि यो बिलकुलै बाइबलबाटका प्रमाणहरू हुन । स्कलरको गिदीमाथि बसालिएक प्रमाण होइन ।

अब अन्तिम प्रश्न : प्रभु कुन बार क्रूसमा टाँगिनुभयो त ?


प्रभु क्रूसमा टाँगिनुभएको दिन बितिगयो, किनकि लेखिएक छ- “विश्रामदिन शुरू हुनैलागेको थियो ।” (लूका २३:५४ नेपाली बाइबल) (R.V.) Westcot j Hort मुताबिक ग्रीकमा “The Sabbath began to dawn.” (विश्राम दिन शुरू हुनथाल्यो) i

प्रभु कबरमा लगाइनुभएपछि साँझमा नयाँ दिन (विश्राम दिन) शुरु भयो । यसकारण,
१) पहिलो विश्राम दिन
बेलुकी ६ देखि बिहान ६ सम्म - पहिलो रात । पहिलो दिन ।
२) मलहम तयार पारेको दिन
बेलुकी ६ देखि बिहान ६ सम्म - दोस्रो रात ।
बिहान ६ देखि बेलुकी ६ सम्म - दोस्रो दिन ।
३) दोस्रो विश्राम दिन (शनिबारे विश्राम दिन)
बेलुकी ६ देखि बिहान ६ सम्म - तेस्रो दिन
बिहान ६ देखि बेलुकी ६ सम्म - तेस्रो दिन ।





अब चौथो रात शनिबार बेलुकीदेखि शुरू हुन्छ । तर प्रभुलाई चौथो रात चिहानमा बसिरहने जरूरत छैन आफ्नो 'मसीहपना' (Messiahship) लाई प्रमाणित गर्न। उहाँ बौरेर उठिहाल्न सक्नुहुन्छ । बौरेर उठेपछि प्रभुले बाहिर निस्कनालाई गोहार ! गोहार ! भन्दै मुड्कीले ढुङ्गाको ढोकालाई हान्नुपर्दैन । उहाँ पृथ्वीको पीँधबाट छिरेर पृथ्वीको थाप्लोबाट निस्कनसक्नुहुन्छ। उहाँ मालिक (Sovereign God) हुनुहुन्छ। यसैले त उहाँ बन्द गरिएको घरभित्र सीधै पस्नुहुन्थ्यो, सीधै निस्कनुहुन्थ्यो चेलाहरूलाई भेटेर । एक्स-रे भन्ने किरण ता कमिज, गंजी, छाला, बोसो, मांसपेशीलाई धरि छेंड़ेर हड्डीमा पुग्नसक्छ भने के परमेश्वरलाई ढुङ्गाको ढोकाले छेक्ला र? साँचो विश्वासी बनौं !

आइतबार एकाबिहानै चिहानमा आउँदा ती स्त्रीहरूले चिहानको ढोका हटाइएको भेट्टाए । त्यो भारी पत्थर प्रभुका निम्ति हटाइएको होइन; तर ती स्त्रीहरूका निम्ति हो, जसलाई चिहानको ढोका हटाएर रित्तो चिहान देखाउँदै प्रभु येशू साँच्चै आफ्नो वचनअनुसार बौरेर उठ्नुभयो भन्ने कुरा प्रमाणस्वरूप देखाउनलाई स्वर्गदूतहरूले नै हटाए ।

स्वर्गदूतले गर्वसाथ प्रभुको बौरिउठाइको समाचार सुनाउँछन- “म जान्दछु, तिमीहरू क्रूसमा चढाइनुभएको प्रभुलाई खोज्दैछौ । उहाँ यहाँ हुनुहुन्न; उहाँ त आफ्नो वचनअनुसार बौरिउठ्नुभयो; आएर त्यो ठाउँ हेर, जहाँ प्रभु राखिनुभएको थियो । 'जिउँदा' लाई मरेकाहरूका बीचमा किन खोज्दछौ ?”

प्रभु जन्मनुभएको सुसमाचार सुनाउन स्वर्गदूत आए; अनि उहाँको पुनरूत्थानको सुसमाचार सुनाउन पनि स्वर्गदूत नै आए । यी दुवै कुरा हाम्रो पूर्ण उद्धारका लागि अत्यन्तै आवश्यक छन । यो ३ दिन र ३ रातको प्रश्नचाहिँ प्रभुको 'मसीहपना' को अकाट्य प्रमाण नहुँदो हो ता म कहिल्यै यति लामो समय लिएर यो लेख लेख्ने थिइनँ - समय पनि छैन । तर प्रभुको दासको रूपमा उहाँको ईश्वरत्व, उहाँको राजत्व र उहाँको सर्वोपरिताको निम्ति उभिन म आफ्नो जीवन ठान्छु । यस जमानामा अविश्वासको बाढ़ चलाएर शैतानको राज्यको विस्तार गर्ने कार्य अन्धकारद्वारा भइरहेछ, यसैले हामी विश्वासीहरू प्रभुका निम्ति खड़ा हुने निर्णयमा प्रयत्नशील बनौं ।

श्रोत :
१. पुस्तक : “कठिन प्रश्नहरू, सरल जवाफहरू”, भाग-१, कमल अधिकारी, प्रथम संस्करण:२०२०, पृष्ठ १०२-१०३
२. पुस्तक : “माथि हेर”, दानिएल राई, दाेस्राे संस्करण:२०१८, पृष्ठ २८-४७

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...